ओलीको बहिर्गमनले मुलुकमा सिकाएको पाठ



अंगुरकुमार दाहाल

दुई तिहाइको समर्थन प्राप्त गरी २०७३ फागुन ३ गते प्रधामनमन्त्री भएका खड्गप्रसाद ओलीको सत्ता आरोहण जति उल्लासमय थियो उनको सत्ताको अन्त्य त्यति नै निराशामय बन्यो । उटपट्याङ कुरो गरेर र उख्खानटुक्का भनेर उनले जग हँसाए । आफूलाई सर्वज्ञ र अरुलाई अल्पज्ञ मान्ने ओली नेपालको इतिहासमा दम्भी, हठी, असहिष्णु, प्रचार र चाकरीप्रिय तथा सामान्य राजनीतिक शिष्टतासमेत नभएका व्यक्तिका रुपमा दरिए । दुई तिहाइको प्राप्त सुविधाजनक जनताको अमूल्य मतको उनले अवमूल्यन गरे । देश, जनता, संविधान र नियम कानुनको हुर्मत लिएर उनी बालुवाटारबाट बाहिरिए । उनी र उनको पार्टीलाई प्राप्त भएको स्वर्णिम र दुर्लभ अवसर उनका लागि कमिलालाई थुकको पहिरोजस्तै भयो ।

सत्तामा रहुन्जेल ओलीले शक्ति उन्मादमा अनेक कुरुप राजनीतिक नाटक मञ्चन गरे । साढे तीनबर्से कार्यकालमा उनले १८ पटक त मन्त्रिमण्डल गठन-पुनर्गठन गरे । सम्मानित र गरिमामय राष्ट्रपति पद र संस्थाको चरम दुरुपयोग भयो उनीबाट । संसद् छलेर अध्यादेशमार्फत दुई–दुईपटक प्रतिनिधिसभा भंग गरी जनता र जनप्रतिनिधिको मानमर्दन गर्ने बहुलठ्ठी इतिहास पनि उनैले रचे । महामारीले ग्रस्त जनताका समस्या पन्छाएर असमयमा नै प्रतिनिधिसभाको चुनावका लागि तिथिमिति तोक्ने बहादुरी पनि उनैले देखाए । संसदीय सुनवाइ नगरी संवैधानिक निकायमा पदाधिकारी र राजदूतहरु नियुक्त गर्ने कार्यमा पनि उनले सबै सरकारलाई पछाडि पारे ।त्यसै गरी सांसद अपहरण गरेर कम्युनिस्ट पार्टीप्रति नागरिकको वितृष्णा बढाउन ठूलो योगदान दिए । निर्माण पूरा नहुँदै विभिन्न आयोजनाको उद्घाटन गरेर तमासा देखाए । मेलम्ची खानेपानीको उद्घाटन गर्दा यस राष्ट्रिय गौरवको आयोजनाका परिकल्पनाकार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नामसमेत लिएनन् । चितवनको अयोध्यापुरी नै भगवान् रामको जन्मभूमि हो भनेर धार्मिक बखेडा झिकेका उनलाई प्रमाण दिन आग्रह गर्दा खुला सभामै ‘के म राम जन्माउने सुडेनी खोज्न जाऊँ’ भनेर बहुलठ्ठी जवाफ दिई जग हँसाए ।

उनले आफ्नै पार्टीका जिम्मेदार तथा प्रतिष्ठित पदाधिकारीहरुको उछितो काढे । बेलगाम घोडाजस्तै मैमत्त भएर उनले आफूलाई डोनाल्ड्र ट्रम्पको नेपाली अवतार साबित गरे । फ्रान्सका लुई सोेह्रौंले जस्तै आफैंलाई राज्य मान्ने कार्य पनि उनैबाट भयो । अति भएपछि खती हुने नै भयो । असार २८ गते सम्मानित सर्वोच्च अदालतबाट फैसला भएपछि ओली आफ्नै दम्भका कारण अपमामनपूर्वक गलहत्तिए । साढे तीन वर्षदेखि उनले मञ्चन गर्दै आएको कुरुप नाटकका नायक खलनायकमा परिवर्तन भए र सकिए ।खड्गप्रसाद ओलीको यो राजनीतिक अवसान उनकै दुर्बुद्धिको दुष्परिणामा थियो । सत्ताको बागडोर सम्हालेदेखि नै उनले आफूलाई हात्ती र अरुलाई कमिला देख्न थालेका थिए । म आफू भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भनेर डिङ हाँक्नु ओलीले आफ्नो मन्त्रिमण्डलका सदस्यहरु भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेर सिनोझैँ डुङडुङ गन्हाउँदा न उनको नाकले थाहा पायो, न आँखाले देख्यो, न कानले सुन्यो । भ्रष्टाचारको त्यो ताण्डवलाई बुझपचाएर उनी अनदेखा भइरहे । आफ्ना पार्टीका विदुरहरुलाई पाहालाई जस्तै पाखामा पछार्ने उनी शकुनीहरुलाई प्रेमपूर्वक सुमसुम्याइरहे । शासन सत्ता उनका लागि बाँदरको हातमा नरिवल भयो ।

