क्षमादानको उल्झन र नेपाली राजनीति



  • पेशल आचार्य

भनिन्छ, चालीस महिना शासनमा एकलौटी राज गरेपछि निःवर्तमान प्रधानमन्त्री केपी ओलीको बाह्य/आन्तरिक शक्तिका कारण एकाएक सत्ता खोसियो । भन्नेहरूले यो परिवर्तनलाई ‘जनादेश भर्सेज परमादेश’ भने । यसका लागि चालीस महिनादेखि नै कुनै न कुनै घटनाक्रमहरू अघि बढ्दै थिए । २०७५ जेठ ३ गतेपछि नेकपामा ओली पहिलो नम्बरका अध्यक्ष र प्रचण्ड दोस्रो नम्बरका अध्यक्ष भएर एउटै जेट प्लेनमा दुई–दुईवटा पाइलटहरू विराजमान भएपछि नेपाली राजनीतिको गजमौरो आरम्भ भएको हो ।

आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले ओलीविरुद्ध बनाएको गुटमा २६ भाइहरू क्रमशः ह्वीप उलङ्घन, राजनीतिक दोहोरी र फ्लोर क्रस गर्दे जब अदालतमा समेत प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको रिटमा हस्ताक्षर हाल्न पुगे अनि एमाले बाहिर–बाहिर नफुटेजस्तो देखिए पनि भित्रबाट फुटेको थियो । यो कुरालाई आत्मसात् गरी प्रधानमन्त्रीको पदबाट शनैःशनैः झर्नुपरेपछि ओलीले आफ्नो बोली फेर्न शुरू गरे । अहिलेको सबैभन्दा चर्चित भनाइ– ‘एम्नेस्टी इज ग्रान्डेड’ अर्थात् आममाफीको घोषणा रहेको छ । पार्टीमा क्रियाशील समान स्तरका नेतालाई अर्को नेताले आममाफी भन्नु राजा र रैतीझैँ व्यवहार हो भन्ने कुरा एकाएक राजनीतिक तर्क बनेका छन् ।

त्यसो त नेपाली राजनीतिमा एक पार्टी एक नेता भएर पार्टीहरू सञ्चालन भएको दशकौं भैसक्यो । अहिले हामीले ठूला याने ठालु पार्टी भनेर चिनिएका नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा, राप्रपा र विवेकशील साझा पार्टीमा सो एङ्गलले हेरेको खण्डमा प्रस्टसँग देख्न पाउँछौं । कांग्रेसमा देउवा नेता, बाँकीको हैसियत कार्यकर्ताजस्तै छ । हुन त रामचन्द्र पौडेल, सशाङ्क कोइराला, कृष्णप्रसाद सिटौला आदिको गुट देखिन्छ तर ती सबै देउवाका अघि साँढेआगे बोकाजस्ता निरीह देखिन्छन्, उभिने तर जुध्न नसक्ने । एमालेमा त्यस्तै देखिएको छ– ओलीका अघि सबै कुकरमा पकाएका सागजस्तै लाग्छन् ।

अहिले माधव र झलनाथको केही ङ्यारङ्यारङुरङुरजस्तो देखिए पनि यिनीहरूलाई बेलामौकामा भासिने किसिमले सुताउने गरी दाउ हान्ने शैली ओलीसँग छ । माधव र झलनाथको संयुक्त चोटमा केपीको एकल चोट थेग्न नसक्ने खालको छ । ओलीको अराजकतालाई फ्याँक्नका लागि नेपाली कांग्रेस, एमाओवादी र उपेन्द्र–बाबुरामभन्दा पनि एमालेकै माधव–झलनाथ गुट सक्रिय थियो । विश्वासको मत माग्दा साउन ३ गते एमाले गुटकी रामकुमारी झाँक्री टेलिभिजनमा भन्दै थिइन्, ‘शेरबहादुर देउवालाई भोट दिनु हाम्रो कर्तव्य हो ।’ अचम्म जे हुन्छ एमालेमै हुन्छ । आफ्नो पार्टीका नेतालाई दिनुपर्ने भोट विपक्षीलाई दिनु कर्तव्य रे ! यही कार्यशैलीलाई लिएर विश्लेषकहरूले ‘बहुदलीय लोकतन्त्रमा निर्दलीय संस्कार’ भनी व्यङ्ग्य ठोके ।

