हल्यान्डको ह्याट्रिकमा नर्वेको जित



लन्डन, (एजेन्सी) ।

युवा स्टार अर्लिङ हल्यान्डले ह्याट्रिक गरेपछि अगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि जारी युरोपेली छनोट खेलमा नर्वेले सानदार जित निकालेको छ ।

मंगलबार राति भएको समूह चरणको आफ्नो छैटौं खेलमा नर्वेले घरेलु मैदानमा पाहुना टोली ग्रिबाल्टारमाथि ५–१ को फराकिलो गोलअन्तरको जित निकाल्न सफल भएको हो । नर्वेलाई सानदार जित दिलाउन हल्यान्डले नायकको भूमिका खेल्दै टिमका लागि महत्त्वपूर्ण तीन गोल गरेर ह्याट्रिक पूरा गरे ।

पहिलो गोल खेलको २३औं मिनेटमा क्रिस्टिएनले गरेका थिए । त्यसपछि दोस्रो गोल २७औं मिनेटमा हल्यान्डले गरे भने ३९औं मिनेटमा उनैले दोस्रो गोल गरे । तर, ४३औं मिनेटमा ग्रिबाल्टारका लागि रिच स्टेचले गोल गरेपछि पहिलो हाफसम्म खेलको स्थिति ३–१ मा टुंगिएको थियो ।

दोस्रो हाफमा हल्यान्डले आफ्नो ह्याट्रिक इन्जुरी समयमा पूरा गरे । त्यसअघि ५९औं मिनेटमा एलेक्सान्डर सोर्लथले गोल गरेर अग्रता बढाएपछि ९१औं मिनेटमा हल्यान्डले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्दा खेल नर्वेले ५–१ ले जित्यो । यो जितपछि नर्वेले ६ खेलबाट १३ अंक जोडेको छ ।

पोर्चुगलको जित

छनोट चरणको अर्को खेलमा क्रिस्टियानो रोनाल्डोबिनाको पोर्चुगलले पनि सानदार जित निकाल्यो । मंगलबार राति नै भएको समूहको आफ्नो पाँचौं खेलमा पोर्चुगलले नियमित कप्तान रोनाल्डोको अनुपस्थितिमा अजरबैजानलाई उसैको घरेलु मैदानमा ३–० गोलअन्तरको हराएको हो । पोर्चुगलको जितमा तीन जना फरक–फरक खेलाडीले गोल गरे । जसमा युवा खेलाडी डिएगो जोटाले एक गोल र एक असिस्ट पनि गरेका थिए । रोनाल्डो नहुँदा प्रशिक्षक फर्नान्डो सान्तोषले फ्रन्टलाइनमा ब्रुनो फर्नान्डेज, डिएगो जोटा र आन्द्रे सिल्भालाई उतारेका थिए ।

पोर्चुगलका लागि पहिलो गोल खेलको २६औं मिनेटमा बर्नान्डो सिल्भाले गरेका थिए । उनको गोलमा ब्रुनो फर्नान्डेजले निकै राम्रो असिस्ट मिलाएका थिए । त्यसपछि दोस्रो गोल ३१औं मिनेटमा आन्द्रे सिल्भाले गरे । उनको गोलमा डिएगो जोटाले पास मिलाएका थिए । तर, उनको असिस्टअघि फर्नान्डेजले लामो दूरीबाट महत्त्वपूर्ण पास मिलाएका थिए । फर्नान्डेजको पासमा जोटाले हलुका टचमा सिल्भालाई असिस्ट गरे ।

त्यसपछि, पोर्चुगलका लागि खेलको ७५औं मिनेटमा दोस्रो गोलमा असिस्ट गरेका जोटा आफैंले गोल गरे । उनले जुआओ कान्सेलेको पासमा सो गोल गरेपछि खेल पोर्चुगलले ३–० ले जित्यो । यो जितपछि पोर्चुगल समूह ‘ए’ मा ५ खेलबाट १३ अंक बनाएर सबैभन्दा शीर्ष स्थानमा छ । सर्बिया ११ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
फ्रान्सको सहज जित

छनोट खेलमा वर्तमान विश्व च्याम्पियन फ्रान्सले पनि सहज जित निकाल्यो । मंगलबार राति भएको आफ्नो समूहको छैटौं खेलमा फ्रान्सले पाहुना टोली फिनल्यान्डमाथि २–० को एकपक्षीय जित दर्ता गर्न सफल भएको हो । आफ्नो घरेलु मैदानमा फ्रान्सलाई जिताउन फरवार्ड एन्टोनी ग्रिजम्यान नायक बने ।

स्पेनिस क्लब बार्सिलोनाबाट लखेटिएका ग्रिजम्यान पछिल्लो केही समययता फ्रान्सको टोलीमा सानदार लयमा खेलिरहेका छन् । उनले छनोट चरणमा तीन खेलबाट तीन गोल र एक असिस्ट पनि गरेका छन् । यसै समर विन्डोमा उनलाई बार्सिलोनाले पूर्वक्लब एट्लेटिको मेड्रिडमा एकवर्षे लोन सम्झौतामा पठाएको छ ।

फिनल्यान्डमाथि बल नियन्त्रणमा बलियो पकड जमाएको फ्रान्सका लागि पहिलो गोल खेलको २५औं मिनेटमा ग्रिजम्यानले गरेका थिए । करिम बेन्जेमाको पासमा उनले गरेको सोही गोलबाट फ्रान्सले घरेलु मैदानमा अग्रता लिएको थियो । त्यसपछि दोस्रो गोल पनि ग्रिजम्यानले नै गरे । यसपटक उनले खेलको ५३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेर खेल २–० बनाए ।

