दक्षिण अफ्रिकामाथि अस्ट्रेलियाको जित



दुबई, (एजेन्सी) ।

आईसीसी टी–२० विश्वकपअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा अस्ट्रेलियाले जित हात पारेको छ ।

अबुधाबीमा भएको समूह ‘ए’ अन्तर्गतको खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको हो । उक्त जितसँगै अस्ट्रेलियाले २ अंक जोडेको छ । दक्षिण अफ्रिकाले १ सय १९ रनको लक्ष्य दिएको अस्ट्रेलियाले ५ विकेट गुमाएर अन्तिम ओभरको चौथो बलमा प्राप्त गर्‍यो ।

टोलीलाई जित दिलाउन पूर्व कप्तान स्टेभन स्मिथले शानदार ब्याटिङ गरे । मार्करामको बलमा १५ औं ओभरमा आउट भएका उनले ३ चौकाको सहयोगमा ३५ रन बनाए । उनले म्याक्सवेलसँग मिलेर चौथो विकेटका लागि ४२ रन जोड्दै ८० को स्कोरसम्म पुर्‍याएका थिए ।

म्याक्सवेल पनि अर्को ओभरमा व्यक्तिगत १८ रनमा आउट भएपछि दक्षिण अफ्रिकालाई खेलमा फर्कने अवसर बनेको थियो । तर, म्याथ्यु वाडे र मार्कोस स्टोइनिसले ३८ रनको साझेदारी गरेर अस्ट्रेलियालाई जित दिलाए । वाडे १५ रनमा र स्टोइनिस २४ रनमा नटआउट रहे । दक्षिण अफ्रिकाका बलरमा एन्रिच नोत्र्जले सर्वाधिक २ विकेट लिएका थिए ।

यसअघि दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । टोलीका लागि एडेन मार्करामले सर्वाधिक ४० रन योगदान दिएका थिए । बलर कागिसो राबाडाले नटआउट रहँदै १९ रन बनाउनु नै टोलीले १ सय रन कटाउन सफल भयो । अन्यले भने निरस ब्याटिङ गरेका थिए ।

कप्तान टेम्बा बभुमा १२ रनमै पभेलियन फर्के भने टोलीका भरोसामन्द ब्याटसम्यान क्विन्टन डिकक दुर्भाग्यको शिकार भएका थिए । ७ रनमा आउट भएका उनको बल हावामा उडेर सीधै स्टम्पमा लागेको थियो । दुवै ओपनर २३ रनको योगफल पुग्दासम्म आउट भएपछि टोलीमाथि अस्ट्रेलियन बलर हाबी भए । अस्ट्रेलियाका बलरमा एडाम जाम्पा, जोस हेजलवुड, मिचेल स्टार्कले २/२ विकेट लिएका थिए । ग्लेन म्याक्सवेलले महत्वपूर्ण विकेट विपक्षी कप्तान बभुमाको रूपमा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्