बरालिँदो देशको युवा–जनशक्ति



डिल्लीराम मिश्र ‘कलमजीवी’

युवा–जनशक्ति कुनै पनि राष्ट्रको भविष्यका कर्णधार र चम्किला प्रतिभा हुन् । देश, समाज र राष्ट्रले उनीहरुबाट बढीभन्दा बढी आशा र अपेक्षा गरेको र राखेको हुन्छ । विश्वमा युवा–जनशक्ति बढी परिचालन भएका मुलुकहरुलाई हे¥यौं भने पनि ती देशहरुले चमत्कारी शैलीमा विकास र प्रगति गरेका छन् । छिमेकी मित्रदेश चीनले विश्वमै बढीभन्दा बढी युवा–जनशक्ति परिचालन गरेको छ । युवावर्गको काँधमा नै देशको भविष्य र समाजको अस्तित्व जीवन्त रहेको हुन्छ । तर विडम्बना ! नेपालको अक्षम राजनीतिक नेतृत्व वर्ग र युवाहरुको आकाङ्क्षाबीच कुनै प्रकारको सकारात्मक, सिजर्नात्मक र निर्माणात्मक पाटोमा गतिशीलताको संवाद नै हुन सकेन । एक चिनियाँ प्राध्यापक डा. हुले भनेका छन्, ‘नेपाल सुनको कचौरा बोकेर भीख मागिरहेछ ।’ कति मर्मस्पर्शी छ यो उद्गार ? तर हाम्रा विवेक नभएका भुसतिग्रेहरुलाई यो भनाइले अलिकति पनि छुँदैन ।

कुनै पनि शासन व्यवस्था आफैंमा साध्य हैन, साधनमात्र हो । यद्यपि विश्वमै संसदीय लोकतन्त्रको विकल्प छैन भनिएको छ । तर शासनसत्ताको नेतृत्व गर्नेहरुको नियत र चरित्र ठीक नहुँदासम्म शासन प्रणाली जतिसुकै राम्रो भए पनि त्यसबाट जनताले सामूहिकरुपमा उत्तम प्रतिफलको आशा गर्नु नेपालमा त अब बेकार नै जस्तो भइसकेको छ । देशमा विगत वर्षहरुमा त्यही नै भयो, जुन नहुनुपर्ने थियो । त्यसैले बहुदलीय प्रजातन्त्र भएका देशमा सक्षम र सचेत युवावर्ग र युवा–जनशक्तिको भूमिका एवं दायित्व जिम्मेवारपूर्ण रहन्छ । देशमा बढी रोजगारका अवसरहरु उपलब्ध गराउनु र प्रतिभा पलायनलाई समयमै रोक्नु राज्यको दायित्वभित्र पर्छ । सक्षम प्रतिभा पलायनलाई समयमै रोक्न सकिएन भने देशले अझ अधोगति भोग्नुपर्ने निश्चित छ । नेपालमा १६ देखि ४० वर्षसम्मका युवा–युवतीहरुको जनसङ्ख्या झन्डै ४० प्रतिशत रहेको छ, जुन विकासको लागि अत्यन्त ठूलो सम्भावना हो ।विश्वको महाशक्ति राष्ट्र संयुक्तराज्य अमेरिकाले आफ्नो सक्षम युवा–जनशक्ति देशबाहिर पठाएर होइन, बल्की देशमै सम्पन्न बनाएर चमत्कारी शैलीमा भौतिक विकास र प्रगति गरेको हो । अमेरिकाले आफ्नो देशको विकासका लागि बाहिरका योग्य प्रतिभाहरुलाई सम्मानजनक स्थान दिएको छ । अमेरिकामा अधिकांश प्रतिभा पलायनको एउटा सकारात्मक कारण यो पनि हो । देशमा उत्पन्न असहज परिस्थितिका कारण एक दशक लामो माओवादी युद्ध पीडाले गर्दा आज हजारौं हजार युवा–जनशक्ति विदेश पलायन भएको कारुणिक अवस्था पनि विद्यमान छ ।

