देश विकासमा गरिबको महत्वपूर्ण भूमिका



कुनै पनि महिलाको गर्भमा भ्रूणले बास लियो भने अस्पताल गएर चेकजाँच गराउन आवश्यक पर्छ । अस्पताल गएर चेकजाँच गराउँदा पनि राज्यलाई राजस्व तिर्नुपर्छ । कुनै पनि महिलाको गर्भमा बच्चा आउनु भनेको देश विकास हुनुमा सम्भाव्यता दर्शाउनु हो ।

बच्चा कोखमा आउनेबित्तिकै राज्यले राजस्व लिन शुरु गर्छ । र, ऊ जन्मिसकेपछि उसले सास त्याग्ने बेलासम्म राज्यलाई कर तिर्छ । मान्छे जन्मेपछि नमरुन्जेल उसले निकै संघर्ष गर्नुपर्छ । उसबाट उसको परिवार, नातादारले धेरै आशा राखेका हुन्छन् । ठूलो भइसकेपछि उसले पनि आफ्नो परिवारको आवश्यकता पूरा गर्न कुनै कसर छोड्दैन । उसले नेपालको संविधानअनुसार शिक्षा, स्वास्थ्य आर्जन गर्न पाउनुपर्छ र शिक्षा आर्जन गर्नको लागि ऊ अघि बढ्छ । उसलाई देश विकास गर्नुपर्छ र आफ्नो परिवारको हरेक जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने कुराको अनुभूति हुँदै जान्छ ।

शिक्षा, स्वास्थ्य भनेको हरेक नागरिकले समानरुपमा पाउनुपर्छ । तर शिक्षा, स्वास्थ्यजस्तो आवश्यक पाठ धनीका छोराछोरीले सजिलै प्राप्त गर्न सक्छन् । तर हामीजस्ता गरिब र कम आय हुने बाबुआमाका छोराछोरीलाई यी शिक्षा र स्वास्थ्यका सुविधाहरु प्राप्त गर्नु भनेको देउता खोज्नुजत्तिकै हो । आर्थिक स्तरले सम्पूर्णरुपमा भरिभराउ भएको परिवारमा जन्मिएको बालबालिकाले त सम्पूर्ण फ्यासिलिटी पाउँछन् । तर बिहान–बेलुका छाक टार्न पनि कति बाबुआमालाई धौ–धौ परिरहेको हुन्छ । छाक टार्न त धौ–धौ छ भने छोराछोरी कसरी पढाउनु भन्ने स्थिति अझै पनि कति घर–परिवारको छ ।

यसरी बालबालिकाहरु शिक्षा पाउनबाटै वञ्चित छन् भने रोजगारी कसरी प्राप्त गर्नु ? गरिबीको अर्थ नै शिक्षाबाट वञ्चित हुनु हो । शिक्षाबाट वञ्चित हुनु भनेको देशमा बेरोजगारीको संख्या बढ्नु हो । शिक्षाको अभावको कारणले ऊ आफ्नो जन्मथलो छोडेर बाहिर जान सक्दैन । ऊ आफ्नै पुर्खाले जोडेको भूमिमा बस्छ, त्यही भूमिमा रमाउँछ र त्यहीँ आफ्नो प्राणा त्याग्छ । यो अवधिमा उसले खाई–नखाई, जीउमा एकजोर वस्त्र नहाली राज्यलाई कर तिर्छ । राष्ट्रप्रतिको आफ्नो जिम्मेवारी बहन गर्छ र उसले संसार त्याग्छ । सरकारले पनि जिन्दगी चलाउन आवश्यक पर्ने शिक्षाजस्तो आधारभूत तत्व दिनलाई किन हिचकिचाएको होला ?

जो मान्छे धनी घरमा जन्मिन्छ उसलाई त दुःख भनेको थाहा नै हुँदैन । मुखबाट भुइँमा बोली खस्न नपाउँदै उसको सम्पूर्ण आवश्यकता पूर्ति भइहाल्छ । राम्रो स्कुल पढ्छन् र आफ्नो डिग्री हासिल गर्नको लागि आफ्नो देश छाडेर अन्य राष्ट्र जान्छन् । त्यहीँ बसेर आफ्नो पढाइ पूरा गर्छन् । देश र आफ्नो जन्म दिने बाबुआमालाई बिर्सिन्छन् । र, नेपालको नागरिकता त्यागेर त्यहीँको नागरिक बन्नुभन्दा अगाडि उसले एकछिन् पनि सोच्दैन । आफू त बाहिर गएर सेटल हुन्छ नै, आफ्नो बाबुआमाको नेपालमा भएको जमिनजेथो बेचेर पनि त्यहीँ लान्छ । तर सरकारले नेपालको नागरिकता त्यागेर अन्य देशको नागरिक बनेकाहरुलाई नेपालको सम्पत्ति लान दिनुहँुदैन । उसको नाममा भएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ ।

