नेपाल समूहलाई बधाई एवं शुभकामना



नेकपा एमालेमा लामो रस्साकसीपछि भर्खरै माधव नेपाल समूहले नयाँ पार्टी निर्माण गर्न सफल भएको छ । हिजो एमाले अध्यक्ष केपी ओलीको अहम्, अराजकता र आत्मकेन्द्रित प्रवृत्तिबाट तड्पिएका लाखौँ कम्युनिस्ट–प्रेमी कार्यकर्ताहरुमा नयाँ आशा पलाएको छ ।

अब हिजो देखिएका कमजोरी र भ्रष्टीकरणबाट पाठ सिकेर यी गल्ती नवनिर्मित पार्टी नेकपा एकीकृत समाजवादीले दाहोर्‍याउने छैन । नेपालमा देखिएको राजनीतिक भ्रष्टीकरण निर्मूल गर्न युवा नेतृत्वको आवश्यकतालाई मध्यनजर गर्दै अघि बढाउन जरुरी छ । अब नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउन नयाँ दृष्टिकोणबाट सोच्न आवश्यक छ । अब नेपालको विकास र समृद्धिका लागि जनतामा एक खालको आशा लिएर अघि हिँड्न सक्नुपर्छ । नेपालका अनेक स्रोत–साधनको सदुपयोग गरेर देशलाई समृद्धिको दिशामा अघि बढाउनुपर्छ ।

देशको सबैभन्दा महत्वपूर्ण नीति नै राजनीति हो, यसको कुनै विकल्प छैन । त्यसकारण राजनीतिक दल सधैँ जनताप्रति उत्तरदायी हुन अत्यन्तै आवश्यक छ । जब जनता र राजनीतिबीचको दूरी साँघुरिँदै जान्छ तब देश विकासको चरम चुलीमा अघि बढ्न सक्छ । त्यसैले अब नयाँ नेपाल निर्माणको मार्गमा जनताका आवश्यकता र मागलाई केन्द्रविन्दुमा राखेर काम गर्दा पक्कै देश विकास हुने नै छ । यसकारण यसरी आफ्नै बनिबनाउ पार्टी हुँदाहुँदै जनचाहनालाई ध्यानमा राखेर विद्रोही चेतका साथ अघि बढ्ने आँट गरेका माधव नेपालसहित कम्युनिस्ट कार्यकर्ता र सम्पूर्ण नेपाली जनतालाई हार्दिक बधाई एवं शुभकामना छ ।

– विश्व अज्ञात, काठमाडौं ।

सतीको सराप फिर्ता गरौं

हामीले प्रायः सुन्ने गरेका छौं– सतीले सरापेको कारण यो राष्ट्रको अवस्था दुर्गन्धित भयो । श्रीमान् परलोक भएपछि श्रीमती जिउँदै चितामा जल्नुपर्दा उनलाई अवश्य डाहा हुन्छ नै । सो डाहा जसरी पनि सहनुपर्ने बाध्यता हुँदा सती जाने श्रीमतीले सराप गरेको हो भन्ने हामीले बुझ्नुपर्छ । यस मुलुकमा जे कुरा नराम्रो हुन्छ अनि भनिन्छ कि यो सतीले सरापेको देश भनेर । वास्तवमा सतीले दिएको सराप कसलाई लागेको छ र ? तपाईं कुनै उदाहरण भन्नुस् त ? यो सराप राजा बादशाहलाई लाग्यो भनौँ भने उनीहरु आरामै वा सबै श्रेष्ठै ठाउँमा छन् । शीर्षस्थ नेतागण, मन्त्रीगणलाई लाग्यो भनौं भने उनीहरुको सुखसयल जस्ताको त्यस्तै छ । त्यसैले पनि सतीको सराप लागेको भन्न सकिँदैन । राष्ट्रलाई सराप लाग्यो भनौं भने राष्ट्र जस्ताको त्यस्तै छ ।

त्यसो हो भने सतीले सरापेको सराप कसलाई लाग्यो त ? हामी सर्वसाधारण राष्ट्रवासीलाई लाग्यो भन्ने बुझे हुन्छ । यस्तो सराप लागेको भए हामीले अब फ्याँक्न सक्नुपर्छ । सतीकै कुरा गर्ने हो भने, कि त मलामीहरुले भन्न सक्नुपर्दथ्यो कि स्वर्गीय हुनेलाई त चितामा सजिलै जलायौं, जिउँदो व्यक्तिलाई चितामा राखी त्यसमा आगो कसरी लगाऊँ ? मलामी जानेले जिउँदो मान्छेलाई हामी जलाउन सक्दैनौं भनी आफ्नो बाटो लागेको भए सती जाने प्रथा त्यतिखेर नै अन्त्य हुन्थ्यो । बलिरहेको आगोको रापमा कुनै पनि सतीले जिउँदै जल्नुपर्दैनथ्यो । सतीले दिएको सराप पनि लाग्दैनथ्यो ।

