‘प्रकाश दाहाल स्मृति बक्सिङ’ कात्तिकमा



काठमाडौं, (नेस) ।

दोस्रो ‘प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिता’ कात्तिकको अन्तिम साता आयोजना हुने भएको छ ।

आयोजक नेपाल बक्सिङ संघले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता २९ कात्तिकदेखि ३ मसिंरसम्म काठमाडौंमा हुने जानकारी गराएका छन् । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेलाउने तयारी भइरहेको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम काजी अवालेले जानकारी गराए ।

प्रतियोगितामा पुरुषतर्फ विभिन्न १३ तौल समूह र महिलातर्फ विभिन्न ८ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ ४८, ५१, ५४, ५७, ६०, ६३.५, ६७, ७१, ७५, ८०, ८६, ९२ र ९२ केजीभन्दा माथि प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ४८, ५०, ५२, ५४, ५७, ६०, ६३ र ६६ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा तीन विभागीयसँगै देशभरबाट करिब तीन सय जना बक्सरको सहभागिता रहने संघले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगितामा सहभागी भएको हुनुपर्ने प्रावधान राखिएको छ ।

प्रतियोगितामा हरेक तौल समूहमा विजयी हुने खेलाडीलाई १० हजार नगद पुरस्कार राखिएको र प्रायोजक पाएको खण्डमा यो बढ्न सक्ने संघले जनाएको छ । पुरुष र महिलातर्फको उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको अनुमानित बजेट ३५ लाख रहेको छ ।

प्रतियोगिताको लागि नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ । प्रतियोगितापछि हुने अन्तर्राष्ट्रिय प्रतियोगिताको छनोटको रूपमा पनि रहने छ । पहिलो संस्करण २०७५ को असार १३ देखि १७ सम्म प्रकाश दाहाल स्मृति प्रतिष्ठानले आयोजना गरेको थियो । त्यसपछि कोभिडको कारण प्रतियोगिता हुन सकेको थिए । यसपटक संघले नै प्रतिष्ठानसँग सहकार्य गरेर आयोजना गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्