गृहनगरमा विष्ट सम्मानित



हेटौंडा, (नेस) ।

साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई पहिलोपटक उपविजेता बनाएर गृहनगर आइपुगेका टोलीका एक सक्रिय सदस्य अञ्जन विष्ट सम्मानित भएका छन् । सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा–१० र सचेत नागरिक युवा समूहले मकवानपुरका उत्कृष्ट खेलाडी देशकै शान फुटबलर बिष्टलाई शुक्रबार सम्मान गरेका हुन् ।

उनलाई उपकेन्द्र अध्यक्ष प्रदीप कँडेल, समूहका अध्यक्ष शिवनारायण श्रेष्ठलगायतले सम्मानपत्र प्रदान गरेका थिए । विष्टका बुबा राजु विष्टलाई पनि सम्मान गरिएको थियो । सचेत नागरिक युवा समूह अध्यक्ष श्रेष्ठले अञ्जनले देशका लागि उत्कृष्ट खेल्दै हेटौंडा नगरलाई गौरवान्वित बनाएकाले उनलाई थप हौसला दिन सम्मानित गरिएको बताए । खेलाडी राष्ट्रको गहना भएको बताउँदै श्रेष्ठले त्यस्ता गहनाहरूको उचित सम्मान र जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

सम्मान ग्रहण गरेपछि विष्टले खेलेरै आफूलाई थप केही गर्न प्रोत्साहन मिलेको बताए । फुटबल खेलेरै पाएको यस्ता सम्मानले खेल मैदानमा थप मेहनत गरेर अगाडि बढ्न हौसलासमेत मिलेको विष्टले बताए ।

शनिबार बिहान नेपाल लोकतान्त्रिक खेलकुद संघ मकवानपुरले पनि नगदसहित सम्मान गरेको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ, मकवानपुरद्वारा आयोजित सम्मान कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले विष्टलाई नगद २५ हजारसहित सम्मान गरेका छन् ।

साफ च्याम्पियनसिपको १३औं संस्करणमा नेपाल २८ वर्षपछि पहिलोपटक फाइनलमा पुगेको थियो । यद्यपि, फाइनलमा भने नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग ३–० को हार बेहोर्दै उपविजेतामै सीमित बन्न पुगेको थियो । विष्टले फाइनलमा भने खेल्न पाएनन् । लिग चरणको खेलमा दुई पहेंलो कार्ड पाएका उनले त्यसकै कारण फाइनल गुमाएका थिए । प्रतियोगितामा २ गोल गरेका उनी नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

विष्टले प्रायः सबै किसिमका उमेर समूहमा नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका छन् । विष्ट शुरुवातमा मध्यपंक्तिबाट विपक्षीविरुद्ध फुटबल मैदानमा उत्रने गर्दथे भने हाल उनी अग्रपंक्तिबाट उत्रने गर्दछन् । विष्टले २०१६ मा पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत् उत्कृष्ट युवा खेलाडीको पुरस्कारसमेत जित्न सफल भएका थिए ।

विष्टले ३१ अक्टोबर, २०१४ मा नेपालका लागि अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । उनको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ०–३ गोलअन्तरले पराजित भएको थियो । उनी खेलको ६१ औं मिनटमा सन्दीप राईलाई विस्थापित गर्दै मैदानमा उत्रिएका थिए ।

६ मार्च, २०१५ मा भारतविरुद्ध नेपालमा भएको २०१८ फिफा विश्वकप छनोट चरणमा उनले नेपाली टिमको पहिलो रोजाइका रूपमा स्थान बनाउन सफल भएका थिए । मार्बेला युनाइटेड एफसी, स्पेनबाट विष्टले २०१६ मार्च, २८ मा निज्मेजन कम्बिनेट एकेडेमी यु–१९ टिमका विरुद्ध गोल गर्न सफल भएका थिए । उक्त खेलमा मार्बेला टिम १–० गोलअन्तरले विजयी भएको थियो । १५ मे, १९९८ मा हेटौंडामा जन्मिएका विष्टले ताइवानविरुद्ध विश्वकप छनोटमा गरिएको गोल उनको खेल जीवनमा मात्र नभएर देशका लागि पनि महत्वपूर्ण रहेको स्मरणीय गोल थियो ।

प्रतिक्रिया दिनुहोस्