कीर्तिमानसहित नासिर विश्व च्याम्पियनसिपमा छनोट



नेपाल समाचारपत्र, काठमाडौं ।

नासिर याह्या हुसेन नयाँ राष्ट्रिय कीर्तिमानसहित अवुधावीमा आयोजना हुने १५औं फिना विश्व च्याम्पियनसिप २०२१ का लागि छनोट हुन सफल भएका छन् ।

नेपाल पौडी संघले आइतबार सातदोबाटोस्थित २५ मिटरको पौडी पोखरीमा आयोजना गरेको छनोट प्रतियोगितामा नासिर २०० मिटर फ्रिस्टायलमा १ मिनेट, ५७.८५ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै ५९९ फिना अंकका साथ विश्व च्याम्पियनसिपका लागि छनोट भएका हुन् । यसअघि, २५ मिटर दूरीमा ओलम्पियन एलेक्सजेन्डर गादेगाद शाहको नाममा २ मिनेट ००.०४ सेकेन्डको कीर्तिमान रहेको थियो । शाहले उक्त कीर्तिमान २ वर्षअघि काठमाडांैमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुदमा भएको पौडी प्रतियोगितामा राखेका थिए ।

दुई पुरुष र दुई महिलाको लागि भएको छनोट प्रतियोगितामा ओलम्पियन शाह पनि छनोट भएका छन् । नेपाल पौडी संघले जापानमा आयोजना भएको ओलम्पियकमा सहभागी भएका दुई खेलाडी एलेक्जेन्डर शाह र गौरिका उनीहरू उच्च शिक्षा अध्ययनका लागि विदेशमा रहेकोले उनीहरूको निरन्तर प्रशिक्षण तथा प्रतियोगितामा सहभागिता जनाइरहेको र फिना अंकको निकट समयलाई कायम राखेको आधारलाई मापदण्ड बनाई विश्व च्याम्पियनसिपमा छनोट गर्ने निर्णय गरेकोमा शाहले उक्त मापदण्डलाई पूरा गरेका कारण छनोट हुन सफल भएको तर गौरिका भने उच्च शिक्षा अध्ययनका क्रममा रहेका कारणले सहभागी हुन नसकेको नेपाल पौडी संघले जनाएको छ ।

दुई महिलातर्फ अनुसिया तण्डुकार र उपास्ती महर्जनले विश्व च्याम्पियनसिपको लागि छनोट हुने सौभाग्य प्राप्त गरेका छन् । अनुशियाले १०० मिटर फ्रिस्टायलमा १ मिनट २.६० सेकेन्ड समयका साथ ५१७ फिना अंक तथा उपास्तीले ५० मिटर ब्रेस्टस्ट्रोकमा ३६.२६ सेकेन्ड समयका साथ ४८९ फिना अंकका साथ छनोट हुन सफल भएका हुन् ।

सोही छनोटका क्रममै भएको पुरुष १०० मिटर बटरफ्लाईमा अनुभव सुब्बाले पनि राष्ट्रिय कीर्तिमान कायम गरे । उनले उक्त दूरी ५९.१० सेकेन्डमा पूरा गरेका थिए । यसअघि, उक्त दूरीको कीर्तिमान सैयद हेम्जा शाहको नाममा १ मिनेट ००.२५ सेकेन्डको रहेको थियो । शाहले उक्त कीर्तिमान नेपालगञ्जमा आयोजना भएको ८औं राष्ट्रिय खेलकुद प्रतियोगिताको दौरान राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्