पहिरोले घर भत्किँदा दुईको मृत्यु, एक घाइते, २३ बेपत्ता



नेपाल समाचारपत्र, कालिकोट/डोटी ।

शनिबारदेखि लगातारको परेको अविरल वर्षापछि गएको पहिरोले घर भत्किँदा सोमबार राति कालिकोटमा एक जना र डोटीमा दुई जनाको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण सोमबार राति कालिकोटको महाबै–७ राम्नीमा एउटा घर भत्किँदा घरभित्र सुतिरहेकी दिदीको मृत्यु हुनाको साथै बहिनी घाइते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख डीएसपी चक्रबहादुर शाहका अनुसार राम्नीका विष्णुलाल अधिकारीको घर भत्किँदा उनी जेठी छोरी १८ वर्षीया स्मृति अधिकारीको घटनास्थलमै मृत्यु भएको छ भने सँगै सुतिरहेकी उनकी कान्छी छोरी १५ वर्षीया बहिनी इशानी अधिकारी घाइते भएकी छिन् । घाइते इशानीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

पहिरोले सोही गाउँका पाँचवटा घर भत्किएका छन् भने २५ घर जोखिममा परेका छन् । जोखिममा परेका २५ घर–परिवारलाई सोमबार राति स्थानीय राम माध्यामिक विद्यालय राम्नी र स्वास्थ्य चौकीको भवनमा सारिएको महावै गाउँपालिका उपाध्यक्ष मनराज शाहीले बताउनुभयो । उहाँका अनुसार सोमबार राति पादमघाट प्रहरी चौकी र सदरमुकाम मान्मबाट घटनास्थल पुगेको प्रहरी टोलीले जोखिममा परेकाहरूको उद्धार गरेको हो ।

त्यसै गरी, तीन दिनदेखिको लगातार परेको वर्षाका कारण डोटी जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार वर्षात्ले सोमबार राति स्थानीय वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर दुई जनाको मृत्यु भएको हो । वीरबहादुरका १४ वर्षीय छोरा सागर कुन्जेडा र ११ वर्षीय छोरा आशिष कुन्जेडाको घटनास्थलमै मृत्यु भएको हो ।

घर भत्केर च्यापिएको लास निकाल्न र थप उद्धारका लागि इलाका प्रहरी कार्यालय मौवाबाट प्रहरी निरीक्षक किशन चन्दको नेतृत्वमा प्रहरी टोली परिचालन भएको बताइएको छ । जिल्लामा वर्षात्का कारण विभिन्न ठाउँमा क्षति पुगेको भए तापनि सञ्चार सम्पर्क विच्छेद भएका कारण अन्य क्षेत्रको खबर प्राप्त हुन नसकेको प्रहरी प्रमुख दानबहादुर मल्लले बताउनुभयो ।

वर्षाले कालिकोटको खाँडाचक्र नगरपालिका–८ दशला गाउँको माथिल्लो टोलका १८ घरधुरी पनि पहिरोको उच्च जोखिमा परेपछि नजिकैको मल्लटोलमा विस्थापित भई बसेका छन् । यस्तै पहिरोले जिल्ला सदरमुकाम मान्म बजारको नाव गैराका १३ घर जोखिममा परेको प्रहरीले जनाएको छ । साथै बजारस्थित एलना मेडिकल हलको पछाडिको पर्खाल भत्किँदा औषधि पसलमा पनि क्षति पुगेको छ ।

त्यस्तै, वर्षाले कर्णाली नदीमा बाढी आउँदा कर्णाली करिडोर जोड्ने जितेस्थित कर्णाली नदीमा रहेको डुंगा बगाएको छ । दशैंलगत्तै गाडी तार्न फेरि अर्थात् डुंगा सञ्चालनमा ल्याउने तयारी भइरहेको बेलामा बाढीले बगाएपछि कर्णाली करिडोरमा गाडी लैजान कठिनाई हुने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

अविरल वर्षाले कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक ठाउँ–ठाउँमा अवरुद्ध भएको छ । कर्णाली राजमार्गको दैलेख पाल्ताडा, राकम, घट्टेखोला, दैखोला, कालीकोटको गगने, सेरी, सुनारखोला, मोल्फा, पिली सेरावाडालगायतका ठाउँमा पहिरोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

वर्षाले जिल्लाभर कृषकको पाकेर काटेकोे धान बालीमा बगाउनुका साथै कुहिएर नष्ट भएको छ ।

पहिरोले २३ जना बेपत्ता

बझाङको थलारा गाउँपालिका–४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाउँका स्थानीय विस्थापित भएका छन् भने ७ घर पुरिएका छन् । बेपत्ता हुनेमा गगने सार्र्कीका एकैघरका १८ जना र नरे सार्कीका घरका ५ जना रहेका छन् । गगने सार्की रोजगारीका सिलसिलामा भारतमै हुनुहुन्छ । उहाँका माइला छोरा काले सार्की मात्र सकुशल छन् । तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन माध्यामिक विद्यालय महेन्द्रधारमा बसिरहेका छन् । गाउँ पहिरोको जोखिममा रहेपछि सयभन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति माध्यामिक विद्यालय पाराकाट्नेका शिक्षक मदनबहादुर साउदले बताउनुभयो । सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप जानकारीका लागि सम्पर्क हुन सकेको छैन । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकाले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रूपक खड्काले बताउनुभयो । ‘पहिरोमा परेर बेपत्ता भएको भन्ने खबर आएको छ । लगातार पानी परिरहेकाले बाटो अवरुद्ध छ । घटनास्थल टाढा भएका कारण पुग्न सकिएको छैन ।’ –उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्