म्यानचेस्टर सिटीद्वारा गोल वर्षा



लन्डन, (एजेन्सी) ।

इंग्लिस प्रिमियर लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले जारी सिजनको दोस्रो खेलमा गोलको वर्षा गरेको छ ।

शनिबार राति भएको नयाँ सिजन २०२१–२२ अन्तर्गत सिटीले नर्भिच सिटीमाथि ५–० को फराकिलो गोलअन्तरको जित निकालेको हो । यसअघि सिटी सिजनको पहिलो खेलमा भने पराजित भएको थियो । तर, दोस्रो खेलमा सिटीले शानदार जित निकाल्न सफल भयो । आफ्नो घरेलु मैदानमा सिटीले पाहुना टोलीविरुद्ध चार गोल गर्दा एक गोल भने उपहारमा पायो । सिटीको जितमा चार जना फरक–फरक खेलाडीले गोल गरे । जसमा नयाँ खेलाडी ज्याक ग्रिलिसले पनि सिटीको जर्सीमा पहिलो गोल गर्न सफल भए ।

सिटीले खेलको सातौं मिनेटमा उपहार गोलको मद्दतमा अग्रता लिएको थियो । नर्भिचका टिम क्रुलले आफ्नै गोलपोस्टमा गोल गरेका थिए । त्यसपछि सिटीले लगातार चार गोल गर्न सफल भयो । खेलको २२औं मिनेटमा ग्रिलिसले गोल गरे । उनले सिटीको जर्सीमा दोस्रो म्याच खेल्नेक्रममा पहिलो गोल दर्ता गराए ।

त्यसपछि ६४औं मिनेटमा एमेरिक लापोर्टेले गोल गरे भने ७१औं मिनेटमा रहिम स्टर्लिङले गोल गरे । ८४औं मिनेटमा रियाद महारेजले गोल गरेपछि खेल सिटीले ५–० ले जित्यो । यो जितपछि सिटी तीन अंकका साथ चौथो स्थानमा रहेको छ ।

प्रिमियर लिगअन्तर्गत अर्को खेलमा लिभरपुलले लगातार दोस्रो जित निकाल्यो । नयाँ सिजनको दोस्रो साताको खेलमा लिभरपुलले आफ्नो घरलु मैदानमा पाहुना टोली बर्नलीमाथि २–० को सहज जित निकालेको हो । एनफिल्डस्थित रंगशालामा दर्शकले खचाखच भरिएको घरेलु मैदानमा क्लिन सिटसहितको जित निकाल्दा लिभरपुलका लागि दुई जना युवा खेलाडीले गोल गरे ।

लिभरपुल शुरूवातबाटै हाबी भएको खेलमा पहिलो गोल खेलको १८औं मिनेटमा पोर्चुगिज फरवार्ड डिएगो जोटाले गरेका थिए । पोर्चुगलका खेलाडीको दर्शनीय हेडिङ गोलसँगै घरेलु दर्शकले उक्त गोलमा शानदार खुशीयाली मनाएका थिए । उनकै गोलको मद्दतमा पहिलो हाफमा लिभरपुलले १–० को अग्रता बनायो ।

त्यसपछि लिभरपुलले दोस्रो हाफमा अग्रता दोब्बर बनायो । खेलको ६९औं मिनेटमा सेनेगलका स्टार खेलाडी साडियो मानेले शानदार गोल गरेर टिमको अग्रता बढाए । अर्नोल्डको लामो पासमा गोलपोस्टअघि रहेका मानेले हाफ भलीमा आकर्षक गोल गरेका थिए । उनको भलीमा बर्नलीका डिफेन्डर र गोलकिपरले रोक्ने कुनै मौका नै पाएनन् । मानेको गोलपछि खेलको बाँकी समयमा दुवै पक्षबाट थप गोल हुन सकेन र लिभरपुलले खेल २–० ले जित्यो । यो जितसँगै लिभरपुलले शुरूवाती दुवै खेल जितेर ६ अंक बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्