खोपलाई तीव्रता र विस्तार गर्न डब्ल्यूएचओको अपिल

1.69k
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले दक्षिणपूर्वी एसियाका देशहरूलाई कोभिड–१९ को खोप कार्यक्रमलाई तीव्रता दिनुका साथै नियमित खोप कार्यक्रमलाई विस्तार गर्न अपिल गरेको छ ।

नेपालले आयोजना गरेको डब्ल्यूएचओको दक्षिण पूर्वीएसियाली राष्ट्रहरूको क्षेत्रीय समितिको ७४औं बैठकमा बोल्दै क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले महामारीका कारणले नियमित खोप तथा निगरानी प्रक्रिया अवरुद्ध भएको बताउनुभयो । उहाँले महामारीको शुरुआती दिनमा खोप कार्यक्रममा उल्लेखनीय प्रगति रहेको स्मरण गर्दै भन्नुभयो– ‘दक्षिणपूर्वी एसियामा डीटीपी–३ खोपको प्रयोग ९१ प्रतिशत पुगिसकेकोमा महामारीका कारण अहिले ८५ प्रतिशतमा झरेको छ ।’

उहाँले सन् २०१९ मा यो क्षेत्रमा खोप नै नलगाएका वा पूर्णरूपमा खोप नलगाएका बालबालिकाको संख्या ३० लाख रहेकोमा हाल सो संख्या बढेर ४९ लाख पुगेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले कोभिड–१९ महामारीले यस क्षेत्रको प्रमुख प्राथमिकताका रूपमा रहेको दादुरा तथा रुबेला उन्मूलन रणनीतिको कार्यान्वयनमा पनि असर परेको बताउनुभयो । डा. सिंहले भन्नुभयो– ‘कोभिड–१९ ले पुर्‍याएको क्षतिलाई तुरुन्त क्षतिपूर्ति गर्नुपर्ने, विगतका दशकमा हासिल भएको प्रगतिको दरलाई पुनः प्राप्त गर्नुपर्ने, र शिशु, बालबालिका तथा वयश्कहरूलाई जीवन रक्षक खोपद्वारा संरक्षण दिनुपर्ने आवश्यकता तड्कारो छ ।’

डब्ल्यूएचओका अनुसार दक्षिणपूर्वी एसियामा सन् २०१९ मा दादुराविरुद्धको खोपको पहिलो मात्राको अनुमानित प्रयोग ९४ प्रतिशत रहेकोमा सन् २०२० मा घटेर ८८ प्रतिशतमा झरेको छ । त्यसै गरी, दादुराविरुद्धको खोपको दोस्रो मात्राको प्रयोग पनि सन् २०१९ मा ८३ प्रतिशत रहेकोमा सन् २०२० मा घटेर ७८ प्रतिशतमा झरेको डब्ल्यूएचओले जनाएको छ ।

जारी क्षेत्रीय समितिको बैठकले क्षेत्रीय खोप कार्ययोजना २०२२–२०३० को रणनीतिक खाकामा पनि छलफल गरेको छ । उक्त कार्ययोजना कोभिड–१९ विरुद्धको खोप तथा कोभिड–१९ महामारीबाट प्रभावित खोप प्रणाली तथा खोपद्वारा रोकथाम गर्न सकिने रोगको निगरानीको पुनःस्थापनामा केन्द्रित रहेको छ ।

कोभिड–१९ विरुद्धको खोपसम्बन्धी प्रयासलाई असर नपारी नियमित खोप कार्यक्रमलाई कायम राख्न तथा अभिवृद्धि गर्नका लागि हामीसँग भएको रणनीति सुनिश्चित गर्नुपर्ने डा. सिंहले बताउनुभयो ।

नियमित खोप कार्यक्रम तथा कोभिड–१९ विरुद्धको खोप कार्यक्रमका लागि पर्याप्त जनशक्ति, खोप सेवामा पहुँच स्थापित गर्नका लागि मानिसमा आत्मविश्वास अभिवृद्धि गराउने प्रयास र बन्दाबन्दीको अवधि सकिनासाथ तुरुन्त खोपसम्बन्धी क्रियाकलापलाई विस्तार गर्न मानक सञ्चालन कार्यविधि सुनिश्चित गर्नु आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

एसिया प्रशान्त क्षेत्रका देशले कोभिड–१९ विरुद्धको खोप विस्तार गर्नका लागि प्रयासहरू गरिरहेका छन् र हालसम्म यस क्षेत्रमा ९१ करोड ५० लाख मात्रा खोप लगाइसकिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।