माओवादीले गर्‍यो कार्यतालिका हेरफेर



काठमाडौं ।

नेकपा माओवादी केन्द्रले पूर्वनिर्धारित तल्लो तहको सम्मेलनको कार्यतालिका हेरफेर गरेको छ । माओवादीले प्रदेश, पालिका, वडा र टोल सम्मेलनको कार्यतालिका परिमार्जन गर्ने निर्णय गरेको हो ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले आगामी कात्तिक २७ गतेसम्म टोल सम्मेलन, मंसिर ४ गतेसम्म वडा सम्मेलन, मंसिर ११ गतेसम्म पालिका सम्मेलन र मंसिर २५ गतेसम्म प्रदेश समेलन गरिसक्ने गरी म्याद थप गर्ने निर्णय गरेको छ । पार्टीका प्रवक्ता कृष्णबहादुर महराले पूर्वनिर्धारित कार्यतालिकाअनुसार तल्लो तहको सम्मेलन गर्न केही समस्या आएकोले मंसिर २५ गतेसम्म सम्पन्न गर्ने गरी म्याद थप गर्ने निर्णय गरेको बताउनुभयो । माओवादीले यसअघि टोल सम्मेलन कात्तिक ६, वडा सम्मेलन कात्तिक १३ र पालिका सम्मेलन मङ्सिर ४ मा सम्पन्न गर्ने तालिका बनाएको थियो ।

प्रवक्ता महराका अनुसार पार्टी सदस्यता नवीकरणको म्याद यही कात्तिक २७ सम्म थप गरिएको छ । यसअघि, पार्टी सदस्यता नवीकरणको म्याद असोज मसान्तसम्म तोकिएको थियो । राष्ट्रिय सम्मेलनको कार्यतालिकामा भने कुनै हेरफेर नभएको महराले जानकारी दिनुभयो । आगामी पुसको दोस्रो साता माओवादीको राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । बैठकले १ सय ४९ सदस्यीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठन गर्ने निर्णय गरेको छ । त्यसैगरीे, पेशलकुमार पोखरेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोग, टंक राईको अध्यक्षतामा २५ सदस्यीय अनुशासन आयोग पनि गठन गरेको छ । पार्टीले यसअघि नै विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय निर्वाचन आयोग गठन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्