३५ वर्षपछि घर फर्केका लामिछानेले लिए नागरिकता



अमृत अर्याल, स्याङ्जा ।

‘मलाई पत्यारै लागिरहेको छैन, सपनाजस्तै लागिरहेको छ ।’ –हातमा नेपाली नागरिकताको प्रमाणपत्र लिएका एक उमेर ढल्केका व्यक्ति बोलिरहँदा नजिक रहेका अन्य मानिसहरु ट्वाल्ल परेर हेरिरहेका थिए । ढाका टोपी र पातलो ज्याकेट लगाएका र हातमा भर्खरै पाएको नागरिकताको प्रमाणपत्र लिएका पुरुषको विगत धेरैलाई थाहा थिएन ।

३५ वर्षसम्म हराएका वालिङ–५ का शोभाकान्त लामिछाने ४८ वर्षको उमेरमा नेपाली नागरिकता लिएपछि निक्कै उत्साहित दखिनुहुन्थ्योे । आफ्नो भाइ रमेश लामिछानेका साथ नागरिकता लिन बिहान १० नबज्दै शोभाकान्त इलाका प्रशासन कार्यालय वालिङ पुग्नुभएको थियो ।
वडा कार्यालयको सिफारिस बोकेर प्रशासन पुगेका लामिछानेले निवेदन पेस गरेपछि त्यहाँ रहेका कर्मचारीहरु हेराहेर गरे, शाखाका कर्मचारी भन्छन्– ‘शुरुमा उहाँ (शोभाकान्त) लाई हामीले चिनेनौं र किन यति उमेरमा पहिलोपटक नागरिकता लिन आएको होला भनेर एक–आपसमा कुरा ग¥यौं ।’ उहाँको भाइले ‘मेरो दाइ ३५ वर्ष हराएर आएको हो के, धेरै कुरा गर्न जान्नुहुन्न’ भनेपछि त्यहाँका कर्मचारीहरुले कुरा बुझे र कागजाज सहित शोभाकान्तलाई लिएर कार्यालय प्रमुख नवराज बराल भएको कार्यकक्षमा पुगे । प्रमुख बराल पनि एकछिन अलमल पर्नुभयो र कागजाज दुई÷तीनपटक हेर्नुभयो, उहाँले कागजाज हेर्दाहेर्दै कागज ल्याउने कर्मचारीले भनिहाले– ‘उहाँ त ३५ वर्ष हराएर आएको रे, पहिलोपटक नागरिकता लिन आउनुभएको ।’ कार्यालय प्रमुख बरालले दाजुभाइलार्ई नै सोफामा बस्न आग्रह गर्नुभयो । लामो समय हराएर घर आए रे भन्ने समाचार सुन्नुभएका प्रमुख बरालले कसरी हराउनुभयो? कसरी घरको ठेगाना खोज्न सक्नुभयो? भन्ने जस्ता प्रश्न सोध्न थाल्नुभयो । प्रश्नको उत्तर दाजुले भन्दा भाइले नै दिनुभएको प्रमुख बरालले बताउनुभयो ।

कागजात सम्पूर्ण पूरा भएको देखेपछि बरालले शाखाका कर्मचारीहरुलाई तत्कालै नागरिकता प्रदान गर्ने तयारी गर्न निर्देशन दिनुभयो । सेवा लिन आएका अन्य सेवाग्राहीले पनि उहाँलाई छिटो नागरिकता दिन खोज्दा कुनै अवरोध गरेनन् । निक्कै छोटो समयमा कार्यालय प्रमुख बरालले शोभाकान्त लामिछानेलाई नागरिकता प्रदान गर्नुभयो । नागरिकतामा जन्ममिति २०३० साल ७ महिना २१ गते उल्लेख छ । उहाँकी आमा हिमाका अनुसार शोभाकान्त त्यही मितिमा जन्मनुभएको हो ।

आफ्ना बुबासँग उपचारका क्रममा शोभाकान्त १०/११ वर्षको उमेरमा दिल्ली पुग्नुभएको थियो । पिसाबमा समस्या देखिएपछि दिल्लीमै उपचार गर्ने र उतै अध्ययन गर्ने सोचसहित बुबासित गएका शोभाकान्त लामिछाने (सुकुन्त शर्मा) लाई सामाजिक सञ्जालमार्फत काभ्रे जिल्लाको बनेपास्थित एक होटलमा काम गरिरहेको रहस्य खुलेपछि गत महिना परिवारले सम्पर्क गरेर घर ल्याएका हुन् ।

सानोे उमेरमा बुबासँगै दिल्ली गएका बेला चिनेकै मान्छेले काममा लगाइदिन्छु भनेर लगेको र त्यही बेलादेखि नै सम्पर्कमा नभएको शोभाकान्तको परिवारले जनाएको छ । उहाँ बेपत्ता भएपछि खोजबिनका लागि धेरै कसरत ग¥यौं’, उहाँका भाइ रमेशले भन्नुभयो– ‘हामी युवा हुँदा आमाले खोज्न जाओ भनेर पठाउनुहुन्थ्यो ।’ आफूहरुले भारत तथा नेपालका धेरै ठाउँमा खोजी गरेको भए पनि पत्ता लगाउन नसकेको भाइको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्