एक वरिष्ठ वकिलको संघर्षशील जीवन–कथा ‘अन्तर्य’



  • रोहिणी घिमिरे 

वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती न्यायक्षेत्रमा परिचित नाम हो । उनको ३० वर्षको वकालत पेसाका तीता–मीठा अनुभवसहित जीवनको संघर्षमय कथा समेटिएको ‘अन्तर्य’ नामको पुस्तक हालै बजारमा आएको छ ।

अग्लो कद, वजनदार स्वर र तार्किक क्षमताका समेत धनी मानिएका उप्रेतीलाई कर्मचारीका मुद्दा हेर्नमा माहिर वकिलका रुपमा लिइँदो रहेछ । एकदिन सर्वोच्च अदालतका न्यायाधीश प्रकाश वस्तीले ‘उहाँ त काका हो नि !’ भनेर आफूलाई सम्बोधन गरेको देख्दा शुरुमा त वकिल उप्रेतीले बुझेनछन् । पछि बल्ल बुझेछन् । किन काका भनिएको भन्ने विषयमा पुस्तकमा लेखक उप्रेतीले स्पष्ट पारेका छन् ।

ताप्लेजुङको विकट फट्याङ्ग्रे गाउँमा जन्मिएर त्यहीँको डिट्ठा चौतारोमा अक्षरारम्भ गरेको अनि काठको पाटीमा धूलो छरेर बाँसका तिस्कलाले लेख्न सिकेको उप्रेतीको बाल्यकालको कहानी एकादेशको कथाजस्तै लाग्छ । आठ वर्षको उमेरमा झापाको सुरुङ्गामा बुबा–आमासँगै बसाइँ सर्दा काठको घरमा प्रवेश गरेको स्मरण अहिले पनि रहेछ उप्रेतीलाई । अहिलेको कुनै आलिसान महलमा प्रवेश गरेको जति नै अनुभव भएको कुरा पुस्तकमा उल्लेख छ । तोपगाछीमा स्कुल पढ्दा, राजविराजमा कलेज पढ्दा र काठमाडौंमा ल क्याम्पस पढ्दाका प्रसंगहरु त्यत्तिकै पठनीय छन् ।

बुबाको अन्तिम अवस्था र मृत्युको शोकको प्रसंगले पाठकलाई नएकोहोर्‍याऊला भन्न सकिन्न । ‘परिवारजनलाई एकसूत्रमा बाँध्ने काम गर्दो रहेछ हाम्रो पितृ संस्कारले । छिमेकीसँग सम्बन्ध बिग्रेको छ भने पनि सुधार्ने मौका प्रदान गर्दो रहेछ’, उप्रेतीले भनेका छन् ।

एउटा मुद्दा जिताउन पितृको आशीर्वाद माग्दा सो मुद्दा जितेकोले त्यसबाट प्राप्त रकमले हजुरबुबा– हजुरआमाको स्मृतिमा छात्रवृत्तिसमेत स्थापना गरिएको रहेछ । बुबा–आमाका नाममा रमा–पद्म छात्रवृत्ति कोषसमेत स्थापना भएको रहेछ । यस्तै–यस्तै १८ शीर्षकमा लेखिएका व्यक्तिगत जीवन र जराका कुराहरुले पुस्तकको पहिलो खण्ड भरिएको छ ।

यस्तै खण्ड २ मा राजनीतिक परिवेशका कुराहरु छन् । त्रिचन्द्र कलेजमा बलराम समालको भाषण सुन्दाको क्षण रोचक पाराले वर्णन गरिएको छ । उप्रेती लेख्छन्, ‘आकाश गर्जिरहेको थियो । उनी रुझी–रुझी भाषण दिँदै थिए । भन्दै थिए– योद्धाहरू पानीबाट कहिल्यै डराउँदैनन्, को भन्न सक्छ नेपालको आकाशमा क्रान्तिको बादल छाएको छैन भनेर ?’ श्रोताहरूलाई पानीले भिजाए पनि भाषणका शब्दहरु उप्रेतीलाई अद्भूत लागेको रहेछ ।

