प्रचण्डको ‘इमोसनल ब्ल्याकमेलिङ’



  • पेशल आचार्य

‘माफ गर्नुहोला प्रचण्ड ! यहाँ राष्ट्रिय राजनीतिको कुनै बेला ‘किङ मेकर’ हुनुहुन्थ्यो तर अहिले समय र सन्दर्भले यहाँलाई ‘किङ फिसर’ जति पनि स्पेस दिएको छैन । त्यसैले आफ्ना पार्टीका नेता, कार्यकर्ता र भोटरहरूलाई आफ्नो पार्टीमा होल्ड गरिराख्नका लागि यहाँ केही न केही इमोसनल कुराहरू राष्ट्रिय राजनीतिमा फ्याँकिरहनुहुन्छ । यो यहाँको रहर नभएर बाध्यता हो भन्ने जनताले अब राम्ररी नै बुझिसकेका छन् ।’ यस्ता स्टाटसहरू फेसबुकमा आजकाल बग्रेल्ती पढ्न पाइन्छन् ।

देशको राजनीति यतिखेर कठिन मोडमा पुगेको छ । हुन त नेपालको राजनीतिमा हरेक ६ महिनामा अनेक खाले फन्डाहरू उत्पन्न गराएर केही न केही तरङ्ग उठिरहेकै हुन्छन् । यतिखेर कांग्रेस सत्तामा छ । ऊ जनादेश पाएर सत्तामा पुगेको होइन । एमाले उर्फ ‘ओमाले’ (ओली एमाले) का अध्यक्ष केपी ओलीका शब्दमा ‘परमादेशका शक्तिमा कांग्रेस सत्तामा पुगेको हो ।’ दुःखको कुरा हनिमुन पिरियड नाघिन केही दिन बाँकी रहँदासम्म गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डललाई समेत पूर्णता दिन नसकेर १७ वटा मन्त्रालयका भारीहरू एक्लैले बोकी हिँडिरहेका छन् । सत्ता साझेदारमध्ये एक उपेन्द्र यादवले ‘आफू सत्तामा जानका लागि इच्छुक नभएको’ औपचारिक समारोहमै भनिसके ।

कांग्रेस यतिखेर उसको पार्टीको वडा, नगर÷गाउँ र जिल्ला अधिवेशनको प्रसव वेदनामा छ । उसले संयुक्त राष्ट्र संघको महासभामा हालै नियुक्त भएका परराष्ट्रमन्त्रीलाई भाग लिन पठाएर विवादको सतहमा रहेको एमसीसीलाई बैठकबाटै ‘विना कुनै संशोधन एमसीसी पास गर्नुपर्ने’ भनेर निर्देशनात्मक आदेश जारी गरेका छन् । सो भनाइबाट उनकै पार्टीका केही राष्ट्रवादी नेतासाथै सत्ता गठबन्धनका नेताहरूसमेत तीन छक्क परेका छन् । यो कुराले दशैँपछि राजनीति केही गर्माउने छनक देखिएको छ ।

एमालेमा अहिले विधान महाधिवेशनको चटारो छ । देशैभरिबाट करिब ८ हजार विभिन्न तह, जिम्मेवारी र हाँचका नेता÷कार्यकर्ता राजधानी उतारेर उसले उद्घाटन गरेको झलकमा देखिएका केही तस्वीरहरूले अध्यक्ष केपी ओलीलाई उत्तर कोरियाली राष्ट्रपति किम जोन उनको सम्झना दिलाएको छ । विधान सम्मेलनमा वितरित मिनरल वाटरका बोतलमा एमालेको झन्डा, चुनाव चिह्न सूर्य र ओलीको तस्वीर यतिखेर निकै भाइरल बनेका छन् ।