वि.सं. २०४६ देखि २०७८ सम्मको समयावधिमा धेरै राजनीतिक परिवर्तन भए । यस समयका कुनै पनि राजनेता सुशासनका लागि खरो उत्रिन सकेनन् । २०७२ को विनाशकारी भूकम्प र त्यसपछिको नाकाबन्दीको बेला ओलीले जुन भूमिका निर्वाह गरेका थिए त्यसबाट नेपाली जनता उनीप्रति आशावादी थिए । २०७४ मा भएको तीनै तहको निर्वाचनमा जनताले बहुमतको सरकार बन्ने गरी ओली नेतृत्वको पार्टीलाई मतदान गरेका थिए । जनताकोे यो विश्वासमाथि ओलीले कुठाराघात गरे । आफ्नो नेतृत्वको पार्टीलाई क्षतविक्षत बनाए । साथै अरु पार्टीहरुलाई पनि तहसनहस पार्न उनी सफल भए । ओलीले अन्ततः देशलाई अँध्यारो भड्खालोमा हाले । अस्थिरताको बीजारोपण गरे ।भनिन्छ, बाँदरले आफ्नो घर पनि बनाउँदैन र अरुको पनि बन्न दिँदैन । विश्वासको मत प्राप्त गर्न नसकेपछि उनले मार्गप्रशस्त गर्नुपर्दथ्यो, त्यो पनि उनले गरेनन् । आफू नभए अरु कसैलाई हुँदैन भन्ने बाँदरे प्रवृत्ति ओलीमा हाबी भयो । यो ओली प्रवृत्तिलाई उनका आसेपासे, हुक्के–बैठके र शकुनी प्रवृत्तिका व्यक्तिबाहेक अरुले साथ दिने कुरै भएन । सिंगो देश, सञ्चारमाध्यम, राजनीतिक पार्टी, नागरिक समाज ओलीको यो निरंकुश र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध गोलबन्द भए, उनका हर्कतविरुद्धको मुद्दा लिएर । अन्त्यमा सर्वोच्च अदालतले ओलीको कुकर्मको विरुद्धमा निर्णय ग¥यो । सर्वोच्च अदालतको यो निर्णयलाई नेपालको न्यायिक इतिहासमा स्वर्ण अक्षरमा लेख्नुपर्छ । यद्यपि यस ऐतिहासिक फैसलाप्रति पनि ओलीले विष वमन गरे-गराए । उनकै प्रत्यक्ष संलग्नता र निर्देशनमा उनका आसेपासेबाट जे–जस्ता प्रतिक्रिया र क्रियाकलाप देखिएका छन्, ती सबै निकृष्ट र निन्दाजनक छन् ।

पार्टी अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्रीबाट प्रदर्शित यी हर्कतहरुले ओलीको राजनीतिक जीवनलाई झन् विद्रुप र कुरुप बनाएको छ । २०७८ असार २८ गते सर्वोच्च अदालतबाट गरिएको फैसलापछि संसद् पुनस्र्थापना भएको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले साउन ३ गते विश्वासको मत पाएको सुखद अवस्था छ । नेपालको राजनीतिक आकाशमा मडारिएको अस्थिरता र स्वेच्छाचारिताको कालो बादल हटेको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यकाल सफल बनोस्, शुभकामना ! साथै, देउवा र भविष्यमा जन्मिने सबै राजनीतिक नेतृत्वलाई पनि शुभकामना ! ओलीले जस्तो भयानक भूल कसैबाट पनि नहोस्, उनको बहिर्गमन सबैका लागि गम्भीर पाठ बनोस् ।

प्रतिक्रिया दिनुहोस्