गुरुपूर्णिमा र गुरुको अपरम्पार महिमा



  • प्रेममान डंगोल

संसारमा गुरुको स्थान सर्वोपरि छ । त्यसैले त गुरुलाई ब्रह्मा, विष्णु र महेश्वरका रुपमा मान्ने गरिएको हो । गुरुपूर्णिमाका दिन शिष्यहरुले आफ्ना गुरुलाई श्रद्धापूर्वक मिठाई, फलफूल तथा उपहार प्रदान गरेर मान्ने गर्छन् । गुरुले पनि आफ्ना चेलाहरुलाई आशीर्वाद दिने गर्छन् । प्रथम गुरुचाहिँ जन्म दिने आमा नै हुन् । आमाले नै बालबच्चालाई जन्म दिएपछि खान, बोल्न र हिँड्न सिकाउने गर्छिन् । स्तन चुसाउँदै आमाले नै हाँस्न, तोते बोल्न, ताते गर्दै हिँड्नलगायत सम्पूर्ण कार्य गर्न सिकाउँछिन् । त्यसैले प्रथम गुरु जन्म दिने आमा हुन् । बच्चा जन्मेपछि आमाले जे–जे सिकाउँछिन् त्यही–त्यही उसले सिक्ने गर्छ । यसरी विभिन्न कुरा सिकाएर संस्कारित तुल्याउने काम सर्वप्रथम आमाले नै गरेकी हुन्छिन् । त्यसपछि स्कुलमा शिक्षक–शिक्षिकाले नैतिक शिक्षा दिएर शिष्यलाई अनुशासित बनाउँछन् ।

गुरुलाई सम्मान गर्नु शिष्यहरुको कर्तव्य हो भने शिष्यलाई असल शिक्षा दिएर सुयोग्य बनाउनु गुरुको कर्तव्य हो । शिक्षकले विद्यार्थीलाई यथासक्य ध्यान दिएर पढाउनुपर्छ । विद्यार्थीले पनि शिक्षकको मान–मर्यादामा ख्याल राख्नुपर्छ र आफ्नो पढाइमा पनि त्यत्तिकै ध्यान दिनुपर्छ । सनातन वैदिक युगमा गुरुकुलको व्यवस्था गरिएको हुन्थ्यो । त्यस समयमा राजा–महाराजाका छोराहरुले पनि त्यही गुरुकुलमा गई शिक्षा आर्जन गर्नुपथ्र्यो । राजा दशरथका छोराहरु श्रीराम, भरत, लक्ष्मण, शत्रुघ्न अनि वासुदेव–देवकीका छोरा श्रीकृष्ण र गरिब ब्राह्मण सुदामाले पनि गुरुकुलमा बसेर शास्त्र र शस्त्रको ज्ञान आर्जन गरेका थिए ।

उस बेलामा देवताका गुरु बृहस्पति र दानवका गुरु शुक्राचार्य थिए । त्यस्तै राजा दशरथका चार छोराहरुका कुलगुरु वशिष्ठ हुन् । राम र लक्ष्मणका विभिन्न विद्याका गुरु विश्वामित्र हुन् । लवकुशका धनुर्विद्यालगायत अन्य विद्याका गुरु वाल्मीकि हुन् । कृष्णका गुरु सान्दिपनी हुन । महाभारतका भीष्म र द्रोणका गुरु पर्शुराम हुन् भने उनीहरुका कुलगुरु कृपाचार्य हुन् । पशुपतिनाथका गुरु दत्तात्रय हुन् । दत्तात्रयका २४ जना गुरु छन् । गुरुका पनि गुरु दत्तात्रयले प्रकृति, पशुपन्छीलगायत सबैलाई आफ्ना गुरु बनाएका छन् । पृथ्वी, पतंगा, पिंगला, वेश्या, वायु, परेवा, मृग, समुद्र, हात्ती, आकाश, जल, माछा, माहुरी, आगो, चन्द्रमा, बलाक, कुमारी कन्या, अजिंगर र भमरा आदिलाई दत्तात्रयले गुरु बनाएका छन् ।

आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमाका दिन परमगुरु वेदव्यासको जन्म भएको हो । त्यसैले यस गुरुपूर्णिमालाई व्यास जन्मजयन्ती पनि भनिन्छ । सर्वप्रथम महर्षि व्यासले सामवेद, यजुर्वेद, ऋग्वेद र अथर्ववेद नामका ४ वेद अनि १८ पुराण लेखेर लोककल्याणको लागि महान् कार्य गरेका थिए । वेदव्यास गुरुका पनि गुरु हुन् । वेदव्यासले धेरै ऋषिमुनिहरुलाई शिक्षा दिएर परमगुरु बनाएका थिए । वेदव्यासले ४ वेद र १८ पुराण लेखे भन्ने खबर ती ऋषिहरुले पाउँदा उनीहरु धेरै हर्षित भए । तर एउटा चिन्ता ती ऋषिहरुमा पर्‍यो ।

