आजबाट अनुगमन शुरू



ईश्वराज ढकाल, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले चाडबाड शुरू हुन लाग्दा बल्ल अनुगमन थालेको छ । महानगरको अनुगमन समिति प्रमुख एवं उपप्रमुख हरिप्रभा खड्गीले वर्षेनी अनगमन गर्न निर्देशन दिँदा समेत महानगरको कृषि विभागले जनशक्ति र उपकरण अभावलाई कारण देखाउँदै वर्षमा एकपटक मात्र अनुगमन गर्ने गरेको छ ।

महानगरले आजबाट विभिन्न अनुगमन समिति बनाएर अनुगमन गर्ने जनाएको छ । विभागले हिजो गुणस्तर तथा नापतौल विभागसँग छलफल गरी आजबाट दु्रतरूपमा अनुगमन गर्ने जनाएको छ । कामपा कृषि विभाग प्रमुख हरि भण्डारीले केही दिन आन्तरिक समस्या भएकाले अनुमगन गर्न नसकिएको बताउँदै आजबाट नियमित अनुगमन गर्र्ने जानकारी दिनुभयो ।

महानगरले खाद्य भण्डार, तरकारी तथ फलफूल, मासु पसललगायतमा अनुगमन गर्नेछ । ‘हामीले आजबाट तिहारसम्म अनुगमन गर्नेछौं ।’ –भण्डारीले भन्नुभयो । कामपाले संघीय सरकारसँग छलफल गरी संयुक्तरूपमा अनुगमन गर्न थालिएको उहाँको भनाइ छ ।

कामपाको विभागले विभिन्न ५ टोली बनाएर अनुगमन गर्ने तयारी गरेको छ । कामपा उपप्रमुख एवं अनुमगन समितिका संयोजनक खड्गीले अब दैनिकजसो अनुगमन गरी तत्काल कारबाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘जरिवाना गरी कारबाही गर्ने अधिकारी महानगरपालिकालाई भएकाले तत्काल जरिवाना गर्ने तयारी गरेका छौं ।’

चाडबाडमा अखाद्य वस्तु प्रयोग गर्नबाट रोक्न र नियमविपरीत काम गर्नेमाथि तत्काल कारबाही गर्न अनुगमनलाई तीव्र बनाउन लागिएको उहाँको भनाइ थियो । अनुगमन टोलीले राजधानीका मुख्य बजार, चाडबाड लक्षित राखिएका बिक्री केन्द्र, कालीमाटी र बल्खु तरकारी बजार, वडा–वडामा राखिएको सस्तो बजारलगायत स्थानमा अनुगमन गर्नेछ ।

विशेष गरी, चिनी, तेल, पीठो, गेडागुडी, तरकारीमा हुने कालोबजारी र मिसावट रोक्न अनुगमन गर्न लागिएको कृषि विभाग प्रमुख भण्डारीले जानकारी दिनुभयो । उहाँका बिहान, दिउँसो र बेलुकी गरी तीन चरणमा अनुगमन गर्ने तयारी छ ।

महानगरको बोर्डको बैठकले बजार अनुगमन गर्न निर्देशन दिएलगत्तै समितिले अनुगमन थालेको हो । ‘अब करिब एक महिना अनुगमन गर्नेछौँ । चाडबाड सकिनासाथ पुनः अनुगमनलाई निरन्तरता दिने तयारी गरिरहेका छौं ।’ –उपप्रमुख खड्गीको भनाइ थियो । कामपाले चाडबाडमा मात्रै अनुगमन गर्छ भन्ने मान्यता हटाउन वर्षभरि अनुगमन गर्न निर्देशन दिएको उपमेयर खड्गीले बताउनुभयो ।

खाद्यवस्तुको अनुगमन गर्ने अधिकार स्थानीय तहलाई भएपछि सबै सरोकारवालाको सहभागितामा अनुगमन गर्न लागिएको महानगरको भनाइ छ । कामपाले आजबाट अनुगमन शुरु गरेलगत्तै दैनिक कारबाही गरेका व्यापारीको सूची सार्वजनिक गर्नेछ ।

चौपायाको छुट्टै अनुगमन

कामपा कृषि विभागले दशैंमा उपत्यका भित्रिने खसी बोका, भेडा, च्याङ्ग्रा, राँगालगायत चौपायाको छुट्टै अनुगमन गर्ने भएको छ । कृषि तथा पशुपक्षी विभागसँग छलफल गरी सो अनुगमन गर्न लागेको जनाएको छ ।

घटस्थापनाको दिनदेखि चौपायाको अनुगमन गर्ने तयारी भइरहेको कृषि विभाग प्रमुख हरि भण्डारीले जानकारी दिनुभयो । उहाँले घटस्थापनादेखि नवमीसम्म चौपायको अनुगमन गर्ने तयारी भइरहेको बताउनुभयो ।

महानगरपालिकाले गठन गरेको पशु चिकित्सकसहितको टोलीले खसीबोकालगायत चौपायाको स्वास्थ्य परीक्षण गरेर बिक्री–वितरण गर्ने तयारी थालेको छ । टोलीले कलंकीको खसी बजार, फर्पिङ, कोटेश्वर, टुकुचा, बालाजुलगायत क्षेत्रमा चौपाया परीक्षण गर्ने भएको छ ।
टोलीले विगत वर्षजस्तो स्वस्थ चौपायाको सिङमा हरियो, रोगी चौपायको सिङमा रातो रङ लगाउने व्यवस्था गर्ने भएको छ । अनुगमन टोलीले खसीबोका भित्रिने थानकोट नाकामा समेत टोली परिचालन गर्ने तयारी गरेको छ ।

कामपासहित केन्द्रीय टोलीले नगर प्रहरी, नेपाल प्रहरी, पशु चिकित्सक, व्यवसायीसहितको टोली बनाउनेछ । ‘उपत्यकावासीलाई ताजा मासु खुवाउने व्यवस्था गर्न यो वर्ष पनि चौपाया अनुगमनलाई विशेष महत्व दिएका छौं ।’ –उपप्रमुख खड्गीले भन्नुभयो । टोलीले थापाथलीस्थित बिक्री केन्द्रका चौपायाको समेत स्वास्थ्य परीक्षण गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्