एमाले फुटको सँघारमा छ । पार्टीलाई कसैले हप्ता दिन, कसैले पन्ध्र दिन या कसैले एक महिना फुटको दलदलबाट जोगाऊला अन्ततोगत्वा यसलाई दुई फ्याक हुनबाट बचाउन कसैले सक्दैन, त्यो देखियो राम्रैसँग । तैपनि दोस्रो÷तेस्रो तहका नेताहरू लागिपरेका छन् । हुन त एमालेमा अहिलेका संसद् या संसद्बाहिरका नेता भनिएका पार्टीका स्थायी, केन्द्रीय कमिटी र सोभन्दा तल्ला कमिटीका सदस्यहरूलाई सुविधाका लागि नेता सम्बोधन गरिन्छ तर विचार प्रादुर्भावका कारण नेता भन्न सुहाउने कोही देखिन्नन् ।

विचारक मदन भण्डारीको मृत्युपछि एमालेमा र बीपीको असवानपछि नेपाली कांग्रेसमा एकजना नेता देखिएनन् । जति पार्टीको टिकटबाट चुनाव जितेर आए ती कार्यकर्ता मात्र हुन् । केहीले कांग्रेसमा नरहरि आचार्य र प्रदीप गिरीलाई नेताको पगरी गुताऊलान् तर तिनीहरू वैचारिकरूपमा बीपीका अनुयायी मात्र हुन् । एमालेका जीवित नेताहरूमा तीन–तीनजना प्रधानमन्त्री भए तर नेतामा हुनुपर्ने गुण एकजनामा देखिएन ।

झलनाथ अहिले बिरामी भई भारतमा उपचाररत छन् । सरकारसँग उपचार खर्चका लागि ३० लाखमा गिड्गिडाइरहेका छन् । गिरिब थिए र उपचार गराउन सक्ने हैसियत थिएन भने राज्यले गराउँथ्यो । चित्रबहादुर केसी बिरामी पर्दा वैदेशिक रोजगारीमा गएका छोराले सरकारले उपचार खर्चको प्रस्ताव राख्दा ठाडै अस्वीकार गरेथे । अहिले खनाल गिड्गिडाएको जनतालाई मन परेको छैन, तैपनि पूर्ववर्ती सरकारले गरेको निर्णयलाई देउवा सरकारले चुप लागेर रकम निकासा ग¥यो । खर्बौंको सम्पत्ति भएर स्तन क्यान्सर हुँदा ५० लाख रुपियाँ उपचार खर्च लिएकै आधारमा गिरिजाकी सुपुत्री सुजाता कोइरालाको राजनीति लगभग ‘पत्तासाफ’को स्थितिमा पुगेको छ ।

कांग्रेस यतिन्जेल सत्तामा नगएकाले नफुटेको हो, नत्र उहिल्यै फुटिसक्ने थियो । नेपालमा जहिले प्रतिपक्ष हुँदा जनता ढाँट्नका लागि एकमुख भएर सबै नेताले लोलोपोतो मिलाउने तर सत्तामा गैसकेपछि उसका पछि ऊ लाग्ने र गुट–उपगुटमा विभाजित भएर आफैँ–आफैँमा गाँड कोराकोर गरी जुध्ने शैली देखिन्छ । कांग्रेस कचिङ्गल उसले सरकारको आकार वृद्धि नगरुन्जेल मात्र केही मत्थर भएजस्तो देखिएको हो, सरकारको वृद्धिपछि स्वतः बढ्छ । अहिले एमाले एकता ननिचोरिएको पिलो भएको छ ।

एमाले पार्टी एकताका लागि केही सुझावहरू :

१. बाहुबली जत्था (युथ फोर्स, अखिल फोर्स) को प्रदर्शन गर्ने होडबाजीमा राजनीतिले अपराधीकरणको मोड लिन सक्छ । सो कार्य माधव र ओली दुवै पक्षले तुरुन्त बन्द गर्नुपर्छ ।