यस्तो अवस्थामा देशका युवा–जनशक्तिलाई कसरी सिर्जनशील, रचनात्मक र उत्पादनमुखी बनाउन सकिन्छ भन्ने सोचमा राज्यले समयमै ध्यान केन्द्रीत गर्नुपर्ने हुन्छ । हाम्रा पूर्वजहरुमा के–कस्तो प्रकारको जोश, जाँगर, विवेक र होस थियो ? तर आजका नेपाली युवाहरुलाई निराशा र विकृतिले बढी गाँजेको छ । त्यसैले युवाहरु बढी अध्ययनशील, मेहनती, जागरुक र यथार्थवादी हुनु जरुरी छ ।विश्वमै संसदीय प्रजातन्त्रको जननी भनेर चिनिने विकसित मुलुक बेलायतमा युवा–जनशक्तिको प्रयोग र परिचालन हदैसम्म भएको छ । बेलायतमा अहिलेसम्मको अधिकांश इतिहासको सेरोफेरोमा ५२–५३ वर्षभन्दा कम उमेरका युवाहरुद्वारा देशको शासन नेतृत्व सम्हालेका छन् । बेलायतमा एक दशकअघि सम्पन्न आमनिर्वाचनमा कन्जरभेटिभ पार्टीका ४३ वर्षीय नेता डेभिड क्यामरुन देशको प्रधानमन्त्री भएका थिए । बेलायतको दुई सय वर्षको इतिहासमा उनी सबैभन्दा कम उमेरका प्रधानमन्त्री हुन् । उनको दुईपटकको कार्यकालको प्रधानमन्त्रीत्वमा भएको विकास बेलायतमा अनुकरणीय मानिन्छ । लेखक एवम् राजनीतिक विश्लेषक सीकेलालको अध्ययनमा नेपालमा चार कोटिका युवाहरु रहेका छन् । यीमध्ये कोही उमेर पुगेपछि मौका पाउनासाथ विदेशिने तरखरमा छन् । कोही विदेश जान नपाएर छटपटिँदै छन् । कोही विदेश पुगिसकेकाले सार्वजनिकरुपमा देशभक्तिको कुरा छाँट्छन्, तर व्यक्तिगत समय नेपाल र नेपालीको मीन–मेष निकाल्नमा खर्चिन्छन् तथा बचेका भने निराश फैलाउँदै अब यो देशमा केही हुनेवाला छैन भनी हिँड्छन् । आज देशका युवावर्गहरुको गतिमति मात्र हैन मुलुकको शासन सत्ता सञ्चालन गर्नेहरुको पनि यस्तै हबिगत भएको छ ।

विश्व इतिहासकै घटनाक्रम र निर्माणको पक्षमा एउटा दरिलो आधार के हो भने, कुनै पनि क्रान्ति, जनक्रान्ति र प्रतिक्रान्तिको सङ्घर्षद्वारा विजय प्राप्त गरेका सबल शक्तिहरुले देशको राज्य सञ्चालनको नेतृत्व लिएका हुन्छन् । तिनै शक्तिहरुले देशमा राज्य संरचनाको दिगो आधारशिला निर्माण गरेका हुन्छन् । यस सबल पक्षमा धेरै पर नगए पनि नेपालका दुई छिमेकी मुलुक चीन र भारततर्फ एकपटक फर्केर हेरौं– एकै दशकको हाराहारीमा स्वतन्त्र भएका भारत, चीन र नेपालमध्ये भारत र चीन यावत् विकासको दृष्टिमा आज कहाँ पुगे ? चीनले गरेको भौतिक र आर्थिक विकासले विश्वलाई नै चुनौती दिएको छ भने अङ्ग्रेजहरुले निर्माण गरेको दरिलो जगमा भारतले पनि चमत्कारी शैलीमा विकास गरेको छ । यतिखेर यहाँ उठान गर्न खोजिएको सवाल के मात्र हो भने, भारत स्वतन्त्र भएपछि मुलुकको सबल नेतृत्व भारतीय नेता जवाहरलाल नेहरु र लालहादुर शास्त्रीजस्ता विराट व्यक्तित्वले लिएका थिए । विचार र चिन्तनका प्रतिमूर्ति महात्मा गान्धीले सत्ता सम्हालेनन् तर पं. नेहरु र शास्त्रीले झन्डै २० वर्षसम्म भारतमा राज्य सञ्चालन गरेर दिगोरुपमा प्रजातान्त्रिक संस्कार, मूल्य–मान्यता र कानुनी राज्यको अवधारणालगायत विकासका थप पूर्वाधारको राम्रो स्थिति बसाले ।

