बाढीले बगायो बझाङको बसपार्क, सदरमुकाम चैनपुर उच्च जोखिममा 

टेलिफोन, एफएम रेडियो र विद्युत् सेवा अवरुद्ध



ललित सिंह, बझाङ ।

लगातारको वर्षाका कारण सेती नदीमा पानीको बहाव बढेपछि बझाङ बाढीको उच्च जोखिममा परेको छ ।सेती, कालंगा नदी, र बाहुली खोला लगायतका साना ठूला खोलामा पानीको बहाव बढेको छ । नदीहरूमा पानीको सतह बढेसँगै जिल्ला प्रशासन कार्यालयले सावधानी अपनाउन आग्रह गरेको छ ।

सूचना जारी गर्दै जिल्ला प्रसासन कार्यालयले नदीको बहाब बढेकाले काठ उतार्न, माछा मार्न र पानीसँग खेल्न, नदी खोला नजिक नजान आग्रह गरेको हो । प्रशासनले माछा मार्न तथा जरुरी कामबाहेक एक्लै नहिँड्न पनि आग्रह गरेको छ ।

सेती नदी र बहुलीगाड खोलामा पानीको बहाव बढेपछि बझाङ सदरमुकाम चैनपुर उच्च जोखिममा छ । जोखिम बढेसँगै सदरमुकामवासीमा कुन बेला सदरमुकाम बगाउने हो भन्ने चिन्ता छाएको स्थानीय निरनराम जोशीले बताए ।सेती र बाहुलीले सदरमुकाम आसपासको कतै न कतैको जमिन हरेक वर्ष कटान गर्ने गरेको जोशी बताउँछन् ।

बहुलीगाडले बेला–बेलामा आफ्नो धार परिवर्तन गर्दै आएको छ ।सदरमुकामको पूर्वी भागबाट बग्ने सेती नदी र पश्चिमी क्षेत्रबाट बग्ने बाहुलीगाडमा बाढी आएमा एउटै रेखामा पर्न सक्ने र यसले सदरमुकामको अस्तित्व नै समाप्त पार्न सक्ने खतरा छ । बाहुलीको वितण्डापछि सदरमुकाम बचाउन अभियान सञ्चालन भएर सेती नदी र बाहुलीगाडतर्फ तटबन्धन गरिएको छ ।

लगातारको वर्षाका कारण बाहुलीखोलामा आएको बाढीले आरसीसी गरिएको तटबन्ध बगाएको छ भने खोला छेउमै रहेको चैनपुर बसपार्क पनि बगाएको छ । बाहुली खोलामा आएको बाढीले सदरमुकाम चैनपुरको खोलाछेउमा रहेका दुई वटा पोल्टी फर्म, बंगुर फर्म बगाएको छ ।

त्यस्तै विभिन्न ठाँउमा गएको पहिरोले सयौँ परिवार विस्थापित भएका छन् । बाढीका कारण लघु जलविद्युत् आयोजना, नहर, विद्यालय, ग्रामिण सडकमा क्षती पुगेको छ । पहिरोले सयौँ रोपनी खेत बगाएको छ । मोबाइलमा नेटवर्क नहुँदा क्षतीको विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रुपक खड्काले बताए ।

टेलिफोन, एफएम रेडियो र विद्युत् सेवा अवरुद्ध

तीन दिनदेखि घाम नलाग्दा बझाङमा टेलिफोन सेवा अवरुद्ध भएको छ । सौर्य ऊर्जामा निर्भर बझाङका टेलिफोन टावरहरूमा राखिएको सोलारमा चार्ज नहुँदा दुई दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको हो ।लगातारको बर्षाले जिल्लामा बाढी पहिरोको जोखिम रहेको र केही भइहाले अत्यावस्यक कामका लागि खबर गर्न नेटवर्क नहुँदा निकै सास्ती भएको खप्तडछान्ना गाउँपालिका–४ का ईश्वर रोकाया बताउँछन् ।