२. आफूलाई सर्वज्ञानी महाराज र अरूलाई पटमूर्ख, दास, कमारा–कमारी, नोकरचाकर ठानी के–के न अपराध गरेजसरी आमामाफी दिन्छु भन्नुको साटो आ–आफ्नो त्रुटि, कमी–कमजोरीहरूको निर्मम समीक्षा गरी सहअस्तिवको भावले क्षमा लिनुदिनु गरी पार्टी एकता कायम गर्दा राम्रो हुन्छ ।

३. म नमरुन्जेलमै पार्टी अध्यक्ष र प्रधानमन्त्री भैरहनुपर्छ भन्ने जडवादी चिन्तन प्रवृत्ति दुवै बडे नेतामा देखियो, त्यो दुवैले शीघ्र त्याग्न जरुरी छ ।

४. हामीभन्दा पछाडि पनि राम्रा, सक्षम, योग्य, नेता–कार्यकर्ताको टिम पार्टीमा क्रियाशील छ भन्ने हेक्का राखिनुपर्छ ।

५. यो संसारमा सबैले खोजेको न्याय र मर्यादा नै हो तसर्थ पद र अवसरको बाँडफाँड गर्दा योग्यता, दक्षता, क्षमता, क्रियाशीलता, निरन्तरता र इमानदारिताको कसीमा दाँजेर न्यायोचित वितरण गर ।

६. आफ्ना कमजोरी लुकाउने, दोषजति अर्काको टाउकामा थुपार्ने र आफू चोखो देखिने कुसंस्कृतिको सिकार नबनौं ।

७. आफू/आफ्ना वरिपरिका नातागोता, अरौटेभरौटे, अन्धभक्त, गुटबाज, गुण्डा, लफङ्गाहरूको हित स्वार्थलाई हेरेर होइन कि आम नेपाली श्रमजीवी वर्गको हितलाई हेरी राष्ट्रिय हित–स्वार्थमा काम गर ।

८. वैदेशिक खुफिया शक्ति केन्द्रहरूको गोटी नबन, सन्तुलित परराष्ट्र नीति र भाइचारा सम्बन्धको अवलम्बन गर ।

९. सङ्कीर्ण मानसिकता, गुटगत संस्कार, कुण्ठागत संस्कृति, अभिमान र घमण्डले ठडिएको टाउको, विषवमन गर्ने बोली, अहंकारपूर्ण अभिव्यक्ति सबैलाई तिलाञ्जलि देऊ ।

१०. पार्टी स्थापना हुँदाका ऐतिहासिक कालखण्डका ती दिनहरूलाई सम्झ, सहकर्मी, सहयोद्धा, शहीदहरू र वीर–वीराङ्गनाहरूको सपनालाई सम्झ अनि आफ्नो कुण्ठा, ईष्र्या, जलन, छट्पटी, महत्वाकांक्षा, दम्भ, घमण्ड र अहंकारलाई परित्याग गर, त्यसपछि मात्र पार्टीएकता सम्भव छ ।

लेखक हरि अधिकारी खरो शैलीमा यसरी लेख्छन्–

‘एमाले अध्यक्ष खड्गप्रसाद ओली सर्वोच्च अदालतको संवैधानिक इजलासद्वारा जारी गरिएको एउटा परमादेशबाट अपदस्थ भएपछि उनका ठाउँमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भए । अज्ञानी र पूर्वाग्रहीहरूले अदालतको आदेशले प्रधानमन्त्री बनाएजस्तो लाञ्छना लगाए पनि देउवा प्रतिनिधिसभा संसद्को बहुमत सदस्यको समर्थनले नै देशको सर्वोच्च कार्यकारी अधिकृत बनेका हुन् । अदालतले त राष्ट्रपति विद्या भण्डारीद्वारा मारिएको देउवाको हक उनलाई दिलाइदिएको हो । प्रधानमन्त्रीले विश्वासको मत लिन प्रस्ताव गरेपछि सदनमा भएको मतदानबाट यो कुरा प्रमाणित भयो । मतदानका बेला उपस्थित प्रतिनिधिसभाका कुल २४९ सदस्यहरूमध्ये १६५ जनाले देउवामाथि विश्वासको मत जाहेर गरे ।