त्यसै गरी चिनियाँ जनसांस्कृतिक क्रान्तिद्वारा चीनले स्वतन्त्रता प्राप्त गरेपछि महान् चिनियाँ नेताहरु माओत्सेतुङ, देङ्सियाओ पिङ र चाउएनलाएजस्ता युगपुरुषहरुको नेतृत्वमा चीनले सफलता प्राप्त ग¥यो । आज चीनले गरेको आर्थिक विकासको बृद्धिदर विश्वमै सबैभन्दा बढी छ । यसो हुनुमा पनि चीनमा युवा–जनशक्तिको सही परिचालन नै हो । त्यहाँ पनि सक्षम र प्रभावकारी नेतृत्वकै सफलताको कुरा आउँछ । अहिलेका चिनियाँ राष्ट्रपति सी जिङपिङको सक्षम र सफल नेतृत्वले चीनलाई चमत्कारी मार्गमा अघि बढाएको छ । उनको नेतृत्व कति सन्तुलित र प्रभावकारी छ, जसलाई विश्व जनमतले नै स्वीकार गरेको तथ्य हो ।२००७ सालमा जनक्रान्तिद्वारा संसदीय प्रजातान्त्रिक युगमा प्रवेश गरेको नेपालले २०४६ सालको जनआन्दोलनद्वारा पुनः बहुदलीय शासन व्यवस्था प्राप्त ग-यो । जनआन्दोलनपश्चात् २०४८ सालमा सम्पन्न पहिलो संसदीय आमनिर्वाचनमा नेपाली जनताको व्यापक समर्थनमा नेपाली कांङ्ग्रेसले बहुमत प्राप्त ग-यो तर देशकै अशुभ व्यक्ति गिरिजाप्रसाद कोइरालाकै कारण बहुमत प्राप्त दलभित्रकै आन्तरिक कलहले जननिर्वाचित सरकार विघटन हुन पुग्यो । देश, समाज र राष्ट्रको हित विपरीत जननिर्वाचित संसद् विघटनका कारण २०५१ सालपछिको राजनीतिक विकृतिले गर्दा निर्दोष नेपाली जनताले अझै पनि यो दुर्दिन भोगिरहनुपरेको छ । कुनै पनि शासन व्यवस्थाले जनतालाई तीन कुराको प्रत्याभूति गरेको हुन्छ– पहिलो शान्तिसुरक्षा, दोस्रो आर्थिक विकास र तेस्रो सामाजिक न्यायजस्ता आधारभूत मानवीय पक्षमा सरकारले ध्यान केन्द्रीत गरेको हुनुपर्छ, तर विगतका वर्षहरुमा जनताका समस्या समाधान गर्नेतर्फ कसैको पनि ध्यान गएन ।

