अझै लोकतन्त्र बचाउन लड्नुपर्ने अवस्था छ : वरिष्ठ नेता पौडेल



?????????????????????????????????????????????????????????

नेपाल समाचारपत्र, तनहुँ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षण गर्ने जिम्मेवारी कांग्रेसको काँधमा रहेको बताउनुभएको छ । उहाँले बिहीबार भिमाद नगर समितिद्वारा आयोजित नेपालीको महान् पर्वहरूको शुभकामना आदानप्रदान कार्यक्रममा सो कुरा बताउनुभएको हो ।

कांग्रेस सत्तामा भए पनि अझै लोकतन्त्र बचाउन र देशलाई संकटबाट बचाउन लड्नुपर्ने अवस्था रहेको पौडेलको भनाइ छ । एमालेले लोकतान्त्रिक पार्टीले पाएको जिम्मेवारी पूरा गर्न नदिने प्रपन्चमा लागिरहेकाले लड्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

सत्तालाई प्राथमिकता दिनुभन्दा सत्तामोहलाई त्यागेर लोकतान्त्रिक पार्टी कांग्रेसलाई जनताको विश्वासिलो पार्टी बनाउनतर्फ कांग्रेसी लाग्नुपर्नेमा पौडेलको जोड छ । अग्रगामी पक्षसँग लड्नुपर्ने अवस्था रहेकाले लोकतन्त्र बचाउनुलाई नै मुख्य प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।

‘नेपालका हरेक क्षेत्रमा अहिले जनता विपद्मा परेका छन्, उनीहरूको संरक्षण र साथ दिने जिम्मेवारी पार्टीको पनि हो, जो जहाँ छ त्यहीं सहयोग गरी पार्टीलाई जनताको पार्टी बनाउन लाग्नुपर्छ’, वरिष्ठ नेता पौडेल भन्नुहुन्छ– ‘कांग्रेस अहिले सत्तासीन भए पनि लोकतन्त्र बचाउन लड्नुपर्ने अवस्था रहेको छ, कांग्रेसलाई जनताले विश्वास गरिसकेको छ भनेर ढुक्क हुने अवस्था छैन, सचेत हुँदै कांग्रेसी युवाहरूले लोकतन्त्र बचाउने भूमिका खेल्नुपर्छ ।’

उहाँले अग्रगमनबाट लोकतन्त्र र नेपाललाई सुरक्षित बनाउन युवाहरू जागरुक बन्नुपर्ने बताउनुभयो । कांग्रेसी युवाहरूले भविष्यमा विश्वासको पार्टी बनाउनतर्फ सचेत हुनुपर्ने उहाको कथन छ । कांग्रेसले हरेक कुराको सामना गर्न सक्नेगरी योजनाबद्ध तवरबाट अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो । सक्षम र शक्तिशाली पार्टी बनाउन युवाहरूको भूमिका मुख्य रहेको पौडेलको भनाइ छ ।

कांग्रेसलाई राष्ट्रको पहरेदार र जनताको भरोसायुक्त पार्टी बन्न सक्नुपर्ने उहाँले बताउनुभयो । विवादमा रहेका जिल्लाका क्रियाशील सदस्यहरू टुंग्याएर पार्टीलाई मजबुत लोकतान्त्रिक सक्षम पार्टी बनाएर अगाडि बढ्ने योजना निर्धारण गर्ने कार्यमा नेतृत्वको ध्यान छिटो पुग्नुपर्ने उहाँको भनाइ छ । पुस्तान्तरणको कुरा गर्नु उपयुक्त भए पनि सिद्धान्त र विधिको अवलम्बन गर्न नसक्दा समस्या भएको पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्