२१ वटा रिट निवेदनको सुनुवाइ स्थगित



काठमाडौं, (नेस) ।

कर्मचारी समायोजनसँग जोडिएका २१ वटा रिट निवेदनको सुनुवाइ सर्वोच्च अदालतले स्थगित गरेको छ । बिहीबारका लागि मुद्दाको पेसी तोकिएकोमा सर्वोच्च अदालत प्रशासनले सबै मुद्दाको सुनुवाइ एकसाथ स्थगित गरेको हो ।

आफूहरूलाई सरकारले गलत ढंगले समायोजन गरेको दाबी गर्दै कर्मचारीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले उनीहरूलाई संघमा नै राख्नू भनी अन्तरिम आदेश दिएपछि नयाँ कर्मचारी पदपूर्ति प्रक्रिया अवरुद्ध भएको छ ।

सर्वोच्च अदालतले समायोजन उल्टिएका कर्मचारीको सिट सुरक्षित गरेर मात्रै नयाँ भर्ना गर्नू भनी आदेश दिएपछि लोकसेवा आयोगले शाखा अधिकृतहरूको नतिजा रोकेको छ भने अरू परीक्षा पनि स्थगित गरेको छ ।

पुराना कर्मचारीको समायोजनले आफूहरूको सेवा प्रवेश गर्ने अवसर अवरुद्ध भएको भनी परीक्षा दिएका कर्मचारीले समेत सर्वोच्च अदालतमा मुद्दा हालेका छन् । सर्वोच्च अदालतले ती सबै निवेदनको एकमुष्ट सुनुवाइ हुनुपर्ने भन्दै तीन सदस्यीय पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्