हरिशयनी एकादशी र चर्तुमासको महिमा



प्रेममान डंगोल

हिन्दू धर्मशास्त्र र पुराणमा वर्णन गरेअनुसार आषाढ शुक्ल हरिशयनी एकादशीका दिनदेखि कार्तिक शुक्ल हरिबोधिनी एकादशीसम्म चार महिना विष्णु भगवान् शयन गरिरहनुहुन्छ । यी दुई एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ । हुन त हरेक वर्ष २४ वटा एकादशी आउँछन् । अधिकमास पर्ने वर्षमा भने दुईवटा एकादशी थप भई जम्मा २६ वटा एकादशी पर्छन् । यी मध्ये हरिशयनी एकादशीमा विष्णु भगवान् शयन गर्नुहुने र हरिबोधिनी एकादशीका दिन ब्युँझनुहुने भएकोले यी दुवै एकादशीलाई ठूलो एकादशी भनेर व्यापकरुपमा मान्दै आइरहेको पाइन्छ । अनि त्यसै अनुरुप व्रत बसेर भक्तजनहरुले अत्यन्तै श्रद्धाभाव राखी यी दुवै एकादशीलाई मान्ने गर्दछन् ।

पौराणिक कथामा आधारित एउटा धारणाअनुसार विश्वास गरिएको छ कि ‘यथा देहे तथा देवे’ को भावनाअनुरुप हरेक वर्ष आषाढ शुक्ल पक्षको हरिशयनी एकादशीका दिन भगवान् विष्णु र लक्ष्मी, त्रयोदशीमा कामदेव, चतुर्दशीमा यक्षदेव, पूर्णिमामा महादेव, प्रतिपदामा ब्रह्मा, द्वितियामा विश्वकर्मा, तृतियामा पार्वतीसहित धेरै देवी–देवताहरु चार महिनाका लागि शयन गर्छन् अर्थात् विश्राम गर्छन् । यसो भनौं कि हरेक वर्ष १२ महिनामा ४ महिना यी देवी–देवताहरुले निद्राकाल अर्थात् निदाइरहने समय हो । यो त आश्चर्यजनक कुरा भयो । अर्को शास्त्रीय धारणाअनुसार भगवान् विष्णु मात्र ४ महिनासम्म योग निद्रामा बस्नुहुन्छ ।विष्णु भगवान् योग निद्रामा मग्न भएर बसेको होस् वा अन्य देवताहरु पनि शयन कालमा रहेको किन नहोस्, यो चतुर्मासको समयमा धेरै मुख्य चाडपर्व परिरहेका हुन्छन् । दशैं, तिहार, गुरु पूर्णिमा, गठेमंगल, गुँला, नागपञ्चमी, जनै पूर्णिमा, गाईजात्रा, कृष्ण जन्माष्टमी, इन्द्रजात्राजस्ता पर्व परिरहेका हुन्छन् । यस्तो चाडपर्वमा लामो समयसम्म विष्णुसहित देवताहरु निदाएर बस्ने हो भने सृष्टिको नियन्त्रण, पालनपोषण र सन्तुलित व्यवस्था कसले गर्ने होला ? यस्तो सम्भव हुन सक्दैन तर धार्मिकताका आधारमा देवताहरुले विश्राममा बस्ने समयलाई नै निदाइरहेको हो भनी सम्झिएको मात्र हो पनि भनिन्छ । वास्तवमा विष्णु भगवान् कहिल्यै पनि निदाउनुहुन्न । योगनिद्रामा विश्राम मात्र गरिरहने हो पनि भन्ने गरिन्छ ।

वास्तवमा विष्णु भगवान् चार महिनासम्म पाताल लोकमा गई बलिराजाको ढोकापाले बस्न जाने हो । भन्नलाई त शास्त्रमा उल्लेख गरेअनुसार विष्णु भगवान् क्षीर सागरमा शेषनागको शय्यामा विश्राम गरिरहने हो भनिएको छ । शेषनागको शय्यामा विश्राम गरिरहे तापनि विष्णु भगवान्ले बलिराजाको ढोकाको पाले भएर बसेको हो पनि भनिएको छ । शास्त्रमा उल्लेख भएअनुसार दैत्यराज बलिराजा अत्यन्तै धार्मिक र दानी थिए । बलिराजाले धेरै नै दान दिएको पुण्यका प्रभावले देवराज इन्द्रले नै आफ्नो लोक छोड्नुपर्ने अवस्था आएछ । अनि देवताहरुमा हाहाकार भएछ । बलिराजा इन्द्रलोकमा इन्द्रासनमा बस्न आउँछन् भन्ने डरले सबै देवताहरु डराएछन् । अनि इन्द्रले सबै देवताहरुसहित गई विष्णु भगवान्लाई प्रार्थना गरेछन् । इन्द्रले विष्णु भगवान्लाई जसरी भए पनि बलिराजालाई इन्द्रलोकमा आउन रोक लगाउन अनुरोध गरे ।त्यसपछि विष्णु भगवान् वामन रुप लिएर बलिराजासँग भिक्षा माग्न जान्छन् । वामनरुपी विष्णु भगवान्ले बलिराजासँग तीन पाउ टेक्ने जमिन भए पुग्छ भनी दान माग्छन् । विष्णु भगवान्ले छल गरी एक पाउ टेक्दा स्वर्गलोक, दोस्रो पाउ टेक्दा मत्र्यलोक लिइदिन्छन् । ती दुवै पाउले स्वर्ग र मत्र्यलोक ढाकिसकेपछि तेस्रो पाउ कहाँ राखौं भनी सोधनी हुन्छ । बलिराजाले आफ्नै शिर थापिदिन्छन् । विष्णु भगवान्ले बलिराजाको शिरमा पाउ राख्नेबित्तिकै बलिराजा पाताल लोकमा पुग्छन् । अनि बलिराजाले पनि चार महिनासम्म विष्णु भगवान् आफ्नो दरबारको ढोकाको पाले भएर बस्नुपर्ने सर्त राख्छन् । विष्णु भगवान् बलिराजाको पुण्यको प्रभावले गर्दा उनको माग पूरा गर्न असार शुक्ल हरिशयनी एकादशीका दिनदेखि चार महिनासम्म शयन गरिरहने र कार्तिक शुक्ल हरिबोधिनी एकादशीका दिन जागा हुने गर्नुहुन्छ भन्ने मान्यता रही आएको छ ।