त्यस्तै २०२८ सालको रक्तिम झापा अनि २०३६ सालमा ल क्याम्पस पढ्दाको आन्दोलनले राजनीतिमा सक्रियता बढाएको कुराले पाठकलाई त्यत्तिकै जुरुक–जुरुक पार्ने देखिन्छ । जागिरका लागि गरेका प्रयासहरु, नाम निस्कँदाको क्षण अनि न्याय सेवाको शाखा अधिकृतमा नाम निकालेर विभिन्न स्थानमा कार्य गर्दाका कहानीहरु त्यत्तिकै रोचक छन् । कानुन मन्त्रालयमा जागिरे भएकै अवस्थामा कर्मचारी आन्दोलनमा संलग्नता भएका प्रसंगहरु र राजीनामा गर्नुपर्ने बाध्यताको वर्णन अहिलेका कर्मचारीहरुका लागि शिक्षाप्रद हुने देखिन्छ ।

राजनीतिक हस्ती मदन भण्डारीको रहस्यमय मृत्युका बारेमा तार्किक वर्णन गरिएको छ । उप्रेती लेख्छन्, ‘उहाँकी धर्मपत्नी विद्यादेवी भण्डारी यो देशको राष्ट्रपति बन्नुभयो । समकालीन केपी ओली यो देशको प्रधानमन्त्री बन्नुभयो तर पनि त्यो हत्यारा पत्ता लाग्न नसक्दा यो मन पनि विह्वल हुन्छ ।’ धाराप्रवाह र अत्यन्त सन्तुलित ढङ्गले बोल्ने क्षमताले नै मदन भण्डारी जनमनको मान्छे हुन सकेको कुरा पुस्तकमा उल्लेख छ ।

अर्का कम्युनिस्ट हस्ती मनमोहन अधिकारीका विषयमा पनि कलम चलाइएको छ । पुस्तकमा भनिएको छ, ‘उहाँले देखाउनुभएको आदर्शका डोबहरू मात्र बाँकी छन् । उहाँका कहिल्यै ननाशिने सशक्त विचारहरू बाँकी छन् । उहाँको हिमच्छादित टल्कने निष्कलङ्क र स्वच्छ छवि बाँकी छ ।’

यसै गरी डा. रामवरण यादव नेपालका प्रथम राष्ट्रपति हुने सौभाग्य कसरी प्राप्त भयो ? यी कुरालगायत उनी खासै विवादित भएनन् भन्ने कुरा पनि पुस्तकमा उजागर गरिएको छ । हरि उप्रेतीले डा. रामवरण यादवलाई सल्लाह दिएका रहेछन्, ‘नेपाली सेनाले जस्तै सेनाको बर्दी लगाउने राष्ट्रपति हो भने नेपाली सेनालाई कमान्ड गर्न पनि मिल्छ । यदि बर्दी लगाउने राष्ट्रपति होइन भने कमान्ड गर्न पनि मिल्दैन ।’
राष्ट्रपति रामवरण यादव छउन्जेल राष्ट्रपतिको तर्फबाट आयोजना गरिने राष्ट्रिय कार्यक्रमहरूमा आफूलाई निम्ता आउने गरेको तर नेपालको पहिलो महिला राष्ट्रपतिको रूपमा विद्यादेवी भण्डारी आएपछि भने राष्ट्रपतिले आयोजना गर्ने कार्यक्रम हुँदा निम्ता आउन छाडेको कुराले भने लेखक उप्रेतीलाई निराश बनाएको रहेछ ।

पुस्तकको खण्ड ३ मा वकालत र न्यायपालिकासम्बन्धी कुरालाई समेटिएको छ । यस खण्डमा ३२ शीर्षकमा न्यायक्षेत्रका कुराहरु पोखिएका छन् । जागिर छोडेर वकालत पेसामा लागेका कुरा बडो पठनीय लाग्छ । वकालत सिकेर कहिल्यै नसकिने कुरा उप्रेतीले यहाँ दर्शाएका छन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद पन्तबाट उप्रेतीले सिकेका सूत्रहरु अन्य पेसाका व्यक्तिहरुलाई पनि उपयोगी देखिन्छन् । पन्तलाई उद्धृत गर्दै पुस्तकमा भनिएको छ, ‘शुरु–शुरुमा धेरै मेहनत गर्नुपर्छ तर पैसा हुँदैन । त्यसपछि मेहनत पनि अलि कम गर्दा हुन्छ, पैसा पनि अलि हुन्छ । तेस्रो चरणमा पुगेपछि मेहनत त्यति धेरै गर्नुपर्दैन तर पैसा भने मनग्गे हुन्छ ।’

