बायर्नद्वारा गोल वर्षा



बर्लिन ।

जर्मन कप फुटबल प्रतियोगितामा बार्यन म्युनिखले गोलको वर्षा गरेको छ ।

बुधबार राति भएको जर्मन कपको पहिलो चरणको खेलमा बार्यनले बर्मर एसभी क्लबलाई उसैको घरेलु मैदानमा १२–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । बर्मर जर्मनीको पाँचौं डिभिजनको लिग खेल्ने टिम हो ।

केही मुख्य खेलाडीलाई आराम दिएर मैदानमा उत्रिएको बार्यनका लागि ८ जना फरक–फरक खेलाडीले गोल गरे । जसमा इरिक म्याक्सिम चोउपो मोटिङ एक्लैले चार गोल गरे भने एक जनाले दुई गोल आफ्नो नाममा लेखाए । त्यस्तै एक गोल उपहारमा प्राप्त भएको थियो ।

बार्यनले खेलको आठौं मिनेटमा गोलको खाता खोलेर अन्तिम गोल ८८औं मिनेटमा गरेको थियो । इरिक म्याक्सिम चोउपो मोटिङ पहिलो गोल खेलको आठौं मिनेटमा तथा दोस्रो गोल २८औं मिनेटमा गरे । उनले ३५औं मिनेटमा ह्याट्रिक पूरा गरे भने ८२औं मिनेटमा चौथो गोल गरे ।

त्यसै गरी, जमल मुसिआलाले खेलको १६औं मिनेट र ४८औं मिनेट गरी २ गोल गरे । खेलको २७औं मिनेटमा बर्मरका लागि जान लुका वार्मले आफ्नै पोस्टमा गोल गरेका थिए । त्यसपछि बाँकी सबै गोल बार्यनका खेलाडीले गरे ।

जसमा खेलको ४७औं मिनेटमा मालिक टिल्लामानले गोल गरे भने ६५औं मिनेटमा लिरोए सानेले गोल गरे । त्यसपछि ८०औं मिनेटमा मिकेल चुइसान्सले गोल गरे भने ८६औं मिनेटमा बोउना सार्रले गोल गरे भने अन्तिम गोल ८८औं मिनेटमा कोरेन्टिन टोलिसोले गोल गरेपछि खेल बार्यनले १२–० ले जित्यो । बर्मर खेलको ७६औं मिनेटमा १० खेलाडीमा सीमित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्