पहिरोमा परी एकै परिवारका ५ सहित ११ को मृत्यु



दुुर्गाप्रसाद शर्मा, पर्वत ।

मोटरबाटोबाट पहिरो आउने डरले माधव पौडेलले डेढ वर्षअघि बाटोमाथि घर बनाउनुभयो ।

पुरानो घरमा सडकबाट पहिरो जान सक्ने आशंकाले नयाँ घर बनाउन सडक माथि गए पनि पौडेलको परिवार सुरक्षित हुन सकेन । बिहीबार राति आएको अविरल वर्षासँगै झरेको पहिरोले पौडेलको सिंगो परिवारलाई नै उजाड बनाइदियो ।

पर्वतको कुस्मा नगरपालिका–३ घोगेनीका माधव पौडेलको घर पहिरोले पुर्दा उहाँकी आमा, श्रीमती, दुई छोरी र एक छोराको मृत्यु भयो । बाटो तलको घर असुरक्षित ठानेर सुरक्षित ठाउँमा परिवार राखेर वैदेशिक रोजगारीमा जानुभएका माधवको परिवारसँगै बस्ने सपना अधुरै भएको छ । पहिरोले पुरिएर पौडेलकी आमा ७५ वर्षीया कौशिला, ३५ वर्षीया श्रीमती भगवती, दुई छोरीहरू १६ वर्षीया विमला, ११ वर्षकी विनिता र ९ वर्षीय छोरा विनोद पौडेलको मृत्यु भएको छ ।

सिंगो परिवार पहिरोमा पुरिएपछि पौडेल कतारबाट शनिबार घर पुग्नुभएको छ । आमा, श्रीमती, दुई छोरी र छोरा सबै गुमाउनुभएका पौडेलले परिवारको अन्तिम दर्शन गर्नुभयो । नयाँ घरमा परिवारसँग सुरक्षित भएर बस्ने उहाँको सपना अधुरै रह्यो । शर्माले वैदेशिक रोजगारीमा गएका शर्माले कतारबाट फर्किएर डेढ वर्ष अघि मात्र पाँच मिनेटमाथिको घोगेनीमा घर किन्नुभएको थियो ।

घर सरेपछि पौडेल परिवारले सुरक्षित ठानेको थियो  । तर, त्यही सुरक्षित ठानिएको घरमा सिंगो परिवार नै पहिरोमा पुरिने दुःखद् अवस्था आएको छिमेकी प्रताप गिरीले बताउनुयो । ‘सुरक्षित ठानेर किनेको नयाँ घर नै काल बनिदियो’ –उहाँले भन्नुभयो ।

दुर्लुङमा गत वर्ष जेठ ३१ गते आएको पहिरोले पनि एकै परिवारका ८ जनाको ज्यान गएको थियो । हाँडीघोप्टे वर्षाले गत वर्ष क्षति पुगेको घाउ पुरिन नपाउँदै यस वर्ष पनि यसरी नै क्षति पुर्‍याएको छ ।

यसैगरी, कुश्मा–११ पकुवामा माथिबाट आएको पहिरोले घर पुर्दा एकै घरका ३ जनाको मृत्यु भएको छ । शुक्रबार बिहानै आएको पहिरोले घर पुर्दा ७० वर्षकी डल्ली पाध्या पौडेल, उनकी बुहारी ४० वर्षीया मायाकुमारी र ३ वर्षका नाति प्रयुशको मृत्यु भएको पर्वतका डीएसपी शिवराज बुढाथोकीले बताउनुभयो । त्यस्तै, कुश्मा–११ सिल्मीमा मनिलाल पौडेलको घर पहिरोले पुर्दा पाहुना आएकी मोदी–७ की ३८ वर्षीया दुर्गा पौडेल र उनका ६ वर्षीय छोरा गणेशको मृत्यु भएको छ ।

यस्तै, पर्वतकै मोदी–५ आम्बोटमा पहिरोले घर पुरिँदा ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ । चारवटै घटनामा पहिरोले एउटा/एउटा घर पुरेको डीएसपी बुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्