बिएन्डसी अस्पतालले उपचार खर्च तिर्न नसकेको एक विपन्न दम्पतीलाई बन्धक बनायो



काठमाडौं ।

झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालले उपचार खर्च तिर्न नसकेको एक विपन्न दम्पतीलाई चार महिनादेखि बन्धक बनाएको छ ।

झापाको शिवसताक्षी २ का ३९ वर्षीइ यामबहादुर श्रेष्ठ र उनकी श्रीमती सनम बन्धक बनाइएका हुन् । बिएन्डसीका सञ्चालक दुर्गा प्रसार्इं हुन् । प्रसाईं उनै हुन् जसले विवेकशील साझाका संस्थापक अध्यक्ष उज्जवल थापा कोरोना संक्रमण भएर उपचाररत हुँदा सबै उपचार खर्च बिएन्डसी अस्पतालले व्यहोर्ने सार्वजनिक घोषणा गरेका थिए ।

थापाको उपचारका लागि देश विदेशका शुभचिन्तकबाट लाखौं रकम जम्मा भइरहँदा १५ जेठमा प्रसाईंले विज्ञप्ति निकालेर उक्त घोषणा गरेका थिए । उनै प्रसाईंको त्यही अस्पतालले उपचार खर्च तिर्न नसकेका दम्पतीलाई भने ६ महिनादेखि बन्धक बनाएको छ ।

१९ फागुन ०७७ मा पूर्व पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काईमा को १ ख १६८४ नम्बरको ट्रकले र प्रदेश १-०१-००१ च ०१६७ नम्बरको कार र प्रदेश १-०१-०१३प१७८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रक विराटनगरस्थित रिजाल ग्याँस उद्योगको हो जसका सञ्चालक हुन नवीन रिजाल । दुर्घटनामा कारमा सवार दुईजनाको ज्यानै गएको थियो भने मोटरसाइकल रहेका श्रेष्ठदम्पती घाइते भएका थिए ।

उपचारका लागि बिएन्डसी पुर्याइएका यामबहादुर दायाँ खुट्टा काटेर फाल्नुपर्यो । श्रीमती सनमको दायाँ खुट्टामै स्टिल राखिएको छ, तर अहिले पनि खुट्टा राम्ररी चल्न सक्दैन ।

अस्पतालले उपचार सकिएको भन्दै ४२ लाखको बिल थमाएर बैशाख अन्तिम साता डिस्चार्ज हुन भनेको थियो । तर, भुक्तान गर्न उनीहरुको आर्थिक हैसियतले पुगेन । परिवारले जेनतेन १२ लाख जुटाए बुझायो । तर ,बाँकी ३० लाख पनि नतिरेसम्म अस्पतालले छाड्न मानेन । ठक्कर दिने ट्रकका मालिक रिजाल ग्याँसका सञ्चालकले पनि बिल तिरिदिएनन् । तयसपछि उनीहरु अस्पतालमै बन्धक बनाइए ।

(नयाँ पत्रिकाबाट)

प्रतिक्रिया दिनुहोस्