कालोबजारी नियन्त्रणमा प्रहरी–नागरिक समन्वय



घनबहादुर थापा 

कोभिड–१९ महामारीको दोस्रो लहरबाट सिर्जित समस्याले नयाँ वर्ष २०७८ को शुरुवातदेखि नै जनजीवन आक्रान्त बन्यो । नयाँ भेरिएन्टसहितको भाइरसको कारण मृत्युवरण गर्ने मानिसहरूको संख्या दैनिक बढ्दै गएपछि मानव दिनचर्या अस्तव्यस्त बन्यो । महामारी नियन्त्रण र रोकथामका लागि स्थानीय प्रशासनद्वारा देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागू गरियो । दैनिक निरन्तर काममा खटिने मानिसहरूको कामकाज ठप्पप्रायः भयो ।

स्वाभाविकरूपमा आम नागरिकको आम्दानीको स्रोत घट्यो र यसले क्रय क्षमतामा गम्भीर असर पा¥यो । तैपनि स्वास्थ्य तथा दैनिक उपभोग्य सामग्री किन्नै पर्ने बाध्यता हुने नै भयो । यस्तो मानवीय संकटका बेला स्वास्थ्य सामग्री उत्पादक तथा वितरकले मानवीयताका कारण पनि उचित मूल्य मात्र लिई गुणस्तरीय सामान बिक्री वितरण गर्नुपर्ने हो । उद्योगी व्यवसायीको प्राथमिकतामा व्यवसायसँगै सेवाभाव र उपभोक्ताको हित अनुकूलको काम हुनुपर्ने हो । उपभोक्ताप्रति असिम स्नेह, मनकारी सहयोग र उदार मनका साथ काम गर्नुपर्ने हो । तर कतिपयले औषधिलगायतका स्वास्थ्य सामग्रीमा समेत मनोमानी तरिकाले नक्कली, मापदण्ड विपरीतका सामग्री उत्पादन गर्ने र बढी मूल्य लिई कालोबजारी गर्ने गरेको पाइयो ।कोभिड–१९ कै कारण सिर्जित विषम परिस्थितिमा जीवन बचाउन प्रयोग गरिने स्यानिटाइजर, अक्सिमिटरजस्ता सुपथ मूल्यमै पाइने सामानसमेत नक्कली उत्पादन गरी मानिसको जीवनसँग सीधै खेलबाड गरेको पाइयो ।

यसले नाफा कमाउने कुत्सित मनसायको धुनमा नक्कली सामानको कारण उपभोक्ताको ज्यान नै लिनेसम्मको अभिप्राय राखेको देखियो । नक्कली उत्पादनको प्रयोगले मान्छेको ज्यान नै जाने खतरा हुन्छ । देश कोरोनाको कहरमा हुँदा, सवत्र अन्योल छाउँदा र संक्रमणको त्राहिमामजस्तो परिस्थितिमा जो–कोही पनि नैतिक आचरणविरुद्धका कार्य गर्न हच्किनुपर्ने हो । निश्चय पनि कुनै पनि समय कालोबजारी गर्न सामान लुकाउने वा थुपारेर राख्ने अनि बढी मूल्यमा बिक्री गर्ने भन्ने हुँदैन, यो समय त झन् हुँदै होइन । यस्तो बेला त सामाजिक उत्तरदायित्व बहन गर्दै नाफामुखीभन्दा सेवामुखी भावनाले काम गर्नुपर्ने हो । तर हाम्रो समाजमा कहिल्यै सदाचारको पछि नलाग्ने मान्छेहरू पनि रहेछन्, जो डरलाग्दो कोरोना भाइरस संक्रमणको कारण मुलुक थलिएको बेलामा पनि व्यक्तिगत फाइदा उठाउँदै कालोबजारीमा रमाउन चाहेको देखियो, जुन अत्यन्त दुःखद पक्ष हो, निन्दनीय कार्य हो । मानव संकटसँग जुध्न सघाउनुपर्नेमा उल्टै कमाउ र रमाउ धन्दामा तल्लीन हुन खोज्नु लाजमर्दो विषय हो ।

कालोबजारी आफैंमा एउटा गैरकानुनी कार्य र गम्भीर अपराध हो । त्यसैले यस्ता प्रवृत्तिविरुद्ध कानुन कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी पाएको नेपाल प्रहरी विशेष चनाखो हुनै पर्छ र छ पनि । नेपाल प्रहरी देशमा शान्ति सुरक्षा कायम राख्ने, अपराध अनुसन्धान तथा नियन्त्रणलगायतका नियमित कामको साथै कोरोना कहरको समयमा घोषित निषेधाज्ञा कार्यान्वयन गर्ने, स्वास्थ्य मापदण्डको पालना गराउने, मास्क वितरण गर्ने, स्वास्थ्य क्षेत्रबाहेकका काममा प्रयोग गरेका तथा अनावश्यक स्टक राखेका अक्सिजन सिलिन्डरहरू संकलन गरी अस्पताललाई उपलब्ध गराउने र कालोबजारी नियन्त्रणमा केन्द्रित रह्यो । बढ्दो कालोबजारी नियन्त्रण गर्न सम्बन्धितलाई कारबाही गर्न सकिएन भने निश्चय पनि यसको आयतन बढ्दै जान्छ । यसले उपभोक्ताको हित, आर्थिक समृद्धि, राज्यको अर्थतन्त्र र सुशासनमा गम्भीर असर पार्दछ । अर्थतन्त्रमा अप्रिय स्थिति सिर्जना गर्न सक्छ । आमनागरिक उपभोक्तालाई प्रत्यक्ष मर्का पर्छ । यसै तथ्यलाई हृदयंगम गरी नेपाल प्रहरीले कालोबजारी नियन्त्रणमा विशेष चासो राखेको देखिन्छ ।