हुन त सोह्रश्राद्धमा समेत मासुका परिकारहरू खुवाएको घटना आलोचनाका सिकार नबनेका होइनन् तर धर्म र संस्कृतिमा जहिल्यै ‘आलोचनात्मक समर्थन’ को भाष्य राखेर उम्किने एमालेको त्यत्रो खर्च र उन्मादी तामझाम आलोचनाको सिकार भैसकेको छ । असल शासनका अभियन्ता केदार खड्काले ‘सो प्रकारको महाधिवेशनको खर्चको स्रोत के हो ?’ भनेर प्रश्न उठाइसके । हुन त नेपालका ‘ठालु पार्टीहरू’ लाई त्यस्ता प्रश्नहरूका ठाँगेले कहिल्यै छुँदैनन् । जुन पार्टीले पटक–पटक सरकारमा जाने अवसर पाइसकेको हुन्छ उसले मौकामा अकूत धनराशि जमाएर राखिसकेको हुन्छ । अहिले त झन् मुलुकमै सबैभन्दा धनी पार्टीका रुपमा एमाले भनेर चिनिन्छ ।

प्रचण्डको रोइलो छुट्टै छ । केही दिनअघि उनले भने– ‘मेरा पार्टीका उनन्चासै जना सांसद मन्त्री बन्न लालायित छन् ।’ फेरि गत शुक्रबार उनले माओवादी विद्यार्थी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै ‘आफू आत्महत्याको स्थितिमा पुगिसकेको, दुश्मनहरूले आफूहरूलाई चारैतिरबाट घेरा हालिसकेको र सो घेरा तोड्नका लागि कुनै तागत बाँकी नरहेकाले अब ‘करो या मरो’को स्थितिमा आफू रहेको’ कुरा बताएका छन् । उनले भारतीय क्रान्तिका नायक चन्द्रशेखर आजादसँग आफ्नो अहिलेको स्थिति तुलना गर्दै विरक्तिको भाव प्रदर्शन गरेका छन् ।

नेपाल समयका जानेमाने पत्रकार माधव बस्नेत लेख्छन्– ‘रिस, आवेग, पूर्वाग्रहले होइन, उनको स्वभाव नियाल्दा प्रचण्डले आत्महत्या गर्न सक्छन् वा बेला–बेलामा आत्महत्याबारे पक्कै सोच्छन् भनेर मैले झन्डै १३ वर्षअघिदेखि निकट साथीहरूसँग भन्ने गरेको थिएँ । आज उनले आफ्नै मुखबाट ओकलेछन् । माओवादी आन्दोलनलाई निष्ठा र सादगीपूर्ण बनाएका हुन्थे भने प्रचण्डले अवश्य नै यस्तो सोच्नुपर्ने/बोल्नुपर्ने अवस्था आउने थिएन । मेरो जीवनको सर्वोत्तम महत्वपूर्ण दिनहरू माओवादी आन्दोलनमा बितेकाले त्यसले हजारौंको सपना, रगत–पसिना, यातना, चोट बर्बाद नपारोस् भन्ने लाग्छ । तर के गर्नु ? लोक उखान छ, भिरबाट लड्ने गोरुलाई राम राम भन्न सकिन्छ, काँध थाप्न सकिन्न ।’ यति खरो शैलीमा एउटा पूर्वमाओवादी लडाकूले बोलिसकेपछि बाँकी केही भनिरहनु परोइन ।

हिजो एमालेसँग एकता गरेर चुनावमा दुई तिहाइनजिक मत ल्याएर ओलीलाई सत्ताको शिखरमा पु¥याउने प्रचण्डले तीन वर्ष पुगेपछि ओलीलाई माधव नेपालसँगको साँठगाँठमा जसरी सत्ताबाट हटाए त्यसले भोलि माधव नेपाल र प्रचण्डहरूको पुनः पार्टीमा लठनगाँठो नबाँधिएला भन्न सकिन्न ।

देउवाको सरकारका पिलरहरूमध्येका प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवहरूले आज मन्त्रीको नाम पठाउन नसकेर सरकार पूर्ण हुन पाएको छैन । जति–जति सरकार पूर्ण हुने समयबाट चिप्लिँदै छ उति–उति कांग्रेसलगायत अन्य गठबन्धनका पार्टीहरूको क्रेडिट माइनस भैरहेको देखिन्छ । यो हिसाबकिताब भोलिको चुनावमा देखिने प्रचुर सम्भावना रहेको छ ।