ऊ त्यहाँको सुविधासम्पन्न जीवन छोडेर नेपाल फर्किन चाहँदैन । त्यस्ता नागरिकहरुप्रति राज्यले लगानी त गर्छ तर त्यसको फल राज्यले पाउँदैन । शिक्षित नेपालीहरुचहिँ आफ्नो देश छोडेर अन्य राष्ट्रमा सुविधा खोज्दै हिँड्ने अनि हाम्रो राष्ट्रको विकासचाहिँ कसले गर्ने ? हाम्रो देश विकास हुन नसक्नुको प्रमुख कारण पनि बाहिरी मुलुकतिर युवाको आकर्षण बन्न पुगेको छ ।

नेपालमा भनेको र आफ्नो क्षमताअनुसारको जागिर पाइँदैन भन्ने मानसिकता अहिलेका अधिकांश युवा पिँढीमा छ । राष्ट्रप्रति आफ्नो कर्तव्य र जिम्मेवारी बहन गर्न नसक्ने अनि हाम्रो राष्ट्रको राजनीति यस्तो र उस्तो भनेर अरुको देशमा गएर योगदान पु¥याउने । यदि उनीहरुले म आफ्नै देशमा बस्छ, आफ्नै देशमा लगानी गर्छु, आफ्नै देशमा पसिना बगाउँछु, नेपालमै बसेर आफ्नो र नेपाली जनताको हितमा काम गर्छु भन्दाखेरि न त्यसलाई नेपालको जनताले छेक्छन्, न त नेपालको राजनीतिले । विदेश जान लाग्ने खर्च नेपालमै लगानी गर्ने हो भने एउटा व्यवसाय सजिलै सञ्चालन गर्न सकिन्छ ।

आफू केही गर्न नसक्ने अनि राज्यलाई दोष दिएर बाहिर गई सेटल हुने । यो त कतिसम्म लाज मर्दो कुरा हो । एउटा नाबालकलाई नागरिकमा परिणत गर्न राज्यले अहं भूमिका खेलेको हुन्छ । राज्यको भूमिकाप्रति नै अहिलेका युवायुवतीहरु प्रश्न उठाउन थालेका छन् । राज्यले गरेको काम र निर्णयप्रति चित्त बुझेन भने त्यससम्बन्धी खबरदारी गर्ने काम भनेकै अहिलेको पुस्ताको हो । सबै पढेलेखेका, शिक्षित नागरिकहरु बाहिर गएर अरुकै देशमा घरजम गरेर बस्ने हो भने यी नेताहरुलाई खबरदारी गर्ने काम कसले गर्छ ?

धेरैजसो गरिबीको चपेटामा परेकाहरुको मनमा सधैँ खस्किने प्रश्न– ‘सरकारले नागरिकता त दियो तर हाम्रो दुःखको अनुभूति राज्यले गर्न सकेन । राज्यले हामी गरिबहरुलाई सेवा–सुविधाको प्रत्याभूति पनि गराउन सकेन । हामीले बाँचुन्जेल राज्यलाई खुट्टामा चप्पल नलगाई कर तिर्‍यौँ तर राज्यले नै हामीलाई लाखापाखा लगाइदियो । राज्यले नेपाली नागरिक त बनायो तर नागरिक बनाएबापत पनि राज्यले आफ्नो फाइदा हेर्‍यौँ । हामीले भोट त हाल्यौं तर सत्तामा पुगेपछि राज्यले नै हामीलाई फुटेको आँखाले पनि हेरेन । देश विकासमा त यही गरिब जनताले नै महत्वपूर्ण भूमिका खेलेका हुन्छन् ।’

अब पनि सरकारले धनी र गरिबका छोराछोरीलाई काखा र पाखा गर्ने हो भने राज्यले नै यसको ठूलो नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । सरकारले विभिन्न मितिमा देश विकासको नाममा विदेशीसँग ऋण लिएको हुन्छ । सो ऋण जनताको टाउकोमा थुपार्दै नेताहरुले आफ्नो क्षेत्र मात्र विकास गरेका छन् । अझै पनि कतिवटा जिल्लामा पुल र बाटोको समेत निर्माण भएको छैन । अनि अन्य देशबाट ल्याएको ऋण विकासका नाममा कहाँ गयो त ? नेपालका उद्योगपति विनोद चौधरीको टाउकोमा पनि ५८ हजार ऋण छ भने एउटा दुर्गम जिल्लामा खुट्टामा चप्पल नभएको सर्वसाधारणको टाउकोमा पनि ५८ हजार ऋण छ ।

– अनुषा थापा, भक्तपुर ।

प्रतिक्रिया दिनुहोस्