विवादित एमसीसी : सोच बदलौँ सरकार



  • रमेशकेशरी वैद्य

हाम्रो मुलुक एउटा यस्तो मुलुक हो, जहाँ हरसमय कुनै न कुुनै विषय लिएर राजनीतिक वृत्तमा झगडा भइराखेको हुन्छ । यसको बदलामा दैनिक विकासका कुराहरुलाई लिएर अघि बढेको भए लोकतन्त्रको आनन्द आउँथ्यो होला तर हाम्रो देशमा यो सपना कहिल्यै पूरा भएन । आर्थिक हिसाबले हामी सक्षम भए पनि अहिले मुलुकमा एमसीसी (मेलिनियम च्यालेन्ज कर्पोरेसन) विवादित विषय बनेको छन् । सर्वप्रथम त देश गरिब भनौं या मन गरिब भनौं, यो नै मुलुकको ठूलो विडम्बना हो । देश गरिब भनौं भने अर्ब–खर्ब रुपियाँ मुलुकमा नभएको होइन । मन गरिब भनौं भने प्रायः मानिस खुशी नै देखिन्छन् तर देशमात्र द्रुत विकास हुन सकेन ।

एउटा अचम्मका कुरा के छ भने, हाम्रो देशमा जतिसुकै धन भए पनि यसको सदुपयोग राम्ररी गर्न सकिराखेको छैन, मुलुक चलाउनेहरुले गर्दा । चाहे जुनसुकै सरकार होस्, जब देशमा यत्रो रकम छ भने यसको सञ्चालन राम्ररी गरेर देशलाई अति विकसित मुलुक किन नबनाउने ? यस्तो बेला हामीलाई न चीनको प्रलोभन चाहिन्छ, न भारतको नक्कली दाजुभाइको नाता चाहिन्छ । न एमसीसीको नै जरुरत छ । एमसीसी एउटामात्र किन ? अहिलेको परिप्रेक्ष्यमा कुनै ठूला मुलुकहरुको धापको जरुरत छैन जस्तो लाग्छ । अहिले एमसीसीको विरोधमात्र किन ? यसै गरी मुलुकमा भइराखेको व्यापक भ्रष्टाचार र चुहावटको कुरालाई लिएर किन निरन्तर विरोध नगर्ने ? यदि गरेको भए खै त रोकियो देशको भ्रष्टाचार नेताहरुको मनोमानी ? रोकियो त द्रुत विकास । यसबाहेक खोइ बन्यो मुलुकमा कडा कानुन ?

एमसीसी भन्ने अमेरिकाको प्रोजेक्ट सहयोग राम्रो हो वा नराम्रो, हामीलाई अझ राम्ररी थाहा छैन । सुनेअनुसार एउटा लिखित सम्झौता छ, अर्को गोप्य सम्झौता छ । यसले गर्दा जनता भ्रममा पर्नु स्वाभाविक हो । एमसीसी एक हिसाबले राम्रो होला, अर्कोतर्फले हेर्दा यसमा स्वार्थ लुकेको पनि होला, अथवा नहोला । त्यसैले विज्ञहरु बसेर छिटोभन्दा छिटो यसको छिनोफानो सरकारले लिन सक्नुपर्दछ । हाम्रो मुलुकमा रकम भएर पनि ठूला–ठूला विकासका कामहरु रोकिएर बसेका छन्, हाइड्रोपावर, फास्ट ट्रयाक, फोहोर व्यवस्थापन, नेपाल वायु सेवाको स्तरोन्नति तथा राजमार्ग, कृषि, उद्योग आदिका दु्रत विकास प्रायः पेन्डिङ भएर बसेका छन् । राजनीतिक कलह र गुटबन्दीले गर्दा पनि यी कुरालाई असर गरी राखेको छ ।

मुलुकका बारेमा आलोचना गर्नु, विरोध गर्नु, खण्डन गर्नु राम्रो कुरा हो । यसरी नै देशका खराब तत्वहरुको बिस्तारै फिल्टर हुँदै जाने हो । यसको लागि हामी पनि सक्षम हुनुप¥यो तर यहाँ हरेक पक्षहरुमा आफ्नै स्वार्थ लुकेको छ । कोही भन्दा कोही कम छैन । यस्तो बेला एक–अर्कालाई मात्र दोष दिएर के औचित्य आयो त ?

