एमाले काभ्रे जुट्यो वडा र पालिकाको अधिबेशनमा



मोतीराम तिमल्सिना , काभ्रे ।

आगामी कार्तिक ६ गते शनिबार देशभर हुने एमालेको वडा अधिबेशनको तयारी काभ्रेमा पनि सकिएको छ । बुधबार बसेको जिल्ला कमिटीको बैठकले वडा, गाउँ र नगर अधिबेशनको तयारीका लागि जिम्मेवारी तोकेको हो । अध्यक्ष अशोक ब्याञ्जुको अध्यक्षतामा बसेको बैठकमा केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज गोकुल बास्कोटाले निर्देशन दिनु भएको थियो ।

बैठकले सबै वडाका संगठित सदस्यहरुको नविकरण तथा नयाँ सदस्यहरुको अनुमोदन गरेको छ । यो अधिबेशनमा २५ हजार भन्दा धेरै संगठित सदस्यले भाग लिने बताईएको छ । एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुका अनुसार केहि वडामा सम्पन्न अधिबेशन पनि असोज ६ गते नै घोषणा हुनेछ भने बाँकी सबै वडामा एकै दिन अधिबेशन सम्पन्न हुनेछ । ६ गते अधिबेशन सम्पन्न भए लगत्तै नगर र गाउँ कमिटीको अधिबेशन हुनेछ । वडाबाट निर्वाचित भएर आउने प्रतिनिधिहरुले नगर र गाउँ कमिटी चयन गर्नेछन् । पनौती ९, बनेपा ७ र ११, रोशी ६ र नमोबुद्ध ३ मा भने यस अघि नै वडा अधिबेशन सम्पन्न भई सकेका छन् । नयाँ विधान अनुसार एमालेमा अध्यक्ष, उपाध्यक्ष, सचिव र उप सचिव २ जना सहित ३१ सदस्यीय कमिटी निर्वाचित हुनेछ । कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । १३ वटै पालिका र १ सय ३५ वटै वडामा सर्वसम्वत पदाधिकारी चयनको तयारी गरिएको छ । अधिबेशनका लागि सबै वडा र पालिकामा प्रतिनिधि खटाईएको छ । जिल्ला निर्वाचन आयोगले सबै स्थानको निर्वाचनका लागि आवश्यक ब्यवस्थापन गर्नेछ । तर केहि वडामा ब्यवस्थापकिय समय अपुगका कारण केहि दिन पछि हुने सम्भावना बढेको एमाले काभ्रेले जनाएको छ ।

यस अघि नियमित रुपमा अधिवेशन हुने गरे पनि नेकपा घोषणा पछि अधिवेशन नभएका कारण एकै पटक कात्तिक ६ गते देश भरका ६ हजार ७ सय ४५ वडामा नयाँ नेतृत्व चयन हुँदैछ । मंसिरमा हुने महाधिवेशन अगाडि एमालेले वडा, स्थानीय तह, जिल्ला र प्रदेशका अधिवेशनहरू सम्पन्न गर्दैछ । वडा अधिवेशनपछि कात्तिक ९ गते देशभरका ७ सय ५३ वटै स्थानीय तहको अधिवेशन हुने एमालेले जनाएको छ । एमाले केन्द्रीय कार्यालयले बढीमा ५ सयसम्म वडालाई जुममा जोडेर अध्यक्ष केपी शर्मा ओलीले एकैपटक भर्चुअल रुपमा वडा अधिवेशनहरूको उद्घाटन तथा शुभकामना सन्देश दिने गरि तयारी गरिरहेको छ । काभ्रेका केहि वडाहरु जुममा सहभागि हुनेछन् । एमालेको विधान अनुसार वडा कमिटी सबैभन्दा तल्लो तहको कार्यकारी निकायका रुपमा रहेको छ । त्यस भन्दा तल प्रारम्भिक कमिटीहरू रहे पनि कार्यकारी काम वडा कमिटीबाट हुन्छन् । यो अधिबेशनमा प्यानलगत प्रतिस्पर्धालाई निषेध गरिएको छ भने ब्यक्तिगत प्रतिस्पर्धालाई खुल्ला गरिएको छ । अध्यक्ष अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न बैठक सचिव नारायण पाण्डेले सम्पन्न गर्नु भएको थियो ।

फुटको चुनौती

एमालेका तत्कालिन अध्यक्ष टोकबहादुर वाईवा सहित ६३ सदस्यीय जिल्ला कमिटीका सदस्य मध्ये ५ जना नेकपा एसमा समाहित भएका छन् । तर एमालेमा नेकपा माओवादी केन्द्रबाट त्यसको दोब्बर सदस्य जिल्ला कमिटीमा सहभागि भएका छन् । नेकपा एसमा लामो समय पार्टी नेतृत्व गरेका, लाभको पदमा पुगेका र पटक पटक अवसर पाएका नेताहरु सहभागि भएका छन् भने कार्यकर्ताको संख्या कमी छ । नेतृत्वमा हुने ब्यक्तिहरुका बारेमा आम जनता र कार्यकर्तामा राम्रो सन्देश नभएकाले तत्काल नेतृत्व बदल्ने अवस्थामा नेकपा एस पुगेको छ । केहि स्थानीय तहमा निर्वाचित र प्रदेश तहमा निर्वाचित प्रतिनिधिहरु पनि एसमा समाहित भएका छन् । संगठित सदस्यहरको थोरै संख्या नेकपा एसमा सहभागि भएको छ । ८ हजार मात्रै संगठित सदस्य भएको नेकपा एमालेमा फुट पछिको अवस्थामा तेब्बरको संख्यामा संगठित सदस्य पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्