खुकुलो जुत्ताले पनि मनीषलाई दिलायो खुसी



विजय नेपाली, पोखरा ।

पोखरामा जारी राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगअन्तर्गत मंगलबार लिगको अन्तिम खेल चलिरहेको थियो । घरेलु टोली सविन मेमोरियललाई खेल जित्नै पर्ने थियो प्लेअफमा पुग्नका लागि बराबरीले खतरा थियो । सविन मेमोरियलका ५ नम्बरी जर्सीमा होचो, पातले लुरे खेलाडी मनीष क्षेत्री छन् । उनी लुरे भएकै कारण उनको साइजको जुत्ता पाउनै मुस्किल छ ।

आर्टिफिसियल मैदानमा खेल्दा त बल्ल तल्ल बेबी साइजको जुत्ता लगाएर खेल्ने मनिषले फुटसल खेल्दा आफ्नो साइजको जुत्ता नै पाएनन्, तर पनि खेलिरहे । उनी गोलका लागि पास दिन मात्र नभई गोल गर्न पनि माहिर खेलाडी हुन् । तर, मंगलबार भने स्थिति फरक थियो । अघिल्लो खेलहरूमा झैं उनलाई गोल मिस गर्ने कुनै छुट थिएन । सविनका मुख्य गोलकर्ता अभिनाश तामाङ घाइते हुँदा उनी दबाबमा थिए ।

एकातिर जुत्ताको समस्या अर्कातिर खेल जित्नपर्ने त्यो पनि लिगको बलियो मध्येको एक टिमविरुद्ध । तर, मनीषले हार मानेनन् । जुत्ताभित्र तलुवा थपेरै भए पनि उनले खेले । यसअघि, ढुकु फुटसलसँग खेल्दा पनि त्यसरी नै तलुवा थप्दा उनको जुत्ता खुकुलो भएकाले फुस्किएको थियो । त्यही खुकुलो जुत्ताको गोलमा टोलीले खेल जित्न आशा जीवित राख्यो । मनीषले खेलको २४औं मिनेटमा टिमका लागि दोस्रो गोल गरेका थिए । पहिलो गोल भने समीर प्रधानले २०औं मिनेटमा फ्रिकिकमा गरेका थिए ।

खेल दोस्रो हाफको २५औं मिनेटमा पुग्दा २–१ को स्थितिमा थियो । ३४ औं मिनेटमा मनीषले बल पाए तर, उनले त्यहाँ आफूले प्रहार गर्दा जुत्ता ठूलो भएकाले जे पनि हुनसक्ने भन्दै साथीलाई पास दिए । उनले लिएको त्यो निर्णयले सविन मेमोरियलको प्लेअफको सम्भावना जीवित राख्यो । उनको पासमा सुनील विकले गोल गरे । अन्ततः ४०औं मिनेटमा रेफ्रीले अन्तिम सिठी बजाएपछि मनीष भावुक हुँदै फुटसल कोर्टमा घोप्टिए । उनी खेलको ‘म्यान अफ दि म्याच’ समेत घोषित हुन पुगे ।

‘मेरो साइजको फुटसल बुट नै नपाइने । अर्को सानो सानो गेडी भएको बुट लगाएर खेल्न यहाँ नपाउने निकै समस्या भएको छ’ उनले बताए–‘पसलमा जाँदा बेबी साइजको जुत्ता आउँदैन भाइ भन्यो । टिममा सबैको आफ्नो साइजको जुत्ता छ मेरो मात्रै छैन’ पहिला पनि तलुवा थपेर खेलेको झन् ठूलो भयो तर, आज मलाई टिमका लागि केही गर्नुपर्ने थियो’ ।

यो खेलसँगै राउन्डरोविन आधारमा खेलाइएको लिग चरण सम्पन्न भएको छ । अब सविन मेमोरियलले फाइनलका लागि एलिमेटर राउन्ड खेल्नुपर्नेछ । एलिमेटरमा सविन मेमोरियलले पुन शंखमूलकै सामना गर्नुपर्नेछ । सविनको ९ खेलबाट १६ अंक रहँदै लिग तालिकाको चौथो स्थानमा रहेको छ । सविनले ५ खेलमा जित, ३ खेलमा हार र १ खेल बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्