नदीको भंगालोमा फसेका चार जनाको उद्धार



बाँके, नेपाल समाचारपत्र ।

अविरल वर्षाका कारण नदीमा बाढी आएपछि सोमबार साँझ नदीको भंगालोमा फसेका बाँकेको डुडुवा–४, खालेमसाहका चार जनालाई प्रहरीले मंगलबार बिहान उद्धार गरेको छ ।

डुडुवा–४, खालेमसाहका सात जना खाना खाएर सोमबार बिहान ११ बजेतिरै वनकरेली टिप्न जंगलमा गएका थिए । उनीहरू खजुरा खोला तरेर राप्ती नदीको भंगालो पर्ने ठाउँमा पुगेका थिए । सात जनामध्ये तीन जना अलि चाँडै नै घर फर्किए । ५५ वर्षीय सौखत नाउ, ४५ वर्षीय सब्बीर खाँ, ३० वर्षीय प्रमोद लोनिया र ६० वर्षीय नजिर खाँ भने वनकरेली टिप्दै थिए । पानी परिरहेका कारण साँझ घर फर्किने बेलामा खजुरा खोला र राप्ती नदी बढ्न थालेपछि चारै जना नदीको बीच भंगालोमा फसे ।

खजुराखोला र राप्ती नदीको भंगालोले छेकेपछि चारै जना चिच्याउन, कराउन, रुन थाले । पानी घटिहाल्छ कि भनेर उनीहरू रातीसम्म यता र उता गरिरहे । तर, पानी घट्नुको साटो बढिरहेको थियो ।

अबेरसम्म घर नफर्केपछि उनीहरू नदीमा फसेको भन्दै जनप्रतिनिधि र स्थानीयले राति ७ बजे प्रहरीलाई खबर गरेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरी राति ९ बजेतिर नदीको नजिक पुगेका थिए, तर बाढी आएका कारण राती नदी तरेर भंगालो पर्ने ठाउँमा भने प्रहरीहरू पनि जान सकेनन् । यताबाट प्रहरी आवाज दिँदा उताबाट उनीहरू कराएको सुनिन्थ्यो । नदीको बीचमा फसेकाहरू कराएको सुनेपछि प्रहरीले उनीहरू सुरक्षित रहेको यकिन गरी राति १ बजेपछि चौकी फर्किएर पुनः बिहान ५ बजेदेखि नै फेरि उद्धारमा जुटेको थियो । बोट र लाइफ ज्याकेट लिएर गएको प्रहरीले नदीको बीच टापुमा रहेको सिमलको रूखमुनि रात कटाएका ती चार जनाको बिहान पौने नौ बजे उद्धार गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्