यो हरिशयनी एकादशीका दिनदेखि चतुर्मास व्रत शुरु हुन्छ । त्यसो भएकोले यस एकादशीका दिनदेखि व्रत बसेर दैनिक तुलसीको पूजा गर्ने प्रचलन रहेको छ । यो चतुर्मासको समयमा कुनै पनि किसिमको शुभ मंगल कार्य गर्नुहुँदैन भन्ने धार्मिक मान्यता छ । त्यसैले यो समयमा शुभ विवाह, अन्न प्राशन, व्रतबन्ध, नयाँ घर निर्माण, गृह प्रवेश आदि कार्य नगर्नेहरु पनि पाइन्छन् । ज्योतिष शास्त्रअनुसार पनि यो समयमा साइत निस्किँदैन । त्यसो भए तापनि कतिपयले भने विजया दशमीको चाडमा साइत हेर्नुपर्दैन भन्दै शुभ विवाहलगायत अन्य शुभ कार्य पनि गर्छन् । तर शास्त्रको मान्यताअनुरुप मानिसहरुले शुभ मंगल कार्य गर्नुप¥यो भने यो चतुर्मासपश्चात्को कार्तिक शुक्ल पूर्णिमापछि मात्र गर्छन् । वैदिक परम्पराअनुसार भने सूर्य उत्तरायण भएपछि मात्र शुभ कार्य गर्नुपर्छ भनिएको छ । चतुर्मासभरि विष्णु भगवान्को उपासना गरेर धार्मिक परम्पराअनुसार विष्णु भगवान्को महिमा पाठ गर्छन् ।महर्षि भारद्वाजको भनाइअनुसार एकादशीको व्रत बस्ने महिला–पुरुषले उक्त दिन असत्य कुरा गर्ने, बारम्बार जलपान गर्ने, हिंसा गर्ने, अपवित्र पान–सुपारी खाने, दाँत माझ्ने, दिउँसो सुत्ने, मैथुन गर्ने, जुवा खेल्ने, पतीत मानिससँग कुरा गर्नेजस्ता ११ थरी काम कुराको त्याग गर्नुपर्दछ ।

आलस्य त्याग गरेर प्रसन्न भई षोडषोपचारले विष्णु भगवान्लाई पूजा गर्नुपर्छ । प्रत्येक प्रहरमा आरती गर्नुपर्छ । वाद्यवादन, गीत र नृत्य गरेर जाग्राम बसी गीता एवं विष्णु सहस्त्र नामको पाठ गर्नुपर्छ । एकादशीको अघिल्लो दिन दशमीका दिन स्नान गरेर शरीर शुद्ध पारी, चित्त पनि शुद्ध गरी, दिनको आठौं भाग अर्थात् सूर्यको प्रकाश छँदै भोजन गरी, ब्रह्मचर्य पालन गरी राति विश्राम गर्नुपर्छ । राति भोजन गर्नुहुँदैन । व्रतका दिन स्नानादि नित्य कर्मपछि विष्णु भगवान्लाई यसरी प्रार्थना गर्नुपर्छ– ‘हे विष्णु भगवान्, पुरुषोत्तम, केशव ! आज हजुरकै प्रसन्नताका लागि दिन र रातमा पनि संयम–नियमअनुसार मैले पालना गर्न सकूँ । मेरा सुषुप्त इन्द्रियबाट कुनै पनि किसिमको विफलता, भोजन वा मैथुन क्रिया हुन गएमा वा मेरो दाँतमा पहिलादेखि नै अन्न टाँसिएर रहेको भए हे पुरुषोत्तम हजुरले यी सबै कुरामा क्षमा गरिदिइबक्सियोस् ।’

प्रतिक्रिया दिनुहोस्