कालभैरव खुल्ला जुनियर उसु हुने



काठमाडौं, (नेस) ।

यही असोज २० र २१ गते दशरथ रंगशालास्थित मिनी कभर्डहलमा कालभैरव उसु क्वानको आयोजनामा ‘प्रथम कालभैरव खुल्ला जुनियर उसु प्रतियोगिता’ हुने भएको छ ।

प्रतियोगितामा ४० भन्दा बढी उसु क्वानका करिब तीन सय जना खेलाडीको सहभागिता रहने आयोजकका अध्यक्ष निकेश श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

प्रतियोगितामा सान्सौमा २० र थाउलोमा १८ गरी जम्मा ३८ स्पर्धामा प्रतिस्पर्धा हुनेछन् । जुनियरबाटै भविष्यमा प्रतिभावान् खेलाडीको पहिचान गर्न सकिने भएकोले यो प्रतियोगिता गराउन लागिएको हो ।

कोभिड–१९ का कारण लामो समय उसुका कुनै प्रतियोगिता नभएकोले उसु खेलसँग आबद्ध व्यक्तित्वहरू मिलेर यो प्रतियोगिता आयोजना गरिएको हो ।

यस जुनियर उसु प्रतियोगिताले खेलाडीहरूमा नयाँ जोस र ऊर्जा थप्नुका साथै खेलाडीहरूको खेलस्थर वृद्धिमा समेत टेवा पुग्ने आशा गरिएको छ ।

करिब ७ लाख ५० हजार अनुमानित बजेटमा गर्न लागिएको यस प्रतियोगिताको लागि आर्थिक सहयोग भने खेलाडी तथा खेलप्रेमी महानुभावहरूबाट संकलन गरिएको कोषाध्यक्ष विजय सिञ्जालीले बताए ।

यस कार्यक्रमका प्रमुख अतिथिको रूपमा पूर्वस्वास्थ्यमन्त्री गगन थापा रहनेछन् । साथै, १३औं दक्षिण एसियाली खेलकुदमा सहभागी उसु खेलाडीहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्