बेनको फ्लोअर्स रकेट सरह आकासियो



लन्डन, (एजेन्सी) ।

ब्राजिलसँग १–० ले हारेपछि चिली कोपा अमेरिकाको क्वार्टरफाइनलबाट बाहिरियो । टिमको कोपा अमेरिकामा निरास नतिजा आए पनि एक खेलाडीको लोकप्रियता निकै चुलियो । सो खेल दौडान चिलीका बेन ब्रेरेटनको लोकप्रियता रकेट सरह आकासिएको हो । यो खेल खेल्न अघि बेनको इन्स्टाग्राममा उनको फलोअर्सको संख्या करिब ८० हजारको हाराहारीमा थियो । तर, ब्राजिलविरुद्ध चिली खेलिरहँदासम्म बेनको फलोअर्स संख्या ह्वात्तै ८ लाखमा पुग्यो ।

बेनले बताए–‘हामीले समर्थकसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सकिँदैन किनभने कोभिड अझै छ । तर, उनीहरूले मलाई उपहार पठाएका छन्, जसमा ५० भन्दा बढी चकलेटको बक्स मैले पाएको थिएँ ।’

बेन चिलीमा फर्केको विदेशी खेलाडी हुन् । उनी चिली पुगेपछि त्यहाँका राष्ट्रिय नायक नै बने । पत्रकार सेसिलिया लागोसले बताइन्–‘विदेशीहरूलाई चिलियनहरूले साँच्चिकै स्वागत गरिरहेका छन्, त्यो आधा चिलियन किन नहोस् । उनीहरूले बेनमाथि गोलको अपेक्षा गरेका छन् । यदि उनले सक्दैनन् भने उनको हनीमुन समय समाप्त हुनेछ ।’

बेन ब्लाकबर्न रोभर्सका खेलाडी हुन् । गत सिजनको च्याम्पियनसिपमा उनको टिम १५ औं स्थानमा रहेको थियो । उनी त्यहाँबाटै कोपा अमेरिका खेल्न पुगे । कोपा अमेरिका खेलेर उनको आत्मविश्वास बढेको बेनले बताए । अब उनको लक्ष्य कतार विश्वकप खेल्नु रहेको छ । उनले बताए–‘आशा छ कि मलाई छनोटको लागि बोलाउनेछ र के हुन्छ हेरौं ।’

बेनले इंग्ल्यान्डको यू १९ राष्ट्रिय टिमबाट खेलेका थिए । तीन वर्ष अघिको यू १९ युरोमा उनी शीर्ष गोलकर्ता थिए । हाल २२ वर्षका उनले नेयमार र लियोनल मेसीविरुद्ध खेल्न पाएका छन् । चिलीको लागि खेलेपछि उनले सरनेममा डियाज थपेका छन्, उनको नाम बेन बे्ररेटन डियाज भएको छ । उनले स्पेनी संस्कृतिअनुसार बुबा र आमाको सरनेम राखेका हुन् । उनकी आमा चिलियन हुन् भने उनका बुबा इंग्लिस हुन् ।

बेनको पूरा नाम बेन्जामिन एन्थोनी ब्रेरेटन हो । उनको जन्म १९९९ मा स्टोक अन ट्रेन्टमा भएको थियो । उनले ब्लाइथ ब्रिज हाइ स्कुलमा उनले पढेका थिए । उनी युवा हुँदा नै इंग्लिस क्लबहरू म्यानचेस्टर युनाइटेड र स्टोक सिटीमा बुक भएका थिए । स्कुलका सिनियर एलेक्स ज्याकसनले उनलाई ९ वर्षको उेमरमा भेटेका थिए । ज्याकसनले बताए–‘उनी साधारण खालका फुटलबर होइनन् । उनको परिवार सहयोगी छन् र यदि उनले मेहनत नगरेमा पिट्नेछन् ।’

२०१८ मा एफए कपमा आर्सेनलमाथि ४–२ को जित हात पारेपछि बेनमाथि क्लबहरूको नजर परेको थियो । २०१९ मा बेनलाई ब्लाकबर्नले ७ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । यू १९ युरोमा खेल्दा उनले चेल्सी स्टार मेसन माउन्टसँग खेलेका थिए । उनले युरो यू १९ मा तीन गोल गरेका थिए । तर, ईवुड पार्कमा उनको पहिलो दुई सिजन नराम्रो भएको थियो । उनले केवल २ गोल गरेका थिए ।

बेनले इंग्ल्यान्ड छाड्नुको कारण परिवारको खुशी भएको बताए । उनले स्पष्ट पारे–‘मेरो लागि यो बददिमाग होइन, इंग्ल्यान्ड छाडेर चिली जानु कारण एउटै हो कि चिलीले मलाई चाहेको थियो । मलाई लागेको छ कि मेरो परिवारलाई गर्वित तुल्याउन मौका यो हो । मेरो बुुबाले समेत मलाई ठिकै गर्‍यो भन्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्