तर, त्यसपछि बाँकी समयमा दुवै तर्फबाट थप गोल हुन सकेन र खेल फ्रान्सले २–० ले जित्यो । फ्रान्सका लागि विश्वकप छनोटमा यो तेस्रो जित हो । फ्रान्सले खेलेको ६ खेलमध्ये तीन खेल जितेर तीन खेल बराबरी गरेको छ । जितपछि फ्रान्सको १२ अंक भएको छ ।

नेदरल्यान्डस्को जित

नेदरल्यान्ड्सले पनि सानदार जित आत्मसात् गर्‍यो । मंगलबार राति भएको आफ्नो समूहको छैटौं खेलमा डच टोलीले पाहुना टोली टर्कीमाथि गोलको वर्षा गर्दै ६–१ को फराकिलो अन्तरको जित निकाल्यो । नेदरल्यान्ड्सको जितमा स्टार फरवार्ड मेम्फिस डिपाएले ह्याट्रिक गर्नुका साथै, एक गोलमा असिस्ट पनि गरे । उनले समग्रमा चार गोलमा योगदान गरे ।

आफ्नै देशका प्रशिक्षक रोनाल्ड कोम्यानको विशेष चाहना र जोडबलमा यसै समर विन्डोमा फ्रेन्च क्लब लियोनबाट फ्री ट्रान्सफरमा बार्सिलोना पुगेका डिपाए अहिले उच्च फर्ममा छन् । उनले स्पेनिस क्लब बार्सिलोनामा शुरुआतबाटै प्रभावशाली प्रदर्शन गरिरहेका छन् । राष्ट्रिय टोलीमा त उनले अझ राम्रो प्रदर्शन गरिरहेका छन् ।

नेदरल्यान्ड्सले बलियो टोली टर्कीविरुद्धको खेल शुरू भएको पहिलो मिनेटमै अग्रता लिएको थियो । सो गोल डभी क्लासेनले गरेका थिए । सो गोलमा मेम्फिस डिपाएले असिस्ट गरेका थिए । त्यसपछि, डिपाएले लगातार तीन गोल गर्दै ह्याट्रिक पूरा गरे । पहिलो गोलपछि तीन गोल लगातार डिपाएले गरेर आफ्नो ह्याट्रिक ५४औं मिनेटभित्रै पूरा गर्न सफल भएका थिए । उनले पहिलो गोल खेलको १६औं मिनेटमा गरेका थिए ।

त्यसपछि, डिपाएले दोस्रो गोल खेलको ३८औं मिनेटमा पेनाल्टीमार्फत गरे । सो गोलपछि पहिलो हाफमा नेदरल्यान्ड्सले ३–० को सहज अग्रता बनायो । खेलको ५४औं मिनेटमा डिपाएले ह्याट्रिक पूरा गरे । डच टोली त्यत्तिमै रोकिएन । खेलको ८०औं मिनेटमा गुस टिलले गोल गरे पनि ९०औं मिनेटमा डोनएलल मालेनले छैटौं गोल गरे । तर, ९२औं मिनेटमा टर्कीका लागि केन्जिज अन्डरले गोल गरेपछि नेदरल्यान्ड्सको जित ६–१ मा खुम्चियो । यो जितपछि नेदरल्यान्ड्स समूह ‘जी’ मा १३ अंक पुगेको छ । नेदरल्यान्ड्ससँग पराजित टर्कीको भने ११ अंक रहेको छ ।

त्यसैगरी, युरोपेली च्याम्पियनसिपमा सनसनीपूर्ण प्रदर्शन गर्दै सेमिफाइनलसम्मको यात्रा तय गरेको डेनमार्कले पनि युरोपेली छनोटमा लगातार छैटौं जित दर्ता गर्‍यो ।

घरेलु मैदानमा डेनमार्कले इजरायलमाथि ५–० गोलअन्तरको एकतर्फी जित निकाल्दै छनोटमा लगातार छैटौं जित दर्ता गरेको हो । तेलिया पार्केन कोपेनहेगनमा डेनमार्कको फराकिलो जितमा युस्सुफ पौल्सेन, सिमोन कायर, एन्ड्रिस स्कभ ओल्सेन, थोमस डिलाने र एन्ड्रिएस कोर्नेलिअसले समान एक गोल गरे । पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।

यही समूह ‘एफ’ को अर्काे खेलमा अस्ट्रियाले स्कटल्यान्डसँग १–० को हार बेहोर्दा फारोई आइल्यान्डले पहिलो जित दर्ता गर्दा मोल्डोभालाई २–१ ले पराजित गरेको छ । यो नतिजापछि डेनमार्कले ६ खेलबाट १८ अंक जोडेको छ । पराजित इजरायलको भने १० अंक रहेको छ ।

त्यस्तै, समूह ‘एच’ को खेलमा क्रोएसियाले पनि स्लोभेनियालाई ३–० ले पराजित गर्‍यो । क्रोएसियाको जितमा मार्काे लिभाजा, मारियो पासालिस र निकोला भ्लासिसले समान एक गोल गरे । यही समूहको अर्काे खेलमा रसियाले माल्टालाई २–० ले पराजित गर्दा स्लोभाकियाले साइप्रसमाथि २–० कै जित निकाल्यो । यो नतिजा पछि क्रोएसियाको ६ खेलबाट १३ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्