देउवाका पूर्ववर्ती केपी ओलीले आफ्नो पद आफ्नै अहंकार, अहमत्याइँ र सर्वसत्तावादी सोचका कारण गुमाएकाले ओलीप्रति सर्वसाधारण नेपालीहरूको खासै सहानुभूति छजस्तो लाग्दैन । जति छ त्यो पनि दुनियाँदारीको हिसाबकिताबमा परेर कम हुँदै जानेछ । पूरै बेइज्जत भएर प्रमको सरकारी निवासबाट ओलीजी आफ्नो घर फर्कंदा उहाँका अरिङ्गाल गणले जुन अश्लील तमासा देखाए त्यसले उहाँको ‘मट्मैलो छवि’ थप धमिलो भएको छ । यसपटक विश्वासको मत लिने क्रममा सांसदहरूको दौडादौड, तानातान, होटेल रिसोर्टमा भोजभतेर, गल्ला–मण्डीको जस्तो बोल–कबोल र लेनादेनाजस्ता अवाञ्छित व्यापार विनिमय केही पनि भएको नदेखिनु सुखद हो । निर्लज्ज अनाचार र भ्रष्चाटारमा आकण्ठ डुबेको भनी आलोचित र निन्दित रहँदै आएको नेपाली राजनीतिमा यतिको सहज र स्वस्थ्य अभ्यास हुनु स्वागतयोग्य विषय हो ।

यसपटक देउवाले प्रधानमन्त्री नियुक्त भएको हप्तादिनभित्रै सदनसँग विश्वासको मत लिने जुन आँट देखाउनु भयो, त्यो उल्लेख्य छ । ‘रात रहे अग्राख पलाउँछ’ भन्ने उखानले काम गर्ने हाम्रो देशमा देउवाले यसपटक ‘मास्टर स्ट्रोक’ नै हाने । उनले राजकाजका अन्य मामिलाहरूको व्यवस्थापनमा यस्तै तदारुकता देखाउनेछन् भन्ने आशा गरौं । जनता समाजवादी दलका नेता महन्थ ठाकुरले निकै ढिलो निर्णय गर्दै आफ्नो समूहका सांसदहरूलाई देउवाको पक्षमा मत जाहेर गर्न लगाए । उनले यो निर्णय गर्दा प्रधानमन्त्री देउवासँग कैलाली टीकापुर हत्याकाण्डका मास्टरमाइन्ड भनी दुईवटा अदालतबाट जेल सजाय पाएका रेशम चौधरीलाई कारागारमुक्त गरिदिने आश्वासन लिएका छन् भनिदै छ । यो कुरो साँचो हो भने दुर्भाग्यपूर्ण हो । त्यस्तो जघन्य हत्याकाण्डमा दण्डित अपराधीलाई कानुनको राजमा विश्वास गर्ने कुनै पनि सरकारले उन्मुक्ति दिनुहुँदैन ।

महन्थ ठाकुरको दिमाग बोधो रहेछ । केपी ओलीले गरेको संसद् भङ्ग गर्ने निर्णयलाई अदालतले पहिलोपटक बदर गरेको अवसरमा ठाकुरले अलिकति आँट र व्यवस्थापन कौशल देखाएको भए उनको नाम यस देशको मधेसबाट पहिलो प्रधानमन्त्री बन्ने सौभाग्यशाली नेताका रूपमा अंकित हुन्थ्यो तर ‘जड दिमाग’ ठाकुरले त्यो अवसर गुमाए र हामी नेपालीले नयाँ दिल्लीको घोषित ‘गुमास्ता’को शासन भोग्नुपरेन । राम्रै भयो ।’

क्षमादानको परिवेशसमेत केही धमिलिएको छ । माधव नेपालले भनेका छन्, ‘अपमानित भएर पार्टीभित्र बसिरहनुको अब कुनै तुक छैन ।’ यसले ढिलो–चाँडो एमालेमा बाक्लो दाल खाने अवसर नेता र कार्यकर्ताहरूलाई उपलब्ध हुनेछ भन्नेबारे प्रस्ट भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्