शंख मूललाई हराउँदै अर्को घरेलु टोली प्ले अफमा



विजय नेपाली, पोखरा ।

घरेलु टोली ‘सविन मेमोरियल’ राष्ट्रिय ‘ए’ डिभिजन लिगको प्ले अफमा प्रवेश गरेको छ ।

मंगलबार सम्पन्न लिग चरणको अन्तिम खेलमा सविनले शंखमूललाई ३–१ गोल अन्तरले हराउँदै प्ले अफमा प्रवेश गरेको हो । पोखरा रंगशाला बहुउद्देश्यीय कभर्डहलमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक लिगको अन्तिम खेल सविनलाई जित्नैपर्ने दबाब थियो ।

सविनले २०औं मिनेटमा समिर प्रधानले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफ १–० ले अघि रहेको सविनले दोस्रो हाफमा थप २ गोल गर्दै जित हासिल गरेको हो ।

खेलको २४ औं मिनेटमा मनीष क्षेत्रीले गोल गर्दै अग्रता दोब्बर पारे । २५औं मिनेटमा शंखमूलका सुशान श्रेष्ठले गोल गर्दै २–१ को स्थिति बनाएपछि सविन दबाबमा परेको थियो । ३४औं मिनेटमा सुनील विकले गोल गर्दै जित निश्चित गरे ।

सविनको कुल ९ खेलबाट १६ अंकका साथ तालिकाको चौथो स्थानमा रहन सफल रह्यो । सविनले पाँच खेलमा जित, ३ खेलमा हार र १ खेलमा बराबरी खेलेको थियो ।

एता हार व्यहोरेको शंखमूल पनि तालिकाको तेस्रो स्थानमा रहेको छ । शंखमूललाई हारले दोस्रो स्थानमा उक्लिनबाट रोके पनि प्लेअफका लागि कुनै असर गरेन । खेलको ‘म्यान अफ दि म्याच’ मनीष क्षेत्री घोषित भए ।

मंगलबार भएको¬ पहिलो खेलमा प्रभातफेरीले फुटसल ५ धरानलाई ६–२ गोल अन्तरले पाखा लगायो । प्रभातफेरीको जितमा डोना थापा र धीरज जोशीले २/२ तथा सन्तलाल गुरुङ र विवेक सारुमगरले एक–एक गोल गरे ।

प्रभातफेरीले फुटसल ५ धरानलाई शुरुआतदेखि नै निकै दबाबमा राख्यो । प्रभातफेरीका लागि धीरज गुरुङले खेलको पाँचांै मिनेटमा २ गोल गर्दै अग्रता दिलाए ।

१ मिनेटको अन्तरालमा धीरजले २ गोल गर्दै प्रभातफेरीलाई २–० को अग्रता दिलाए । १७औँ मिनेटमा शन्तले गोल गर्दै प्रभातफेरीको अग्रता तेब्बर पारे । २०औं मिनेटमा फुटसल ५ धरानका कप्तान सन्दीप कार्कीले गोल गर्दै अग्रता घटाए ।

पहिलो हाफमा ३–१ ले अघि रहेको प्रभातफेरीले दोस्रो हाफमा समेत ३ गोल गर्दै फराकिलो जित निकालेको हो । २५औं मिनेटमा डोना थापाले गोल गरे । २६औं मिनेटमा विवेकले गोल गर्दै अग्रता फराकिलो पारे ।

खेलको ३०औं मिनेटमा फुटसल ५ का लागि नयल श्रेष्ठले गोल गर्नुनै फुटसलका लागि अन्तिम गोल रह्यो । उता प्रभातफेरीका लागि डोनाले ४०औं मिनेटमा व्यक्तिगत तथा छैटौं गोल गरे ।

प्रभातफेरीका धीरजले २३औं मिनेटमा रातो कार्ड पाउँदै बाहिरिए पनि फुटसल ५ धरानले त्यसको मौका भने उठाउन सकेन । २ मिनेटसम्म प्रभातफेरी ४ खेलाडीमा सीमित भएका थिए । खेलको ‘म्यान अफ दि म्याच’ प्रभातफेरीका आशिष डंगोल घोषित भए ।

जितसँगै प्रभातफेरी कुल ९ खेलबाट १० अंकका साथ तालिकाको आठौँ स्थानमा रहँदै लिग चरणबाट बाहिरिएको छ । प्रभातफेरीले ३ खेलमा जित, ५ खेलमा हार र १ खेल बराबरी खेलेको थियो ।

समान खेल खेलको फुटसल ५ धरानको भने १४ अंक रहेको छ । धरानले ४ खेलमा जित, ३ खेलमा हार र १ खेल बराबरी खेलेको थियो ।

दोस्रो खेलमा ढुकु फुटसल हबले झरना स्पोट्र्स क्लबलाई ५–३ गोल अन्तरले हरायो । जितसँगै ढुकुको ९ खेलबाट १३ अंक रहे पनि लिग चरणबाट बाहिरिएको छ । ढुकुले ४ खेलमा जित, ४ खेलमा हार र १ खेल बराबरी खेलको थियो ।

ढुकुको जितमा सुमन तामाङ, दावा दुक्पा शेर्पा, अमित लामा, प्रसिद्ध मगर र उर्केन शेर्पाले गोल गरे । झरनाका लागि गंगा गुरुङ, प्रवेश खनाल क्षेत्री र अमित गुरुङले गोल गरे । खेलको ‘म्यान अफ दि म्याच’ अमित लामा घोषित भए ।

प्रतिक्रिया दिनुहोस्