भारत र पाकिस्तानबीच हेभिवेट खेल आज



नेपाल समाचारपत्र, काठमाडौं।  

आईसीसी टी २० विश्वकपमा आज भारत र पाकिस्तानबीच हेभिवेट खेल हुँदैछ । विश्वकपमा भारत र पाकिस्तानबीचको खेललाई सबैले चासोका साथ लिने गर्छन् । भारत र पाकिस्तानका समर्थकहरूले खेललाई एउटा लडाइको रूपमा लिने गर्नाले पनि यी दुईबीचको खेलमा चासो बढेको हो ।

भारतीय टोली हार्न चाहँदैन भने पाकिस्तानी टोली भारतीय टोलीलाई हराएर खुसी मनाउन चाहन्छ । किनभने टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई हरेक खेलमा हराएको छ । पाकिस्तानले भने अहिलेसम्म भारतलाई हराउन सकेको छैन । यो फरम्याटमा मात्र होइन ५० ओभरको फरम्याटको विश्वकपमा पनि भारतले पाकिस्तानविरुद्ध खेलेको सातै खेल जितेको छ ।
आज दुबई अन्तर्राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार ७ बजेर ४५ मिनेटमा खेल हुनेछ । भारत र पाकिस्तानले करिब दुई वर्षभन्दा बढी समयपछि एकअर्कासँग खेल्दैछ । समर्थक पनि यो खेल हेर्न आतुर भइरहेका छन् । टी–२० विश्वकपमा यी दुईबीचको भिडन्तमा ५ खेल भएका छन् । पाँचै खेलमा भारतले बाजी मारेको छ ।

टी–२० विश्वकप सन् २००७ देखि शुरू भएको हो । पहिलो संस्करण दक्षिण अफ्रिकामा आयोजना हुँदा भारतले दुई पटक पाकिस्तानलाई हराएको थियो । प्रतियोगिताअन्तर्गत समूह ‘डी’ रहेको भारत र पाकिस्तानले समान १ सय ४१ रन बनाएका थिए । खेल टाइ भएपछि बाउल आउटमा भारत जितेको थियो । उक्त खेलमा भारतको तर्फबाट रोबिन उथप्पाले ५० रन बनाए भने मिसबाह उल हकले पाकिस्तानका लागि ५३ रनको योगदान दिएका थिए ।

यही प्रतियोगिताको फाइनलमा पाकिस्तानलाई हराएर भारत टी–२० च्याम्पियन बन्न सफल भएको थियो । भारतका कप्तानी महेन्द्रसिंह धोनीले गरेका थिए भने पाकिस्तानका कप्तानी मिसबाह उल हकले गरेका थिए । भारतले फाइनल खेलमा गौतम गम्भीरको ७५ रनको सहायताले ५ विकेटको क्षतिमा १ सय ५७ रन जोडेको थियो । मिसबाहले ४३ रन जोडेको उक्त खेल पाकिस्तान ५ रनले हार्न पुगेको थियो ।

दुवै टोलीले ५ वर्षपछि सन् २०१२ मा फेरि एकपटक आमना सामना गरे । यो समूहको खेल न्यून स्कोरमा समाप्त भएको थियो । पाकिस्तानले मात्र १ सय २८ रन मात्रै बनाउन सकेको थियो । शोयब मलिकले सर्वाधिक २८ रन जोडेका थिए । भारतले जवाफमा विराट कोहलीले सानदार ७८ रन जोडेपछि ८ विकेटको सानदार जित हात पारेको थियो ।

अर्को संस्करण २०१४ मा पनि भारत नै हावी भएको थियो । समूहको खेलमा पाकिस्तानले मात्र १ सय ३० रन जोडेको थयो । भारतका लागि भुवनेश्वर कुमार, रविचन्द्रन अश्विन र मोहम्मद शामीले खेलमा एक–एक विकेट लिएका थिए । ब्याटिङमा विराट कोहली र सुरेश रैनाले ६६ रनको अविजित साझेदारी गरेपछि भारतले पाकिस्तानलाई ७ विकेटले हराएको थियो ।

यसपछि भारतकै कोलकातास्थित इडेन गार्डेन्समा भारत र पाकिस्तानबीच आमना सामना भएको थियो । सन् २०१६ को विश्वकपमा पाकिस्तान भारतकै घरेलु मैदानमा हुँदा नर्भस थियो । उनीहरूले केवल १ सय १८ रन जोड्न सकेको थियो । वर्षाले प्रभावित उक्त खेल १८ ओभरमा कटाएको थियो । तर, पाकिस्तानको ब्याटिङ खराब भएको थियो । जवाफमा विराट कोहलीले अविजित अर्धशतक (५५ रन) बनाएपछि भारतले सो खेल १३ बल बाँकी राखेर ६ विकेटले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्