नेपाल ऐतिहासिक फाइनल नजिक



कविरस शर्मा ।

 नेपाली राष्ट्रिय फुटबल टोलीलाई साउथ एसियन फुटबल फेडेरेसन (साफ) च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनल पुग्न मात्र एक जित आवश्यक रहेको छ ।

जारी साफको अंक तालिका अनुसार पछिल्ला दुई खेल जितेर ६ अंक बटुलेको नेपालले आगामी खेलमा भारत वा बंगलादेशमध्ये कुनै एक टिमलाई हराएमा स्पष्ट तीन अंक जोड्दै सोझै फाइनलको यात्रा तय गर्ने समीकरण बनेको हो ।

पाँच टोलीको मात्र सहभागिता रहेको साफको यस संस्करणमा बिहीबार माल्दिभ्सले बंगलादेशलाई पराजित गरेसँगै रोमाञ्चक समीकरण समेत बनेको छ । नेपाल, बंगलादेश, माल्दिभ्स र भारतमध्ये दुई टोलीले फाइनलमा उपाधिका लागि खेल्नेछन् भने तीनमध्ये दुई खेल गुमाएका र एक खेल बराबरीमा टुंग्याएका श्रीलंका भने प्रतियोगिताबाट लगभग बाहिरिसकेका छन् ।

लगातार दुई खेल जितेको नेपाल फाइनल यात्राका लागि सबैभन्दा बलियो दावेदार देखिएको छ । तर, त्यसका लागि भारतविरुद्धको खेल नेपालका लागि पनि महत्वपूर्ण हुनेछ । भारतलाई हराउन सकेमा नेपाल अन्तिम खेलअघि नै फाइनल पुग्नेछ । तर, उक्त खेलअघि भने आयोजक माल्दिभ्स र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । त्यो नतिजाले पनि फाइनल समिकरणमा प्रभाव पार्नेछ ।

त्यो खेलमा माल्दिभ्स विजयी भएमा ६ अंक जोड्नेछ । तर, नेपालले भने खेल्न बांकी दुवै खेल बराबरी गरेमात्र पनि फाइनलको यात्रा तय गर्ने अर्को समीकरण पनि बनेको छ । यदि आगामी दुवै खेलमा पराजित भएको अवस्थामा भने नेपालको यात्रा पनि कठिन बन्न सक्नेछ । अर्कोतिर नेपालसँग पराजित भएमा वा बराबरीमा रोकिएमा भने भारतका लागि फाइनल पुग्न निकै कठिन हुनेछ । साफ च्याम्पियनसिपको इतिहासमा नेपालले सबैभन्दा सुखद सुरुवात यसै पटक गरेको छ । नेपाल पहिलो पटक सुरुवाती दुई खेलमा विजयी भएको छ ।

राउन्ड रोबिन प्रणालीमा खेलाइएको प्रतियोगितामा लिग चरणको शीर्ष दुई टोलीले फाइनलमा स्थान बनाउने छन् । त्यसकारण अझै पनि चार टोलीको ढोका खुला नै रहेको हो । नेपालले अन्तिम खेलमा बंगलादेशको सामना गर्नेछ । बंगलादेशका लागि पनि त्यो खेल निकै महत्वपूर्ण हुनेछ । अन्तिम खेलअघि बंगलादेशको ४ अंक छ । यसपटक उपाधि दौडमा रहेको ४ टोलीमध्ये नेपाल मात्र अहिलेसम्म साफ च्याम्पिनयसिपको उपाधि जित्न नसकेको टोली हो ।

जारी साफमा पछिल्ला दुवै खेल जितेको नेपालले ६ अंक जोडेर लिग तालिकाको शीर्ष स्थान ओगटेको छ । यसक्रममा नेपालले आयोजक माल्दिभ्स र श्रीलंकालाई हराउँदा चार गोल गरेको छ भने दुई गोल बेहोरेको छ । अर्कोतिर सर्वाधिक सात पटकका साफ उपाधि विजेता भारतले भने जारी प्रतियोगितामा जितको मुख अझै देख्न पाएका छैनन् ।