नेपाल प्रहरीमा कामलाई प्राथमिकता दिन कार्ययोजना तयार गरी कार्यान्वयनमा ल्याइएको छ । कुनै पनि काम निश्चित समयभित्रै पूरा गरिसक्ने गरी काम गर्न तथा त्यसलाई सहज र बढी प्रभावकारी बनाउने योजनासहित कार्यान्वयनमा जाने हेतुले प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले कार्ययोजना तयार गरी लागू गर्नुभएको हो । फिल्डमा खटिने प्रहरी कर्मचारीहरूको समस्या सम्बोधन गर्न प्रहरी हबल्दार तथा जवानहरूका लागि वृत्तिविकासका नवीन योजना ल्याइएका छन् । पछिल्लो वर्षमा संगठनमा भएका मनग्गे सुधार र यत्नले प्रहरीको मनोबल बढ्दो देखिन्छ । हरेक नियमित कामका साथै कोरोना रोकथाम तथा नियन्त्रण एवं कालोबजारी नियन्त्रणमा समेत सक्रियता देखिएको छ । फलतः प्रहरीका हरेक कामको नतिजा प्रस्ट देखिएको छ । स्वास्थ्य तथा अत्यावश्यक सामग्री नक्कली उत्पादन तथा कालोबजारी गर्नेहरूको पर्दाफास भएको छ ।प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार गत वैशाख ६ गतेदेखि दुई महिनाको अवधिमा कालोबजारी गर्ने ४३ जना पक्राउ परेका छन् । उनीहरू अक्सिमिटर, ह्यान्ड स्यानिटाइजर, अक्सिजन सिलिन्डर, रिमडेसिभिरलगायत विभिन्न औषधि कालोबजारी गर्ने तथा गुणस्तरहीन औषधिजन्य सामग्री उत्पादन तथा बिक्री गरी कालोबजारी गर्ने काममा संलग्न भेटिएका हुन् । उनीहरूबाट १६ हजार २६९ लिटर स्यानिटाइजर तथा २५ हजार २४० लिटर नक्कली स्यानिटाइजर, ५ हजार ६ सय लिटर स्यानिटाइजर बनाउन प्रयोग हुने रसायन, ५५ वटा पल्स अक्सिमिटर तथा ७६५ वटा नक्कली पल्स अक्सिमिटर, ६ थान रिमडेसिभिर तथा १ थान नक्कली रिमडेसिभिर, १ थान अक्सिजन सिलिन्डर र ४६ कार्टुन विभिन्न औषधि बरामद भएको तथ्यांकले देखाउँछ ।

महामारीको विकराल समयमा सर्वसाधारणले प्रयोग गर्ने मास्क, स्यानिटाइजर, ओक्सिमिटरजस्ता स्वास्थ्य सामग्रीको अत्यधिक माग भइरहेको अवस्थामा विषम परिस्थितिको फाइदा उठाउँदै नक्कली उत्पादन तथा कालोबजारी गर्नु घृणित एवं निन्दनीय कार्य हो । यसमा संलग्न व्यक्तिहरू समाजमा माफीका लायकसमेत हुँदैनन् । मानवीय संकट र महामारीमा व्यवसायीहरू इमानदार हुन्छन् भन्ने आम मान्यता थियो तर कतिपयको उल्टो कामबाट त्यस्तो जनअपेक्षा सही साबित भएन । केहीले धमिलो पानीमा माछा मार्न खोजे । यस्तो अवस्थामा समेत सकारात्मक सोच राखेर उनीहरूले कानुनविपरीतका काम गर्न छोड्दैनन् भने कहिले छोड्छन् ? प्रश्न गम्भीर छ ।यस्ता मानवविरोधी र घातक कामको नियन्त्रणका लागि प्रहरी आँखा चिम्लेर बस्न सक्तैन । फलतः कालोबजारी गर्नेहरू फन्दामा परे र परिरहेका छन् । यस क्रममा तोकिएको मूल्यभन्दा बढी मूल्यमा सामान बिक्री गर्ने पनि उम्कन पाएनन् । अर्कै कम्पनीको लेबुल टाँस गरेर नक्कली सामान उत्पादन गर्ने र मापदण्डविपरीत हानिकारक पदार्थ मिसावट गरी उत्पादन र बिक्री गर्नेहरूप्रतिको प्रहरी निशाना चुकेन । यस प्रकारको कारबाही तथा थप निगरानीको क्रम जारी रहेको देखिन्छ ।