विश्लेषक केशव भट्टराई लेख्छन्– ‘बिजुलीको सवाल, चीनसँग महँगो ब्याज तिरेर ट्रान्समिसन बनाउने तर अमेरिकाको अनुदानमा ट्रान्समिसन नबनाउने कुरा अनि अरुण ३ को विगत–वर्तमान र हाम्रा महान् राष्ट्रवादी र क्रान्तिकारीहरू अनि हिन्दू राष्ट्र र राजसंस्थाको कुरा । यो वर्ष १८.८७ अर्ब रुपियाँको बिजुली खेर गयो । अबको पाँचौँ वर्षमा मात्रै प्राधिकरणलाई १३५ अर्ब रुपियाँ नोक्सानी हुन्छ । नेपालले चिनियाँ ब्याङ्कसँग झन्डै ३ प्रतिशत ब्याज बुझाउने गरी (राष्ट्रहरूलाई दिइने ऋणमा यो अत्यधिक ब्याज हो) ११२ मिलियन ऋण लिएर प्रसारण लाइन बनाउँदै छ । तर अमेरिकाले प्रसारण लाइन नै बनाउनका लागि ५०० मिलियन अनुदान दिँदा नेपालका महान् क्रान्तिकारी र राष्ट्रवादीहरू अमेरिकाको खोइरो खनेको खन्यै छन् । कम्युनिस्ट मित्रहरूले त्यो जमानामा अरुणको विरोध गरेर त्यत्रो ठूलो परियोजनालाई खारेज गराए, अहिले त्यही अरुणको काम आफैँले नेहोरा गरी–गरी भारतलाई सुम्पिएका छन् ।’

जनता समाजवादीका नेता तथा राजनीतिक विश्लेषक डम्बर खतिवडा लेख्छन्– ‘कमरेड प्रचण्डले भन्नुभएछ ‘म त नेतृत्व छोडिदिन्थेँ तर साथीहरूको छाँट छैन । ४० वर्ष नेतृत्व गर्दा एउटा छाँट भएको साथी जन्माउन, फेला पार्न, तयार गर्न नसक्ने कति बाँझो पार्टी र आन्दोलन रहेछ त्यो ? त्यस्तो अनुर्बर पार्टी र आन्दोलनमा युवा, विद्यार्थीको के भविष्य होला ? उल्टै ताली ? किन ताली पिटेको होला ? आजन्म प्रचण्डलाई नेता मान्न पाइयोस् हामी अरु कोही कहिल्यै नेता हुन नसकूँ, नपाऊँ भनेर ? जुन पार्टी र आन्दोलनले निरन्तर नेतृत्वपंक्ति निर्माण र हस्तान्तरण गर्दैन, त्यसको कुनै भविष्य हुँदैन ।’

प्रकारान्तरले हेरी ल्याउँदा यतिखेर प्रचण्ड मात्र होइन, देउवा आफ्नो पार्टीको अवस्था र आफ्नो भूमिका देखेर विरक्त भएका हुनुपर्छ । उनले अब चलाउने भनेको १४ महिना हो । त्यसपछि तीनवटै तहको चुनाव गराएर आफ्नो पार्टीको बहुमत आए पनि आफू अहिले भैरहेको पार्टीको चुनावमा सभापतिमा नजितेका खण्डमा सरकार र पार्टी दुवैतिरबाट बिदा लिनुपर्ने हुन्छ । यो कुरा उनले राम्रोसँग बुझेका छन् । तर कांग्रेस पार्टीमा अहिलेसम्म चुनावमा हारेर शान्तिपूर्ण ढंगले सरकार वा पार्टी हस्तान्तरण गरेको इतिहास छैन । अब उनले नयाँ इतिहास रच्छन् या पुरानैमा टेकेर काम गर्छन्, त्योचाहिँ हेर्न बाँकी छ ।

