काठमाडौं।
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी सकुन्तला प्रजापतिले पाएकी छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै अर्को व्यवस्था नभएसम्मका लागि प्रजापतिलाई बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी दिएकी हुन्।
एघारौँ तहकी प्रजापति नर्सिङ समूहकी कर्मचारी हुन्। उनी गत महिना मात्रै नारायणी अस्पताल बाट सरुवा भएर स्वास्थ्य मन्त्रालय आएकी थिइन्। मन्त्रालयमा उनलाई पुल दरबन्दीमा राखिएको थियो।
मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य बीमा बोर्डमा नेतृत्व व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रजापतिलाई जिम्मेवारी दिइएको हो। बोर्डमा यसअघि मन्त्रालयका डा. कृष्णप्रसाद पौडेल निर्देशकको रूपमा कार्यरत थिए। उनको हाल गजेन्द्र नारायण सिंह अस्पताल मा सरुवा भइसकेको छ। त्यसपछि बोर्डको नेतृत्व रिक्त रहेको अवस्थामा मन्त्रालयले प्रजापतिलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।
जिम्मेवारीबारे प्रतिक्रिया दिँदै प्रजापतिले आफूले हालसम्म औपचारिक पत्र भने नपाएको बताइन्। “करीव एक महिनादेखि म मन्त्रालयको पुल दरबन्दीमा थिएँ। अब मन्त्रालयले बोर्डमा पठायो रे भन्ने सुनेको छु। पत्र भने पाइसकेको छैन। जिम्मेवारी जहाँ भए पनि काम त गर्नै पर्छ,” उनले छोटो प्रतिक्रिया दिइन्।
स्वास्थ्य बीमा बोर्ड नेपालको स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्ने प्रमुख निकाय हो। बोर्डले नागरिकलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारिता, सेवा प्रवाह र भुक्तानी व्यवस्थापनबारे विभिन्न चुनौती देखिँदै आएका बेला नयाँ नेतृत्वलाई महत्वपूर्ण रूपमा हेरिएको छ।
प्रजापतिले नर्सिङ क्षेत्रसँगै प्रशासनिक अनुभवसमेत हासिल गरेकाले बोर्डको कार्यसम्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको मन्त्रालयका अधिकारीहरूको भनाइ छ। यद्यपि, उनको नियुक्ति अस्थायी प्रकृतिको भएकाले आगामी दिनमा सरकारले स्थायी नेतृत्वबारे थप निर्णय गर्ने सम्भावना रहेको बताइएको छ।











प्रतिक्रिया