एएफसी र केल्मीबीच सम्झौता



नेपाल समाचारपत्र, काठमाडौं ।

एसियाली फुटबल महासंघ (एएफसी) र खेलकुद सामग्रीको अन्तर्राष्ट्रिय निर्माण कम्पनी केल्मीबीच तीन वर्षका लागि सम्झौता भएको छ ।

केल्मीले सन् २०२२ देखि २०२४ सम्म एएफसीले आयोजना गर्ने राष्ट्रिय टोलीबीचको प्रतिस्पर्धामा खेल सामग्री उपलब्ध गराउने छ । त्यस्तै, सन् २०२३ मा चीनमा आयोजना हुने एएफसी एसिया कपमा केल्मीको बल प्रयोग गरिनेछ । विश्वकप छनोटअन्र्तगत शीर्ष १२ को खेल, एएफसीले आगामी आयोजना गर्ने एसिया कप, एएफसी महिला एसिया कप र एएफसी यू २३ एसिया कपमा केल्मीको सहकार्य रहनेछ ।

खेल सामग्री उत्पादनमा ६ दशकभन्दा लामो अनुभव बटुलेको केल्मीले ला लिगा र दोस्रो डिभिजनका क्लबलाई प्रायोजन गर्दै आएको छ । त्यस्तै केही वर्षयता प्रिमियर लिग टोली, रसियन सुपर लिग क्लब र अन्य अन्तर्राष्ट्रिय क्लबलाई पनि प्रायोजन गर्दै आएको छ । चीनको महिला सुपर लिग क्लब, चाइना लिग वान, टु लगायतका क्लबसँग पनि केल्मीले सहकार्य गर्दै आएको छ ।

केल्मीले नेपाली महिला र पुरुष भलिबल टोलीलाई प्रायोजन गर्दै आएको छ । यसअघि तीन वर्ष राष्ट्रिय फुटबल टोलीलाई पनि केल्मीले प्रायोजन गरेको थियो । हालै सम्पन्न टोकियो ओलम्पिक र मंगलबार शुरू हुने पारालिम्पिकका सहभागी खेलाडीलाई पनि प्रायोजन गरेको छ । हालै नेपाल गल्फ संघसँग पनि केल्मीले सहकार्यका लागि सम्झौता गरेको छ । देशभर केल्मीका १३ वटा आउटलेट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्