हिजो पनि संघीय चुनाव गरेर बहुमत नेकपाको आएपछि किस्तीमा राखेर सरकार बुझाउने पात्र उनै देउवा थिए भने १४ महिनापछि हुने चुनावमा सोही दोहोरिएर पुनः सत्तालाई किस्तीमा राखेर बुझाउनेमा देउवा नै नपर्लान् भन्न सकिन्न । यो पाँच वर्षका लागि जनताले साँच्चै भन्ने हो भने प्रतिपक्षमा बस्नका लागि जनादेश दिएका थिए तर च्याँखे परेर नचाहँदा नचाहँदै कांग्रेस सत्तामा जानुपरेको हो । यो अवसरका पछाडि प्रचण्ड र ओलीका गोप्य भनिएका समझदारीहरू एक–अर्काले पालना नगर्नु र माधव नेपालहरूलाई सो पार्टीमा पिना पेलेझैँ गरी पेलेर विद्रोह गर्न बाध्य पार्नु नै मुख्य कारक तत्व रहेको छ ।

कोरोना, दशैँ–तिहार र एमसीसीले वातावरण तताएको माहोलमा समेत कांग्रेसको अधिवेशन, एमालेको विधान महाधिवेशन, माओवादीको विद्यार्थीहरूको महाधिवेशन, राप्रपाका जिल्ला अधिवेशन र नेकपा एसका जिल्ला–जिल्लामा पार्टी कार्यालय र जिल्ला कमिटी गठनका नाममा सबै पार्टीहरूले आ–आफ्ना भोटर, कार्यकर्ता र नेताहरूलाई होल्ड (रोकिराख्ने) नीति अख्तियार गरेका छन् । यो भने अहिलेलाई देशैभरि दर्शनीय रहेको छ । यसले समाचार कारखानालाई समेत प्रशस्त मसला उत्पादन गरिरहेको छ । समयको सुई आफ्नै रफ्तारमा बहेको छ । अहिले सबै पार्टीहरूमा युवा पुस्ताको चहलपहल बढेको छ । यो भनेको भोलिको नेपालमा जो जुन पार्टी सरकार चलाउनका लागि ड्राइभिङ सिटमा आए पनि नौजवानहरूले नयाँ तरिकाले सरकार चलाउने हुन् । यसमा कांग्रेस, एमाले, माओवादी, एमाले एस, जसपा, राप्रपा र विवेकशील साझा जो आए पनि जनताको मन जिती मत पाएर आउँदा केही आपत्ति भएन । तर नयाँ सोच र समझका साथ आउनुप¥यो ।

यतिखेर भने सजपा नेता डा.बाबुराम भट्टराईले एमालेको विधान महाधिवेशनमा ओलीका बडेमानका पूर्णकदका शालिकलाई देखेर भनेको व्यङ्ग्यात्मक भनाइ बजारमा हिट भएको छ– ‘खड्गप्रसादको कुम्भमेला निभ्ने बेलाको बत्ती हो । लुटको धन फुपूको श्राद्ध गरेर सोझा जनतालाई केही समय भ्रममा पार्न सकिएला तर अन्त्यमा देशले ठूलो मूल्य चुकाउनुपर्नेछ । नक्कली राष्ट्रवाद, नृजातीय अहंकारावाद, पपुलिजम र व्यक्ति पूजाको ककटेलले अन्तः स्टालिन, हिटलर र फासीवाद जन्माउने हो ।’

राजधानीको चक्रपथदेखि ८ किलोमिटर दक्षिण ललितपुरको गोदावरीमा शुक्रबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा उद्घाटन भएको सो विधान महाधिवेशनमा ओलीलाई मात्र प्रमोट गर्ने खाले पोल–पोलका फ्ल्याक्स, शालिक र पानीका बोतलमा टाँसिएका स्टिकरले यो पार्टी व्यक्तिपूजक पार्टीका रुपमा रुपान्तरण हुँदै गएको भान हुन्छ । यसले ढिलोचाँडो तानाशाह जन्मिने आशंका प्रबलरुपमा रहन्छ ।

प्रतिक्रिया दिनुहोस्