नेपाल टेलिकम शाखाका निमित्त प्रमुख बमबहादुर सिंहले टेलिफोनका टावरहरूमा विद्युत् नपुगेको र सोलार प्यानलबाट चार्ज नहुँदा लामो समय पानी परेको र बादल लागेको दिन नेटवर्क अवरुद्ध हुने गरेको बताए ।सौर्य ऊर्जाको भरमा सञ्चालित एफएम रेडियोको प्रसारण पनि अवरुद्ध छ ।

जिल्लामा रहेका ९ वटै एफएम रेडियोको रिले स्टेसनमा सौर्य ऊर्जा जडान गरिएको छ । रिले स्टेसनमा घाम नलाग्दा ब्याट्री चार्ज हुन नपाएकोले सोमबार साँझबाट सबै रेडियोको नियमित प्रसारण अवरुद्ध हुँदा सूचना प्रवाहमा समस्या भएको जयपृथ्वी एफएमका अध्यक्ष प्रताप ओलीले बताए ।

सबै रेडियोले सदरमुकामभन्दा टाढाका डाँडाहरूमा रिले टावर राखेर सञ्चालन गरिरहेको र दुई दिन घाम नलाग्दा सोलार चार्ज हुन नपाएर सूचना प्रवाह गर्न नसकिएको उनले बताए ।

आइतबार साँझदेखि जिल्लामा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा सरकारी तथा गैरसरकारी कार्यालयका कामकाज प्रभावित बनेका छन् ।

प्रादेशिक विद्युत् प्राधिकरण अत्तरियाका अनुसार राष्ट्रिय प्रसारण लाइन पुगेका ६ पहाडी जिल्लामा विद्युत् अवरुद्ध भएको छ । हावाहुरी तथा अविरल वर्षाका कारण अत्तरिया चमेलिया प्रसारण लाइनमा समस्या देखिँदा विद्युत् सेवा अवरुद्ध भएको हो ।

जयपृथ्वी राजमार्ग पनि अवरुद्ध

आइतबार रातिदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । केदारस्युँ गाँउपालिकाको नारुगौडामा बाढी आएर सडक बगाएपछि राजमार्ग अवरुद्ध बनेको हो ।अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण नारुगौडामा पानीको वहाव बढेकाले राजमार्ग खुलाउने काम प्रभावित भएको प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले बताए ।

राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।

विभिन्न ठाँउमा क्षती, नेटवर्क नहुँदा यकिन विवरण आउन सकेन

वर्षाका कारण काटेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षती भएको छ । लगातारको वर्षाले सेती र कालंगा नदीका तटीय क्षेत्रका खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको छ ।धेरै ठाउँमा किसानले खेतमा पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ । पाकेर ठिक्क भएको र काटेर सुकाउन राखिएको धानमा क्षति पुगेको जयपृथ्वी नगरपालिका ५ का नरेस सिंहले बताए ।

जयपृथ्वी नगरपालिकाको गोलाइ जिउलो, डुग्री, पडेस, साइलाबगर, केदारस्युँ गाँउपालिकाको झोता, देउरा, बुङ्गल नगरपालिकाको सट्टाय, विजगडा, गिरौ लगायतका जिउलामा काटेर सुकाउन राखिएको धान भिजेको छ । जिल्लाका ३९५ स्थान बाढी तथा पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांङक छ ।

जयपृथ्वी नगरपालिकाका ११६, बुंगल नगरपालिकाका ५१, साइपाल गाउँपालिकाका ११, तल्कोट गाउँपालिकाका २५, मष्टा गाउँपालिकाका ५१, सुर्मा गाउँपालिकाका १३, छविसपाथिभेरा गाउँपालिकाका २२, दुर्गाथलि गाउँपालिकाका १३, खप्तडछान्ना गाउँपालिकाका २०, थलारा गाउँपालिकाका १०, केदारस्युँ गाउँपालिकाका ३४, वित्थडचिर गाउँपालिकाका २९ स्थान जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी मोहनराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्