नेपाली जनताको व्यापक जनसहभागितामा सम्पन्न जनआन्दोलन २०६२÷०६३ पछि पनि नेताहरुको नियत, चरित्र र संस्कारमा खासै सुधार हुनसकेन । पात्रहरु फेरिए तर प्रवृत्ति, नियत र चरित्र भने उस्तै । देशले कहाँ गएर कस्तो निकास लिने हो, त्यो पनि अझै अन्यौलकै स्थितिमा छ भने युवावर्ग त झनै कुहिरोको काग नै बनेको छ । देशको दलगत संस्कृतिले नै यस्तो विकास गरेको छ कि गुट–उपगुटको माध्यमबाट नेताको छत्रछायामा परिएन भने अघि बढेर केही प्रगति गर्न सकिँदैन । नेताहरुको गलत चिन्तनको कारणले युवा–जनशक्ति झनै अराजक बन्दै गएको छ । देश निर्माणको सुदूर र निकट भविष्यमा पनि युवावर्गको भूमिका अझ बढी प्रभावकारी रहन्छ । आज देशमा नीतिहीन नेतृत्व र गतिहीन गन्तव्यका कारण युवा–जनशक्ति परिचालन समस्याको रुपमा देखा परेको छ ।मुलतः राजनीति कुनै पनि देशको मूलनीति हो, तर नेपालमा यो नीति यति धेरै बदनाम भैसकेको छ, जसबाट नेपाली जनताले सुन्दर भविष्यको कल्पनासम्म गर्न पनि छोडिसकेका छन् । निजी स्वार्थ, सत्ता सङ्घर्ष र आ–आफ्नै आडम्बरको नाउँमा देश र जनताको महत्व नबुझेका नेताहरुमा जनता भनेका केही पनि होइनन्, जनतामाथि जति शोषण गरे पनि हुन्छ भन्ने मानसिकता छ । मुलुकको कुनै पनि क्षेत्रमा यहाँ त राम्रो काम भयो भनेर सन्तोष लिने र चित्त बुझाउने ठाउँ नै छैन ।

आज देशमा सङ्घीय लोकतन्त्र स्थापना भएको पनि एक दशक नाघिसकेको छ तर नेपाली जनताको जीवनस्तर र देशको प्रगतिमा केही पनि सुधार हुन सकेको छैन । अहिले देशमा भ्रष्टाचार यति मौलाएको छ, जुन ३२ वर्षको नेपालको इतिहासमै कहिल्यै भएको थिएन, आज अर्बौं अर्बको सङ्ख्यामा भ्रष्टाचार हुने गरेको छ । त्यसलाई नियन्त्रण गर्ने बाटोमा कुनै पनि सरकार हिँडेका छैनन् । एउटा चाख लाग्दो तथ्य के भने सन् १९६१ तिर दक्षिण कोरिया र नेपालको प्रतिव्यक्ति आय बराबर थियो तर आज कोरियाको यावत विकासका साथै प्रतिव्यक्ति आय झन्डै ३५ हजार अमेरिकी डलर पुगेको छ । प्रश्न उठ्छ, यतिखेर नेपाल कहाँ छ ? आज ४५ हजारभन्दा बढी नेपाली युवाहरु कोरियामा गएर त्यहाँको विकासको निमित्त रगत–पसिना भिजाएका छन् । कस्तो विडम्बना हो यो ? सरकारको सत्ता उन्माद र विनायोजनाको कोरा भाषणबाट आज जनता आक्रान्त बनेका छन् । त्यो भन्दा पनि दुःखको कुरा पञ्चायत व्यवस्थाले आफ्नो विरासतको रुपमा जम्मा २९ अर्ब रुपियाँ वैदेशिक ऋण नेपाली जनतालाई छोडेर गएको थियो तर आज यो ऋण १७ सय अर्बभन्दा बढी पुगेको छ, शायद गणतन्त्रको उपलब्धि यसैलाई भनिन्छ होला । त्यसैले एकल बहुमतको सरकार वा संयुक्त सरकार बने पनि आखिर सबैको उद्देश्य र नियत आफ्नो निजी स्वार्थ पूरा गर्नमा नै राष्ट्रको सम्पूर्ण समय र स्रोत परिचालन भएको तथ्य अब त सबै पठित–अपठित नेपाली जनताका सामु घामजस्तै छर्लङ्ग भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्