एम्बाप्पेका लागि एक सय ६० मिलियनको प्रस्ताव



लन्डन ।

स्पेनी ला लिगा टोली रियल मड्रिडले पेरिस सेन्ट जर्मेनका फरवार्ड क्लियन एम्बाप्पेका लागि एक सय ६० मिलियन युरोको प्रस्ताव राखेको छ । विश्वकप विजेता फ्रेन्च खेलाडी एम्बाप्पे पेरिसमा सन् २०१७ मा १ सय ६५ मिलियन पाउन्डमा अनुबन्ध भएका थिए । उनको सम्झौता अवधि जुन २०२२ मा सकिँदैछ । उनले पेरिस टोलीका लागि एक सय ७४ खेल खेलेर १ सय ३३ गोल गरेका छन् । उनले फ्रेन्च क्लबमा रहेर घरेलु लिग वान र फ्रेन्च कप तीन–तीन पटक जितेका छन् ।

रियलको प्रस्तावलाई पेरिसले वास्ता गरेको छैन । पेरिसले हालै मात्र लियोनल मेसीलाई बार्सिलोनबाट अनुबन्ध गरेको छ । तर, पेरिसले पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्न लागेको पनि स्रोतले जनाएको छ । रोनाल्डोको युभेन्टसमा भविष्य अन्योल रहेको छ । यदि रोनाल्डोले मानेमा विश्वका दुई सुपरस्टार फुटबलर एकै क्लबबाट खेल्ने पाउनेछन् ।

कोभिड १९ को कारण तीन सय मिलियन युरो घाटा भएको रियलले फ्रि ट्रान्सफरमा एक खेलाडी मात्रै अनुबन्ध गरेको छ । रियलले डिफेन्डर डेभिड अलाबालाई बायर्न म्युनिखबाट निःशुल्क अनुबन्ध गरेको हो । रियलबाटै सर्जियो रामोस पेरिसमा निःशुल्कमा गएका छन् । क्लबले राफाएल भारानेलाई म्यानचेस्टर युनाइटेडमा ३४ मिलियन पाउन्डमा बेचेको छ ।

प्रतिक्रिया दिनुहोस्