सतीले सरापेको सराप लाग्यो भन्ने शब्द मैले मात्र सुनेको हो कि हजुरहरुले पनि सुन्नुभएको छ ? मैले मात्र सुनेको रहेछु भने म बेवकुफ । होइन, हामी सबैले सुनेका छौं भने हामी सबै मिलेर सतीले सरापेको सराप फिर्ता गरौं । तत्काल फिर्ता गरौं । अन्यथा, हामी पनि त्यस्तै विचलित र दुखित भई सतीले जस्तै जिउँदै डढेर मरेझैँ हुनुपर्छ ।

यसले सतीको कुरा किन उठायो भन्नुहोला ? आफैंले बिगार्ने अनि सतीले सरापेको भन्ने हामी नै दोषी छौं । अहिलेको जल्दोबल्दो विषय एमसीसीकै कुरा गरौं । सतीप्रथाजस्तै नेपालका शीर्षस्थ नेताहरुले सिर्जना गरेको अवस्था हो एमसीसी ।
देखिसक्नुभएको छ अफगानिस्तानमा यता र उता ‘ड्याम्म’को आवाज आउँछ । अर्कोतिर ‘भटटट’को आवाज आउँछ । सबैतिरका घर, बिल्डिङका कौसी, झ्याल–ढोकाबाट धुवाँको मुस्लो देखिन्छ । के ती सबै मानिसले घरबाट भाग्ने समय पाएका छन् ? भाग्न समर्थ हुनेहरु कतै भागेका देखिन्छन् । कोही चिच्याउँदै सामान, बच्चा आदि च्यापी दौडिरहेका देख्छौं । यस्तो अवस्था आफ्नै राष्ट्रमा आइपर्छ भन्ने थाहा पाउँदा पाउँदै त्यस्तो एमसीसी सम्झौताका कुरा संसद्भित्र कसले छिरायो ?

छोराछोरी घरभित्रै छन् भन्दाभन्दै ढोकैमा आगो लगाई भाग्ने अभिभावकलाई पागलभन्दा अरु के नै भन्न सकिन्छ र ? यस्ता व्यक्तिलाई हामीले नै उक्त स्थानमा पु¥याउँछौं भने हामीले आफूलाई पनि के भन्ने ? याक एन्ड यती होटलमा एमसीसीको अफिस छ रे ! नुवाकोट र रसुवामा यसका शाखा अफिस छन् रे ! त्यहाँ जग्गा अधिग्रहण गरिसकेका छन् रे ! शायद देश कहिल्यै उठ्न नसक्ने गरी एमसीसीले जरा गाडिसकेको छ । यो जरालाई उखेलेर फाल्नुपर्छ ।

देशभर विभाजित बाइसे, चौबीसे राज्यलाई एकीकरण गरी अहिलेको नेपाल बन्यो । हामी नेपालीको राष्ट्रिय पहिचान भयो । हामी नेपाली भनी गौरवका साथ चिनाउने गरिरहेका छौं । सती जान लागेकी महिलालाई चितामा जल्न रोकेझैं अब एमसीसीले डढाउँदै गरेको देश जोगाउन हामी एकजुट हुनुपर्ने अवस्था आएको छ । देशको रक्षा गर्ने जिम्मा हाम्रो हो ।

अब हामीले गलत मानिसलाई शीर्षस्थानमा नपठाऔं । छरिएर रहेका हामी सबै एकजुट होऔं । देशका वैज्ञानिक, विशेषज्ञ, प्राध्यापक, डाक्टर, इन्जिनियर, शिक्षक, विद्यार्थी, कर्मचारी तथा असल राजनीतिकर्मी सबै एक ठाउँमा होऔं । देश जलाउने व्यक्तिको हातबाट देशघाती राँको खोसेर फाल्नु नै सतीले सरापेको सरापबाट देश मुक्त गर्नु हो । देश ध्वस्त हुनबाट जोगाउनु नै हामी राष्ट्रवादीहरुको कर्तव्य हो । हामी मेहनती र परिश्रमी नेपाली एक ठाउँमा आएमा सबै काम सम्भव छ । त्यसैले पहिलो कुरा त राष्ट्र बचाऔं । दोस्रो कुरा, सतीको सराप फिर्ता गरौं । तेस्रो कुरा, देशलाई धनी बनाऔं । यसैमा हामी सबैको कल्याण छ । अबदेखि सतीले सरापेको भन्दै स्वकार नगरौं । मुलुकलाई हानि नोक्सानी पु¥याउने कुनै पनि कुराको खुलेर विरोध गरी सतीको सराप फिर्ता गरौं ।

– मीठाराम पौडेल, जफे–६, दोलखा ।

प्रतिक्रिया दिनुहोस्