संसारका हरेक साना मुलुकहरुका आफ्नै समस्या छन् । ठूलो माछाको अगाडि सानो माछाजस्तै भएर बस्नुपर्ने हुन्छ । सकभर सानो माछा भएर ठूलो माछाको मुखनजिक गइराख्नुहुँदैन, अन्यथा सधैँ ठूलो माछाले सानो माछालाई खाने डर हुन्छ । अर्थात् ठूला मुलुकको अगाडि हामी डराएर बस्नुपर्ने हुन्छ ।

यो देशको दुर्भाग्य नै भौगोलिक अवस्था, समुद्रविनाको मुलुक र धुर्त छिमेकीहरु हुनु हो । जेसुकै भए पनि हाम्रो मुलुक स्वाभिमानी मुलुक नै हो । जसरी सानो खुर्सानी पिरो हुने गर्दछ, त्यसरी नै हाम्रो मुलुक सानो भए पनि कसैको दास नभई मजबुत भएर बसेको छ । बेला–बेलामा केही छिमेकी देशहरुले थिचोमिचो गर्ने प्रयास गर्दछन् तर यसमा हाम्रो सरकारहरुकै कमजोरीपना हो ।

समयको मागअनुसार अहिले हाम्रो मुलुक पनि केही गर्न सक्ने भएको छ । हामीले सधैँ अरु मुलुकको मुख ताकिराख्नुभन्दा विकासको हिसाबले थप आयस्रोत आर्जन गर्ने मुलुक बनाउनेतर्फ हामी आफैंले प्रयास गर्नु जरुरी छ । खाली यसको लागि नेता, सांसद, सरकारी प्रशासन, समाज आदि आ–आफ्नै हिसाबले परिवर्तन हुनु र योगदानको जरुरी छ । तर दुःख लाग्दो कुरा यो छ कि हामी परिवर्तन हुने प्रयास नै गर्दैनौं । अन्यथा यो मुलुकमा कृषि, उद्योग, पर्यटन, जलविद्युत्जस्ता कुराहरुको विकास हुन समय नै लाग्दैन । यी कुराहरुको विकास नै देश मजबुत हुनु हो र यतिमात्र हुनसके पनि छिमेकी मुलुकले हामीलाई हेप्दैनथे ।

अकिले एमसीसीविरुद्ध व्यापक विरोध भइरहेको छ । यसै गरी देशमा भइराखेको राजनीतिक कलह, गुटबन्दी, भ्रष्टाचार, राष्ट्रधनको दुरुपयोगलाई लिएर पनि आवाज उठाउन जरुरी छ । यी कुराहरुले नै मुलुकलाई सही ट्रयाकमा ल्याउनेछ । हुन त राजनीतिक कलह हरेक मुलुकमा हुन्छ । यहाँ पनि हुनु स्वाभाविक हो । यस्तो राजनीतिक लडाइँ आफ्नो ठाउँमा छ, द्रुत विकास आफ्नो ठाउँमा छ । अर्को कुरा, जसले जे भने पनि नेताहरुले यो मुलुकमा लोकतन्त्र, गणतन्त्र, संविधान, संघीयता सबै कुरा ल्याए । जनताको सुख–शान्तिको लागि फिल्टरमात्र हुन सकेन ।

यहाँको कुनै न कुनै समस्यालाई लिएर औसतमा आमनागरिक त्यति खुशी देखिंँदैनन् । यी कुराहरुलाई सम्झेर देश चलाउनेहरुले आफ्नो सोचलाई बदल्नु जरुरी छ । यसको लागि सरकारले विज्ञहरु च्यापेर राष्ट्रधनलाई राम्ररी खेलाउन जान्नुपर्दछ । यतिमात्र होइन, कुनै पनि सरकारले सधैँ सहयोग लिनेमात्र संस्कार अपनाउनुहुँदैन । राम्रो नीति र नेतृत्व अपनाउने हो भने मुलुक आफैँ समृद्ध हुनेछ ।

अन्त्यमा एकपल्ट फेरि भन्नुपर्दा अहिलेको लागि भ्रष्टाचार, धेरै सांसद, मन्त्री, सचिव, बेरुजु रकम, सरकारी भत्ता, विलासिता आदि कम गरेर राष्ट्रधनलाई सही ठाउँमा लगानी गर्ने हो भने हामीले कुनै विदेशीको मुख ताक्नुपर्ने जरुरत छैन । यसले गर्दा युवा पुस्ताको भविष्य उज्ज्वल हुनुको साथै सबै नेपालीको सपना साकार हुनेछ । यसमा सत्तापक्ष र प्रतिपक्ष दुवैको उत्तिकै योगदानको खाँचो छ । यदि यो प्रणाली अपनाउने हो भने संसारमा असम्भव भन्ने कुरा केही छैन ।

प्रतिक्रिया दिनुहोस्