एमालेको आग्रहमा संसद् बैठक सर्‍यो



काठमाडौं, (नेस) ।

प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेको आग्रहमा यही कात्तिक ९ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक दुई दिनपछि सारिएको छ । एमालेको आग्रह र सरकारको समन्वयमा संसद्को बैठक दुई दिनपछि सारिएको हो । एमालेले कात्तिक ९ गते देशभरकै सबै स्थानीय तहमा अधिवेशन हुने भएकाले संसद् बैठक केही दिन स्थगित गर्न आग्रह गरेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले कात्तिक ९ गते बोलाइएको बैठक विशेष कारण देखाउँदै स्थगित गरेर कात्तिक ११ गते बिहीबार दिउँसो २ बजेका लागि सार्नुभएको छ । संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले मंगलबार सूचना जारी गर्दै संघीय संसद् सचिवालयले कात्तिक ९ गते दिउँसो १ बजे बस्ने निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक सो दिन बस्न नसक्ने जनाउनुभएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ को उपनियम ३ बमोजिम कात्तिक ११ गते बिहीबार दिनको २ बजे बैठक बस्ने गरी बैठक निर्धारण गरेको सूचनामा उल्लेख गरिएको छ ।

नवौं अधिवेशनअन्तर्गत गत भदौ २३ गतेदेखि शुरु भएको अधिवेशनको पहिलो बैठकदेखि नै एमालेले प्रतिनिधिसभाको बैठक निरन्तर अवरुद्ध गर्दै आएको छ । आफ्नो दलले कारबाही गरेका १४ सांसदलाई जोगाएर पार्टी फुटाउन सभामुखले सहयोग गरेको भन्दै एमालेले बैठक अवरुद्ध गर्दै आएको हो । विवाद समाधानका लागि सभामुख सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठकसमेत एमालले बहिष्कार गरेको थियो । सभामुखको प्रयास विफल भएसँगै संसद्को जारी गतिरोध हटाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय बैठकसमेत एमालेले बहिष्कार गरेको थियो । सहमति निर्माणका लागि बोलाइएको बैठक एमालेले बहिष्कार गर्दै आएपछि संसद्मा जारी अवरोध अझै हटन सकेको छैन । सभामुख सापकोटाले अहिले पनि राजनीतिक दलहरूसँग संसद्मा देखापरेको समस्या समाधानका लागि राजनीतिक दलहरूसँग संवाद गर्दै आउनुभएको छ । एमालेले निरन्तरतरूपमा अवरोध गर्दै आएपछि विरोधकै बीच सभामुखले संसद्को काम कारबाही भने अगाडि बढाउँदै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्