बेन्फिका च्याम्पियन्स लिगमा छनोट



लन्डन ।

पोर्चुगिज क्लब बेन्फिका यूईएफए च्याम्पियन्स लिगमा छनोट हुन सफल भएको छ ।

पोर्चुगिज क्लब बेन्फिकाले प्ले अफमा डच क्लब पीएसभी आइन्डहोभेनलाई पराजित गर्दै च्याम्पियन्स लिगमा स्थान बनाएको हो । मंगलबार भएको दोस्रो लेग गोलरहित बराबरीमा सकिए पनि पहिलो लेगमा निकालेको २–१ को नतिजा नै बेन्फिकालाई छनोट हुन पर्याप्त बन्यो ।

फिलिप्स स्टेडियममा मंगलबार राति भएको खेलमा घरेलु टोली पीएसभीले बेन्फिका १० खेलाडीमा समेटिए पनि त्यसको फाइदा उठाउन सकेन । ३२औं मिनेटमा लुकास भेरिससिमो दोहोरो पँहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बेन्फिका १० खेलाडीमा समेटिएको थियो ।

त्यस्तै, अर्काे खेलमा स्विट्जरल्यान्डको योङ ब्वाइज र स्विस क्लब माल्मोले च्याम्पियन्स लिगमा स्थान पक्का गरे । योङ ब्वाइजले हंगेरीको फेरेन्कभारोसलाई पराजित गर्दै च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो । प्ले अफको दोस्रो लेगमा ३–२ ले तथा समग्रमा ६–४ को जित निकाल्दै योङ ब्वाइजले च्याम्पियन्स लिगमा स्थान बनाएको हो ।

योङ ब्वाइजको जितमा सेडरिक जेसिगर, क्रिस्टियन फासनाट्च र फेलिक्स मामविम्बीले गोल गरे । फेरेन्कभारोसका हेनरी विनगो र रायन माइले गोल गरे पनि हार टार्न सकेन । ६४औं मिनेटमा एइसा लाइडोनी दोहोरो पँहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि फेरेन्कभारोस समस्यामा परेको थियो । ७१औं मिनेटमा योङ ब्वाइजले पेनाल्टी सदुपयोग गर्न सकेन ।

त्यस्तै, स्विडेनको माल्मोले बुल्गेरियाको लुडोगोरेट्स राजग्राडलाई समग्रमा ३–२ ले पराजित गर्दै च्याम्पियन्स लिगमा स्थान बनायो । पहिलो लेगमा २–० को जित निकालेको माल्मोले दोस्रो लेगमा २–१ को हार बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्