पछिल्ला दुई खेलमा बराबरीमा चित्त बुझाउनु परेका भारतको मात्र दुई अंक रहेको छ । भारतले एक गोल गर्दा एक गोल नै बेहोरेको छ । भारतले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो भने श्रीलंकासँग गोलरहित बराबरीमा खेल टुंग्याएको थियो ।प्रतियोगितामा नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले बल पोसेसनमा भन्दा नतिजामा ध्यान दिने बताएका छन् ।

उनले भने जस्तै यसपटक नेपाली टोली विगतमा भन्दा फरक शैलीमा प्रस्तुत पनि भएका छन् । यसकारण पनि होला विगतमा बल पोसेसनमा बढी ध्यान दिंदा नेपाललाई एउटा गोल निकाल्न समेत मुश्किल पथ्र्यो भने अहिले पछिल्ला दुई खेलमा नै नेपालले चार गोल गरिसकेको छ । अर्कोतिर गोलको खडेरीबाट भने भारत गुज्रिरहेको छ ।

भारतका मुख्य प्रशिक्षक इगोर स्टिम्याकले खेलाडीको फिटनेस र खेल्ने शैलीमा कुनै प्रश्न नरहे पनि जित्नलाई गोल नै चाहिएको बताएका छन् । श्रीलंकाविरुद्ध बल पोसेसनमा पूर्ण नियन्त्रण जमाए पनि भारतले गोल गर्ने थुप्रै मौका चुकाएका थिए । जसका कारण भारत वरियतामा आफूभन्दा झन्डै ९८ स्थान पछिको श्रीलंकासंग एक अंकमा नै चित्त बुझाउन बाध्य भएको थियो । जारी प्रतियोगितामा भारतले बंगलादेशविरुद्ध एक गोल गर्दा एक गोल नै बेहोरेको छ ।

आज भारतविरुद्ध खेल्दै

आइतबार राति साफ च्याम्पियनशिप २०२१ को तेस्रो खेल चिरप्रतिद्वन्दी भारतविरुद्ध खेल्दैछ । नेपाल र भारतबिचको खेल माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा नेपाली समयअनुसार राति पौने दस बजे सुरु हुनेछ । उक्त खेल जितेमा नेपाल एक खेल अगावै फाइनल पुग्नेछ । जुन ऐतिहासिक उपलब्धि समेत बन्नेछ । नेपाल अहिलेसम्म साफको फाइनलमा समेत पुग्न सकेको छैन ।

चिरपरिचित प्रतिद्वन्दी भारत र नेपालको सिनियर राष्ट्रिय टोली विगतमा २१ पटक एक अर्काविरुद्ध मैदान उत्रदाँ भारतले १४ पटक खेल जितेको छ । नेपालले भने दुई पटक जित्दा पाँच खेल बराबरीमा टुंग्याएको छ । जसमा भारतले नेपालविरुद्ध अहिलेसम्म ३६ गोल गरिसकेका छन् भने नेपालले ११ गोल मात्र फर्काएको छ । नेपालले पछिल्लो पटक दशरथ रंगशालामा भारतसँग खेलेको थियो । साफ च्याम्पियनसिपको तयारीका लागि दुवै देशले मैत्रीपूर्ण म्याच खेलेका थिए ।

गत सेप्टेम्बरको पहिलो साता दशरथ रंगशालामा नेपालले भारतसँग खेलको पहिलो खेल १-१ गोलको बराबरी सकिएको थियो भने दोस्रो खेलमा नेपाल २–१ ले पराजित भएको थियो । नेपालका लागि भारतीय स्ट्राइकर सुनील क्षेत्री टाउको दुखाई बन्न सक्नेछ । नेपालविरुद्ध आठ अन्तर्राष्ट्रिय खेलहरुमा ६ गोल गरेका सुनील क्षेत्री नेपालविरुद्ध सर्वाधिक गोल गर्ने भारतीय खेलाडी समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्