माओवादीले दियो ३२ विभागलाई पूर्णता, संगठित सदस्य संख्या ६ लाख पुर्‍याउने



काठमाडौं, (नेस) ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले पार्टीको ३३ वटा केन्द्रीय विभागमध्ये ३२ लाई पूर्णता दिने निर्णय गरेको छ । पार्टीको बिहीबार बसेको स्थायी कमिटी बैठकले विपत् व्यवस्थापन विभागबाहेक अन्य सबै विभागलाई पूर्णता दिएको प्रवक्ता कृष्णबहादुर महराले बताउनुभएको छ ।

प्रवक्ता महराका अनुसार डिलाराम आचार्यको संयोजकत्वमा १ सय ७५ सदस्यीय सम्पर्क समिति गरेको छ भने र ३२ वटा विभाग र एक प्रतिष्ठानलाई ३५ सदस्य बनाएको छ ।

स्थायी कमिटी बैठकले अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुनलाई दिएको छ । त्यसै गरी, संगठन विभागमा जनार्दन शर्मा, विदेश मामिलामा नारायणकाजी श्रेष्ठ, प्रचार तथा प्रकाशन र राष्ट्रिय सुरक्षा गरी दुई विभागमा कृष्णबहादुर महरा, उद्योग मामिलामा वामदेव क्षेत्री, कृषि तथा भूमि सुधारमा हरिबोल गजुरेल र उपभोक्ता हित संरक्षण विभागको प्रमुखमा मातृका यादवलाई प्रमुख चयन गरेको छ ।

बैठकले डोरप्रसाद उपाध्यायलाई कोष तथा आर्थिक विभाग, बिना मगरलाई खानेपानी विभाग, लीलामणि पोखरेललाई जलस्रोत तथा ऊर्जा, खिमलाल देवकोटालाई निर्वाचन, मुक्ति प्रधान कानुन विभाग, झक्कुप्रसाद सुवेदी पर्यटन, पर्शुराम तामाङ प्रादेशिक मामिला र गिरिराजमणि पोखरेलले पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

पुस्तकालय तथा अभिलेख विभाग प्रमुखमा नारायणप्रसाद शर्मा, भौतिक पूर्वाधार विभाग प्रमुखमा हरि अधिकारी, युवा तथा खेलकुद विभाग प्रमुखमा गणेशमान पुन, राजकीय मामिला विभाग प्रमुखमा रेखा शर्मा, वन तथा वातावरण विभाग प्रमुखमा शक्ति बस्नेत, विज्ञान तथा प्रविधि विभाग प्रमुखमा गणेश साह, शिक्षा तथा मानव स्रोत विभाग प्रमुखमा मायाप्रसाद शर्मा, श्रम तथा रोजगार विभाग प्रमुखमा रामेश्वर राय यादव, संघीय संसदीय विभाग प्रमुखमा देव गुरुङ, समाज कल्याण विभाग प्रमुखमा सत्या पहाडी र सहकारी तथा गरिबी विभाग प्रमुखमा धर्मदत्त देवकोटाले जिम्मेवारी पाएका छन् ।

त्यस्तै, शहरी विकास विभागमा देवेन्द्र पौडेल, सामान्य प्रशासनमा टेकबहादुर बस्नेत, साहित्य तथा कलामा गोपाल ठाकुर, स्थानीय तहमा उर्मिला अर्याल र स्वास्थ्य तथा जनसंख्या विभागमा कल्पना धमलालाई विभाग प्रमुखको जिम्मेवारी दिइएको छ भने नीति अध्ययन प्रतिष्ठान प्रमुखको जिम्मेवारी रामचन्द्र झालाई दिइएको छ ।

पार्टीका प्रवक्ता महराले पार्टीले संगठित सदस्यको संख्या बढाएर ६ लाख पु¥याउने लक्ष्य लिइएको जानकारी दिँदै हालसम्म नयाँ सदस्यता वितरण र नवीकरण गरेर ५० प्रतिशत काम सम्पन्न भइसकेको बताउनुभयो । उहाँका अनुसार तत्कालीन नेकपा एमालेसँग पार्टी एकता गर्नुपूर्व माओवादीको पार्टी सदस्यता संख्या करिब डेढ लाख थियो ।

प्रतिक्रिया दिनुहोस्