ती ऋषिहरुले बैठक बोलाएर परमगुरु वेदव्यासलाई प्रमुख अतिथि बनाउँदै आग्रह गरे, ‘हजुरले ४ वेद, १८ पुराण लेख्नुभयो लोककल्याणको लागि तर हाम्रो उमेर ९०–१०० भइसकेको हुँदा पढ्न भ्याउँदैनौं । त्यसैले अब हजुरले ४ वेद १८ पुराणको सारतत्व बताइदिनुहोस् ।’ वेदव्यास एकछिन् घोरिए भने, ‘परोपकार पुण्याय पापाय पर पीडनम् ।’ यही हो सारतत्व ४ वेद र १८ पुराणको भन्दै वेदव्यासले त्यहाँ उपस्थित ऋषिमुनिहरुको चित्त बुझाए ।

यस संसारमा सबैका कोही न कोही गुरु अवश्य नै हुन्छन् । गुरुविनाको मानिसलाई अशुद्ध मानिन्छ । एकपटकको कुरा हो, महर्षि नारद विष्णु भगवान्सँग भेट गर्न गए । विष्णुले उनको बहुतै सम्मान गरे । जब नारद फर्र्किए तब विष्णुले लक्ष्मीलाई भने, ‘जुन स्थानमा नारद बसेका थिए त्यस स्थानमा गाईको गोबरले लिपिदिनू ।’ नारद बाहिरै उभिरहेका थिए । उनले सबै कुरा सुनी फर्किएर विष्णुसँग सोधे, ‘हे भगवान् ! जब म यहाँ आएँ, हजुरले मेरो खूब सम्मान गर्नुभयो तर जब म फर्केर जाँदै थिएँ हजुरले लक्ष्मीजीलाई किन नारद बसेको स्थानमा गोबरले लिपिदिनू भन्नुभयो ?’

विष्णुले भने, ‘नारद ! मैले तपाईंको सम्मान यसकारण गरें कि तपाईं देवऋषि हुनुहुन्छ अनि मैले देवी लक्ष्मीलाई यसकारण त्यो काम अराएँ कि तपाईंको कोही गुरु छैन । तपाईं विनागुरुको हुनुहुन्छ । जुन स्थानमा विनागुरुको व्यक्ति बस्छ, त्यो ठाउँ अपवित्र हुन्छ ।’ विष्णुको कुरा सुनेर नारदले भने, ‘हे भगवान् ! हजुरको कुरा एकदम सत्य छ तर मैले गुरु कसलाई बनाऊँ ?’ विष्णुले उत्तर दिए, ‘अहिले नै धर्तीमा जानुुस् अनि जो व्यक्ति सबैभन्दा पहिला भेटिन्छ उसैलाई गुरु मान्नुस् ।’

नारद जब धर्तीमा आए उनले सबैभन्दा पहिला एक माझीलाई भेटे । त्यसपछि उनी फर्केर गई फेरि विष्णुसँग भने, ‘हजुर त्यो त माझी हो, केही पनि जान्दैन, उसलाई मैले कसरी गुरु मान्न सक्छु ?’ त्यो सुनेर विष्णुले भने, ‘हे नारद ! आफ्नो प्रण पूरा गर्नुस् ।’ नारद फर्केर त्यस माझीलाई मेरो गुरु बनिदिनुप¥यो भनी अनुरोध गरे । पहिला त माझीले मानेन तर नारदले धेरै अनुनय–विनय गरेपछि मान्यो । माझीलाई राजी गराएर गुरु भनिसकेपछि नारद फर्किई फेरि विष्णुकहाँ गएर भने, ‘हे भगवान् मेरो गुरुलाई त केही पनि आउँदैन । उसले मलाई के सिकाऊला ?’ यो सुनेर विष्णु क्रोधित भएर भने, ‘हे नारद ! गुरुको निन्दा गनुहुन्छ ? म तपाईंलाई श्राप दिन्छु– तपाईं ८४ लाख योनिमा घुम्नुपरोस ।’

विष्णुको श्राप सुनी नारदले दुवै हात जोडेर भने, ‘हे भगवान् ! यो श्रापबाट बच्ने उपाय पनि बताईदिनुस् ।’ विष्णुले भने, ‘यसको उपाय आफ्नै गुरुदेवसँग गएर सोध्नुहोस् ।’ नारदले यी सबै कुरा आफ्ना गुरुदेवलाई सुनाए । गुरुले भने, ‘विष्णुसँग धर्तीका ८४ लाख योनिको तस्वीर बनाइदिन भन्नुस् अनि त्यसमा सुतेर संसार घुम्नुस् । त्यसपछि मैले ८४ लाख योनि घुमेर आएँ, मलाई क्षमा गरिदिनुस्, अब फेरि गुरु–निन्दा गर्दिन भन्नुस् ।’ नारदले माझी रुपको गुरुले भनेबमोजिम गरे । त्यसपछि विष्णु भगवान्ले भने, ‘देख्नुभयो, जुन गुरुको निन्दा गरिरहनुभएको थियो उनैले मेरो श्रापबाट बचाइदिए ।’ यी सब कुराले भन्न सकिन्छ कि गुरुको महिमा अपरम्पार छ ।’

प्रतिक्रिया दिनुहोस्