असालन्का र राजापाक्षेले श्रीलंकालाई जित दिलाए



आवुधाबी, (एजेन्सी)  । 

श्रीलंकाले टी–२० विश्वकपमा उच्चतम रनको लक्ष्य सफलताका साथ पछ्याएको छ । बंगलादेशविरुद्धको खेलमा १ सय ७२ रनको लक्ष्य श्रीलंकाले ५ विकेट गुमाएर ७ बल बाँकी राखी भेट्टाएको हो । यो श्रीलंकन टिमले टी–२० अन्तर्राष्ट्रियमा तेस्रो उच्चतम लक्ष्य पछ्याएको अवसर हो ।

श्रीलंकालाई सानदार जित दिलाउन चरिथ असालन्का र भानुका राजापाक्षेले उत्कृष्ट प्रदर्शन गरे । ३ नम्बरमा ब्याटिङ गर्न आएका असालन्काले ४९ बलमा ८० रन जोडेका हुन् । नटआउट रहेका उनले ५ चौका र ५ छक्का प्रहार गरेका थिए । चार विकेट ९.४ ओभरमा ७९ रनमा गुमाएको टिमको लागि बाँकी १०.२ ओभरमा ९३ रन बनाउनुपर्ने कठिन समीकरण थियो । तर, असालन्का र राजापाक्षेले पाँचौं विकेटका लागि ८६ रनको साझेदारी गरेर जितको आधार तयार गरेका थिए ।

१ सय ६५ को स्कोरमा राजापाक्षे आउट भएका थिए । राजापाक्षेलाई ३१ बलमा ३ छक्का र ३ चौका प्रहार गरेर ५३ रन जोडेका थिए । उनलाई नसुम अहमदले आउट गरे पनि त्यतिबेलासम्म बंगलादेशबाट नतिजा खोसिइसकेको थियो । बंगलादेशका बलरमा सकिब अल हसनले दुई तथा मोहम्मद साफुदिन र नसुमले एक–एक विकेट लिएर राम्रो शुरुआत दिलाएका थिए । तर, उनीहरूको जित्ने मनसायमा असालन्का र राजापाक्षे बाधक बनिदिए ।

यसअघि, बंगलादेशले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७१ रन जोडेको थियो । टिमका लागि ओपनर मोहम्मद नैयमले ६२ रन र मुसफिकर रहिमले ५७ रनको योगदान दिएका थिए । ५६ रनमा २ विकेट गुमेपछि रहिम र नैयमले तेस्रो विकेटका लागि ७३ रन जोडेर बलियो योगफलतिर अग्रसर गरेका थिए । त्यसपछि अन्यले राम्रो प्रदर्शन गर्न नसके पनि रहिमले रन बटुलेका थिए ।

प्रतिक्रिया दिनुहोस्