जोकोभिचको चारै ग्रान्डस्लाम जित्ने सपना चकनाचुर



न्युयोर्क, (एजेन्सी) ।

नोभाक जोकोभिचको एकै क्यालेन्डरमा चारै वटा ग्रान्डस्लाम जित्ने सपना चकनाचुर भएको छ । आइतबार राति न्युयोर्कमा भएको यूएस ओपन फाइनलमा जोकोभिच पराजित भएका हुन् । सर्बियाली खेलाडीको एकै वर्षमा चारवटा ग्रान्डस्लाम जित्ने ठूलो अवसर बनेको थियो । तर, उनका लागि खलनायक बनिदिए रुसका डानिल मेदभेदेभ । मेदभेदेभले जोकोभिचलाई सीधा सेटमा ६–४, ६–४, ६–४ ले हराएका थिए ।

अघिल्ला दुई ग्रान्डस्लाम फाइनल हारेका २५ वर्षीय मेदभेदेभले तेस्रो ग्रान्डस्लाम फाइनललाई भने स्वर्णिम बनाए । उनको यो करियरको पहिलो ग्रान्डस्लाम उपाधि हो । यसअघि, उनी जोकोभिचसँग यसै वर्ष भएको अस्टे«लियन ओपन फाइनलमा पराजित भएका थिए । यसअघि, सन् २०१९ मा उनी युएस ओपन फाइनलमा राफाल नाडालसँग हारेका थिए । तर, यसपटक भने जोकोभिचको चुनौती उनले सहजै पार गरेर उपाधि हासिल गरे ।

जोेकोभिचका लागि यूएस ओपन जितेर इतिहास बनाउने अवसर थियो । उनी दुईवटा कीर्तिमानतिर अग्रसर थिए । पहिलो उनी १९६९ पछि एकै वर्षमा हुने चारैवटा ग्रान्डस्लाम जित्ने पहिलो खेलाडी बन्ने र दोस्रो पुरुष एकलतर्फ सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने खेलाडी बन्ने । तर, यी दुवै उपलब्धिबाट वञ्चित भए उनी । सन् १९६९ मा रड लेभरले वर्षमा हुने चारै वटा ग्रान्डस्लाम प्रतियोगिता – अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन र यूएस ओपन जितेका थिए । त्यसपछि, कोही पनि पुरुष खेलाडीले यस्तो अवसर पाउन सकेका छैनन् ।

पुरुष एकलतर्फ सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने कीर्तिमान संयुक्तरूपमा तीन जनाको नाममा छ । टेनिस जगतमा बिग थ्री खेलाडीको नामले परिचित तीन खेलाडी स्विट्जरल्यान्डका रोजर फेडरर, स्पेनका राफाल नाडाल र जोकोभिचले समान २०/२० ग्रान्डस्लाम जितेका छन् । वर्तमान विश्व नम्बर एक जोकोभिचको लागि २१औं ग्रान्डस्लाम जितेर एकलरूपमा सर्वाधिक ग्रान्डस्लाम उपाधि जित्ने मौका हारसँगै टुहियो । तर, उनका लागि यो अवसरमा पुग्न आगामी वर्ष बाँकि रहेको छ । चारै वटा ग्रान्डस्लाम जित्ने अवसरका लागि भने उनको लागि निकै चुनौतीपूर्ण रहनेछ ।

पुरुष टेनिसतर्फ हालको अवस्थामा जोकाभिचलाई चुनौती दिन धेरै खेलाडीहरू लाम लागेका छन् । पहिलो यूएस ओपन विजेता मेदेभदेभ नै रहेका छन् । दोस्रो जर्मनीमा एलेक्जान्डर जेभेरेभ रहेका छन् । जेभेरेभले उनलाई हालै सम्पन्न टोक्यो ओलम्पिकमा हराएका छन् । जेभेरेभले उनलाई सेमिफाइनलमा हराएका थिए । अन्यमा ग्रिसका सितसिपास रहेका छन् । सितसिपासले यही वर्ष सम्पन्न विम्बल्डन फाइनलमा जोकोभिचविरुद्ध पहिलो दुई सेट जितेका थिए । तर, त्यसपछि लगातार तीन सेट हारेर उपाधिबाट विमुख भएका थिए ।

प्रतिक्रिया दिनुहोस्