वकिलहरुका विरोधाभासपूर्ण भूमिकाका बारेमा कतिपयको नाम नै किटेर पुस्तकमा उल्लेख गर्नु वरिष्ठ अधिवक्ता उप्रेतीको साहस नै मान्नुपर्छ । गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा दुवै प्रधानमन्त्रीले गरेका संसद् विघटनसम्बन्धी विवादहरू सर्वाेच्च अदालतमा गएका रहेछन् । काङ्गे्रस पार्टी निकट वकिलहरूले गिरिजाको पक्ष र मनमोहनको विपक्षमा, अनि एमाले पक्षधर वकिलहरूले गिरिजाको विपक्षमा र मनमोहनको पक्षमा वकालत गरेका रहेछन् । आ–आफ्नो राजनीतिक निकटताको आधारमा यसो गरिएको रहेछ । तर गणेशराज शर्माले उक्त दुवै विघटनका मुद्दामा दुवै पटक प्रधानमन्त्रीको पक्षबाट बहस गरेको कुरा पुस्तकमा उल्लेख छ । यसरी विपरीत भूमिकामा प्रस्तुत हुन पाउने÷नपाउने विषयमा कानुनले नै स्पष्ट गरिदिएको भए विरोधाभास नै आउने थिएन होला भन्ने उप्रेतीको तर्क छ ।

आफूले सम्पूर्ण जोड लगाएर काम गर्दा पनि न्यायाधीशको कारण कहिलेकाहीँ न्याय पाउनुपर्नेले नपाएका प्रसंग पनि उल्लेख छन् । न्याय नपाउँदै मृत्युवरण गर्नुपरेका घटना पनि समावेश गरिएकाले पुस्तकको वजन बढेको देखिन्छ ।

वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद पन्त, कुसुम श्रेष्ठ, नारायण वल्लभलगायतको चर्चा मृत्युपछि पनि श्रद्धाको पर्याय बनेको छ पुस्तकमा । न्यायक्षेत्रमा हुने गरेको घूसका कुरामा तैँ चुप मै चुप हुने गरेको अनि गैंडाको मुद्दामा घूस खानेलाई गैंडाछाप र माछापोखरीको मुद्दामा घूस खानेलाई माछाछाप भनी नामकरण गर्ने गरेको उल्लेखले न्यायक्षेत्र पनि भ्रष्टाचारमुक्त छैन भन्ने संकेत गरेको छ ।

केही प्रधानन्यायाधीश र न्यायाधीशका प्रसंगले पुस्तकलाई झनै गहकिलो बनाएको छ । केही विवादित पनि भएका छन् । को–को के–कसरी विवादित हुन पुगे भन्ने कुरा पुस्तकमा उल्लेख छ । अरुको त कुरै छोडौं, शालीन भनिएका तत्कालीन प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा केही कुरामा विवादित हुन पुगेका रहेछन् । अदालतभित्रको चरम गुटबन्दी बाहिरबाट हुने हस्तक्षेपभन्दा चर्काे देखिएको कुरा पनि पुस्तकमा समेटिएको छ ।

यसै गरी खण्ड ४ मा दरबार हत्याकाण्ड, महाभूकम्प, अदालतको चियापसलजस्ता २९ विषयमा निबन्धनात्मक एवं विश्लेषणात्मक लेखहरु समावेश गरिएका छन् । चिया र अदालतको चियापसल शीर्षकको लेख पढ्दा भैरव अर्यालको आलु निबन्ध पढेजस्तै लाग्छ । कथाका रुपमा लेखिएको ‘किनभने ऊ सर्वोच्चको न्यायाधीश हो’ भन्ने आलेख पढ्दा कथाकार गुरुप्रसाद मैनालीका यथार्थपरक कथा सम्झन पुग्नु स्वाभाविक नै लाग्छ । पुस्तकको अन्त्यमा झन्डै ४ दर्जन रङ्गीन तस्वीरहरुले पुस्तकलाई सजीव बनाएको महसुस हुन्छ । ४५६ पृष्ठको पुस्तकको मूल्य रु. ७७५।– भने सर्वसाधारणको पहुँचभन्दा बाहिर हो कि जस्तो लाग्छ ।

प्रतिक्रिया दिनुहोस्