प्रतिस्पर्धासँगै रेलको कन्टेर ढुवानी भाडा घट्यो



कृष्णउदास खनाल, वीरगन्ज ।

भारतीय बन्दरगाहबाट नेपालका लागि हुने कन्टेनर ढुवानीमा भारतीय निजी रेल कम्पनीले सेवा शुरू गरे लगत्तै त्यसअघि ढुवानीमा एकाधिकार जमाएको भारतीय सरकारी रेल कम्पनीले कन्टेरको ढुवानी भाडा स्वात्तै घटाएको छ । नेपाल–भारत रेलसेवा सम्झौता संशोधन भएर पहिलोपटक निजी रेल कन्टेनर बोकेर वीरगन्ज सुक्खा बन्दरगाहमा भित्रिएकै दिन भारतीय कन्टेनर निगम कोन्करले कन्टेनरको भाडा घटाएको हो ।

तीन महिना अघि मात्रै भारतीय निजी रेल सेवा प्रदायक र नेपाल रेलवे कम्पनीले ढुवानी गर्न सक्नेगरी सम्झौता संशोधन भएको थियो । सोही संशोधन सम्झौता अनुसार हिन्द टर्मिनलको रेल भारतको हल्दिया बन्दरगाहबाट कन्टेनर लिएर वीरगन्ज सुक्खा बन्दरगाहमा आइपुगेको हो । कोन्करले जारी गरेको सूचनामा कोलकाता बन्दरगाहबाट वीरगन्जसम्मको प्रतिकन्टेनर भाडा ३१ देखि ३७ प्रतिशतसम्म घटाएको उल्लेख छ । त्यस्तै हल्दिया बन्दरगाहबाट हुने ढुवानीमा पनि कोन्करले कन्टेरको भाडादर २५ देखि ३१ प्रतिशत उल्लेख्य घटाएको छ । कोन्करले तत्कालै लागू हुने भन्दै भाडादर पुनरवलोकनको सूचना निकालेको हो । सन् २००४ को रेलसेवा सम्झौताले भारतीय रेलवेको सहायक कम्पनी कोन्करलाई एकाधिकार दिएको थियो ।

वीरगन्ज सुक्खा बन्दरगाहसम्म भारतीय रेलवेले रेलमार्ग बनाइदिएको थियो । कोन्करको एकाधिकारका कारण रेल भाडामा मनपरी भइरहेको भन्दै नेपालको निजी क्षेत्रले सम्झौता संशोधनको माग गर्दै आएको थियो । निजी रेल कम्पनीले सेवा शुरू गरे लगत्तै भाडा घटाउनुले विगतमा कोन्करले नेपालका लागि कन्टेनर ढुवानीमा मनपरी भाडा लिएको पुष्टि भएको व्यवसायीहरूले बताएका छन् । निजी सेवा प्रदायकको प्रवेशसँगै ढुवानी भाडा घट्नु नेपालको वैदेशिक व्यापारका लागि सकारात्मक भएको कोलकत्तास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्