बाढी–पहिरोले १ सय १ जनाको मृत्यु, ४० घाइते



काठमाडौं, नेपाल समाचारपत्र । 

अविरल परेको वर्षाका कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी प्रदेश १ मा ६० जना, वागमती प्रदेशमा १, कर्णाली प्रदेशमा ७, लुम्बिनी प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परी प्रदेश १ मा १९, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी जम्मा ४० जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । बाढी पहिरोमा परी प्रदेश १ मा १३, प्रदेश २ मा १, लुम्बिनी प्रदेशमा ३, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीका कारण जम्मा २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन् । ४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । १ सय ३९ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट १ हजार १ सय ७७ घर परिवार विस्थापित भएका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोधसमेत प्रहरीले हटाउने कार्य गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्