स्वास्थ्य प्रणालीको उत्थानशीलतालाई सबलीकरण गर्ने प्रतिबद्धता



नेपाल समाचारपत्र, काठमाडौं ।

विश्व स्वास्थ्य संगठन (डब्लयूएचओ) को दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको क्षेत्रीय समितिको मंगलबारदेखि शुरु भएको ७४औं बैठकले हालको महामारीबाट पाठ सिक्दै स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न, स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न र स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि स्वास्थ्य प्रणालीको उत्थानशीलतालाई थप सबलीकरण गर्ने निर्णय गरेको छ ।

पाँच दिनसम्म चल्ने यो बैठक नेपालकै आयोजना र अध्यक्षतामा भर्चुअल माध्यमबाट सञ्चालन गरिएको छ । बैठकलाई सम्बोधन गर्दै डब्लयूएचओ दक्षिणपूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले प्राथमिक स्वास्थ्य स्याहारमा केन्द्रित र सम्पूर्ण जनसंख्यालाई समेट्ने मजबुत स्वास्थ्य प्रणालीले जनतालाई थप स्वस्थ, उत्पादक र आर्थिकरूपमा सुरक्षित बनाउन मद्दत गर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो– ‘उत्थानशील स्वास्थ्य प्रणाली आपत्कालीन तत्परता र प्रतिकार्यका आधारशिला हुन्, यस्ता प्रणालीले प्रकोपका घटना हुँदा अत्यावश्यक स्वास्थ्य सेवाहरू निर्वाध सञ्चालनमा रहेको सुनिश्चित गर्न मद्दत गर्दछ ।’

मन्त्रीस्तरीय गोलमेचबाट अनुमोदन गरिएको उक्त घोषणामार्पmत सदस्य राष्ट्रले स्वास्थ्य सुरक्षा अभिवृद्धि गर्न र स्वास्थ्यमा सर्वव्यापी पहुँच र स्वास्थ्यसँग सम्बन्धित दिगो विकास लक्ष्य प्राप्तिमा प्रगति गर्नका लागि आवश्यक राजनीतिक नेतृत्व र जवाफदेहीता प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सदस्य राष्ट्रहरूले सार्वजनिक लगानी अभिवृद्धि गर्दै स्वास्थ्य प्रणालीलाई बृहत् प्राथमिक स्वास्थ्य सेवातर्फ पुनः अभिमुखीकरण गर्ने र सोमार्फत जनस्वास्थ्यसम्बन्धी आपत्कालीन प्रतिकार्य क्षमताको लागि र स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्नका लागि आधार निर्माण गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

बैठकमा महामारीले स्वास्थ्यमा, विशेष गरी प्राथमिक स्वास्थ्य सेवाको तहको जनशक्तिमा लगानी गर्नुको महत्व तथा आवश्यकतालाई प्रस्ट पारिदिएको भन्दै आपतकालमा प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्न र उत्थानशील स्वास्थ्य प्रणालीहरू निर्माण गर्नका लागि सुपथ, प्रभावकारी, गुणस्तरीय र सुरक्षित स्वास्थ्य सामग्रीहरू पर्याप्त मात्रा आवश्यक पर्ने महशुस गरिएको थियो ।

बैठकमा महामारीको दौरान र महामारीपछिको समयमा अत्यावश्यक स्वास्थ्य सेवा र जनस्वास्थ्यका कार्यक्रमलाई निरन्तरता दिन समुदायको संलग्नता बढाउँदै लाने र समुदायको सशक्तिकरण गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

जोखिममा रहेका र प्रभावित समुदायहरूका लागि प्रभावकारी प्रतिकार्य सञ्चालन गर्न सदस्य राष्ट्रले जनस्वास्थ्य आपत्कालसम्बन्धी र विपद् जोखिम व्यवस्थापनसम्बन्धी रणनीतिलाई एकीकृत गर्ने र प्राथमिक स्वास्थ्य स्याहारको तहमा निगरानी तथा तयारी क्षमताको सुदृढीकरण गर्ने सहमति पनि जनाएका छन् ।

यसका अतिरिक्त, सदस्य राष्ट्रहरूले प्राथमिक स्वास्थ्य स्याहारको तहमा मानसिक स्वास्थ्य तथा अन्य रोगलगायतका नसर्ने रोगहरूलाई समाहित गर्ने, प्राथमिक स्वास्थ्य स्याहारका सेवाहरूका लागि राष्ट्रिय गुणस्तर मापदण्ड स्थापना गर्ने र महामारी तथा पुनरुत्थानको दौरानमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

त्यसै गरी, सदस्य राष्ट्रले परम्परागत औषधि प्रणालीको सम्भाव्यताको उचित उपयोग गर्ने र साथै डिजिटल स्वास्थ्य प्रविधिमा भएका नवीनतम आविष्कारहरूको पनि सर्वोत्तम उपयोग गर्ने सहमति जनाएका छन् ।

बैठकमा जनस्वास्थ्यसम्बन्धी आपत्काललाई सम्बोधन गर्न र सबैका लागि उच्च गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भएको सुनिश्चित गर्न आवश्यक पर्ने राष्ट्रिय क्षमता विकासको कार्यमा विश्व स्वास्थ्य संगठनको भूमिका लगायतका अतिरिक्त स्रोत तथा साझेदारीको महत्वमाथि पनि छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्