इन्जिनियर कुशवाहालाई दुर्व्यवहार गर्नेहरू माथि कारबाही प्रक्रिया सुरु भइसक्यो : गृहमन्त्री खाण  



काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका सी.डी.ई.राजेश कुशवाहालाई दुर्व्यवहार गर्ने सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्तामाथि कारबाही सुरु भइसकेको बताउनु भएको छ ।

शुक्रवार गृह मन्त्रालयमा कुशवाहामाथि दुर्व्यवहार गर्ने कार्यकर्तालाई कारबाही गर्न माग गर्दै बुझाएको ज्ञापन पत्र बुझ्दै गृहमन्त्री खाणले कर्मचारी र राज्य प्रणालीको सुरक्षामा सरकार गम्भीर रहेको बताउनु भयो । ‘दुर्व्यवहार गर्नेमाथि कारबाही प्रक्रिया सुरु भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘कर्मचारी र राज्य प्रणालीको सुरक्षामा सरकार गम्भीर छ ।’

उहाँले आज प्रहरीले कुशवाहामाथि दुर्व्यवहार गर्ने जनमत पार्टीका १७ कार्यकर्तालाई आपराधिक उपद्रव मुद्दा लगाएर जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेको छ ।

कुशवाहालाई हिजो कार्यालयमा पुगेर जनमत पार्टीका कार्यकर्ताले दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए । आज गृहमन्त्री खाणलाई सेन्टर फर डेमोक्रयाटिक इञ्जिनियर्स एसोसिएसनका अध्यक्ष उमेश थानी नेतृत्वको प्रतिनिधि मण्डल, नेपाल इञ्जिनियर्स एसोसिएसनको केन्द्रीय समिति, बागमती प्रदेश समिति र नेपाल निजामती कर्मचारी युनियनको प्रतिनिधि मण्डलले छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएका थिए ।

सबै ज्ञापन पत्रमा कुशवाहमाथि भएको भएको व्यवहार निन्दनीय र भत्सनायोग्य भएको भन्दै कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरिएको छ । शान्ति सुरक्षा कायम गर्न पनि ज्ञापन पत्रहरूमा माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्