पक्राउ व्यक्तिहरूउपर कालोबजार तथा अन्य केही सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसुरमा अनुसन्धान तथा कारबाही हुने गर्छ । ‘सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हित कायम राख्न कालोबजार, नाफाखोरी, जम्माखोरी, मिसावट र केही अन्य सामाजिक अपराध नियन्त्रण गर्न वाञ्छनीय भएकोले यो ऐन बनाइएको’ भन्ने ऐनको प्रस्तावनामा उल्लेख छ । ऐन समयानुकूल परिमार्जनसमेत भएको देखिन्छ । ऐनले कसुर हेरी कैद वा जरिबाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ । जसले कालोबजारीजस्तो कुकृत्यमा लागेकाहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन मनग्य आधार दिएको छ ।प्रहरीले अभियुक्तलाई सार्वजनिक गर्दा मुखुण्डो लगाई अनुहार छोपिदिने कारण आरोपितले मलाई कसैले चिन्दैन भनेर ढुक्क हुने अवस्था हुँदैन । किनकि अनुहारभन्दा कालोबजारी गर्नेको इज्जत प्रतिष्ठामा लागेको दाग, यसबाट परिवारलाई परेको पीडा हजारौं गुणा दर्दनाक, असह्य र मान्छेको मनबाट हटाउन नसकिने हुन्छ । मानिसमा नैतिकता, सदाचार, स्वच्छ मन र काम भएमा अनाहकमा कसैले पनि कारबाही भोग्नुपर्दैन । समाजबाट अपमानित हुनुपर्दैन । समाजले पनि राम्रो दृष्टिकोणले हेर्छ ।

सबै स्वच्छ विचारका भए समाज स्वच्छ बन्छ । समाजको पहरेदार प्रहरी पनि त्यही चाहन्छ । सबैले सत्कर्म मात्रै गरे कारबाही भोग्नै पर्दैन । अनियमितता र कालोबजारी गर्नेलाई पक्राउ गर्नु, कारबाही गर्नु प्रहरीको रहर हैन बाध्यता हो भन्ने सबैले बुझ्न जरुरी छ ।सङ्क्षेपमा, नक्कली सामान र कालोबजारीको चपेटामा पर्ने आखिर तपाईं–हामी समाजका सर्वसाधारण बासिन्दा नै हौं । त्यसैले कालोबजारी जोसुकैले गरोस्, यसप्रति जनजन सचेत हुनु आवश्यक छ । यस्ता तत्वहरू जुनसुकै आवरणमा जहाँसुकै पनि लुकेर बसेका हुन सक्छन् । हेर्दा प्रतिष्ठित, इज्जतदार देखिने व्यक्तिहरू पनि कुनै न कुनै आवरणमा कालोबजारीमा संलग्न हुन सक्छन् । यसप्रति हरेकले चौकीदारी गर्नु श्रेयष्कर हुन्छ । नागरिक समाज, शिक्षक, विद्यार्थीलगायत समाजका हरेक तहतप्काका नागरिकका साथै विभिन्न संघसंस्थाहरूले आफ्नो सामथ्र्यले भ्याएसम्म सहयोग गरी सामाजिक दायित्व बहन गर्न ढिला गर्नु हुन्न, जुन अति उत्तम धर्म पनि हो ।

नक्कली सामान उत्पादनजस्तो अमानवीय कार्य र गलत बाटोबाट कालोबजारी गरेर फाइदा लिई अनियमित काम गर्नेविरुद्ध उठ्ने समय हो यो । प्रहरीलाई सूचना दिने समय हो । प्रहरी र समाजको अटुट सम्बन्धले नै कालोबजारीको जालो तोड्न सहज हुन्छ, जुन असम्भव हुनै सक्दैन । नागरिक समाजसँग प्रहरीको समन्वय र सहकार्यका लागि नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम लागू गरेको छ । कार्यक्रमअन्तर्गत समन्वय गरी यस्ता तत्वहरूको भण्डाफोर गरी कानुनी दायरामा ल्याउन टड्कारो काम गर्न जरुरी छ । यसैले अब जागरुक नागरिक आफैं उठेर कालोबजारीविरुद्धको अभियानमा प्रहरीलाई सहयोग गर्नुपर्छ, जुन आफैंमा अनुकरणीय कार्य हो । इन्डोनेसियाली उखान नै छ, ‘शान्त पानीमा पनि गोही लुकेको हुन सक्छ ।’ अतः समाजका भाइरसको रूपमा लुकेर बसेका कालोबजारियाहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रयास जारी छ । यसका लागि नागरिक समाजले समेत प्रहरीलाई साथ दिने समय भएन र ?

प्रतिक्रिया दिनुहोस्