सनराइज बैंकको ठगी धन्दा: ऋण फछ्र्यौट भइसक्दा पनि खाताबाट साढे ४ लाख झ्वाम



विद्यानन्द राम, राजविराज । 

बैंकबाट सर्वसाधारण ठगिएका घटना नौला होइनन् । सर्वसाधारणले बैंक तथा वित्तीय संस्थाबाट व्यापार व्यवसाय सञ्चालन गर्न ऋण लिएका हुन्छन् । बैंकको सर्तअनुसार कारोबार नभएको अवस्थामा पनि ‘किस्ता’ तिर्नुपर्ने बाध्यता हुन्छ । किस्ता नतिर्दा घरजग्गा लिलामी हुने पीर । तर, किस्ता तिरेर ऋण फछ्र्यौट गर्दा (फुकुवा पत्र पाइसक्दा) पनि सनराइज बैंक शाखा राजविराजले खातामा रहेको ४ लाख ४१ हजार ८ सय ३६ रुपियाँ ७७ पैसा (पेनाल्टी बाहेक) झ्वाम पारेको पाइएको छ ।

सप्तरी बोदे बरसाइन नगरपालिका–५ बोदे बरसाइनका कृष्णदेव भगतले आइतबार राजविराजमा पत्रकार सम्मेलन गर्दै बैंकबाट आफू ठगिएको दाबी गर्नुभएको छ । ‘चेक दिएको पाटीले खातामा पैसा नै छैन भनेपछि आफूलाई विश्वास नै लागेन’, उहाँले भन्नुभयो– ‘बैंक पुगेर भेरिफाइ गर्न खोजें तर बैंकले सिस्टमको गडबडीले त्यसो भएको हुन सक्ने बताउँदै पछि फिर्ता आउँछ भनेर विश्वास दिलायो ।’

तर, पनि रकम फिर्ता नपाएपछि शाखा प्रबन्धकलाई दुखेसो गर्न पुग्दा त्यहाँबाट पनि दुव्र्यवहार नै खेप्नुपरेको भगतको आरोप छ । ‘राजविराज शाखाका म्यानेजर मुकेशकुमार साहको भर्सन फरक पाएँ, सिस्टमले खायो अरे । अब रकम फिर्ता हुँदैन भनेर उहाँले भन्नुभयो’, भगतले पत्रकार सम्मेलनमा भन्नुभयो– ‘पुरानो लोनको ओडी बाँकी थियो भन्नुहुन्छ तर मैले त सबै ओडी फछ्र्यौट गरेर फुकुवा लेटर पनि पाइसकेको छु, सो जग्गाबाट अर्को बैंकमा लोन पनि लिइसकेको छु ।’

म्यानेजरले दुव्र्यवहार गरेकाले आफूले बाध्य भएर पत्रकार गुहार्नुपरेको भगतको भनाइ थियो । ‘म्यानेजरले हामीलाई नै बैंकको नियम पढाउने जानुस् के गर्नुछ गर्नुस् अब रकम फिर्ता हुँदैन भन्नुभयो’ –भगतले भन्नुभयो ।

भगतका अनुसार ‘मणि किराना पसल’को नाममा राजविराज शाखामा रहेको खाता नम्बर ०२४१०२५३८३१०१५ को गत असार ९ गते (२३ जुन २०२१) गते नै ओडी फछ्र्यौट गरेर असार १३ (२७ जुन २०२१) गते बैंकबाट फुकुवा लेटर पनि पाइसकेको छ ।
तर, असोज ३१ गते आएर खाताबाट ५ हजार ३ सय २९ रुपियाँ ४२ पेनाल्टी र ४ लाख ४१ हजार ८ सय ३६ रुपियाँ ७७ पैसा काटेको भगतको कथन छ । अब्बल दर्जाको बैंक भन्दै प्रचार गराउने सनराइज बैंक आफूलाई गरेको ठगी गरेको भन्दै भगतले न्याय दिलाइदिन सबैमा आग्रह गर्नुभयो ।

उता, सनराइज बैंक शाखा राजविराजका प्रबन्धक मुकेशकुमार साहले सिस्टममा ग्राहकमाथि ओडी रकम नदेखाएका कारण फुकुवा लेटर दिइसकेको बताउनुभएको छ । ‘त्यो सिस्टमको गडबडी हो, ओडी बाँकी नै रहेकाले खातामा पैसा आएपछि त्यसो रकम काटिएको हो’, उहाँले भन्नुभयो– ‘ग्राहकबाट त्यस्तो कुरा आइसकेपछि हामीले केन्द्रीय कार्यालयमा पनि जानकारी गरायौं र त्यहाँबाट नै सिस्टममा गडबडी भएको विषय भेरिफाइ भयो ।’ आफूले ग्राहकलाई दुव्र्यवहार नगरेको पनि प्रबन्धक साहको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्