पात्रहरूको बहिर्गमन र आगमन



पेशल आचार्य

‘मलाई मित्रहरूबाट बचाऊ, शत्रुहरूबाट म आफैँ बच्न सक्छु’, ४३ औं बहिर्गमित निवर्तमान प्रम केपी ओलीसँग यो भनाइ ठ्याम्मै मिल्छ । प्रचण्डले उनीसँग २०७५ जेठ ३ मा घाँटी जोडे । माधव नेपाल पार्टीका वरिष्ठ नेता, आखिर पार्टीमा जताततै घातीहरू भएपछि के लाग्दो रहेछ र ? पाँच वर्षका लागि चुनिएका भारी बहुमतका प्रधानमन्त्रीको ४० महिनामै लगभग ‘बेइज्जतीपूर्ण’ तरिकाले अदालतका परमादेशले पद टक्टकियो ।

हामी फगत् दर्शक, राजनीतिरूपी नाटकका । हाम्रो काम जस–जसले जे–जसरी अभिनयमा हँसाए पनि, रुवाए पनि या सिरियस बनाए पनि चुपचाप सहनु हो । बजारमा एउटा जोक भाइरल भैराख्या छ–हिजोका प्रमको सुनेर हाँस्थ्यौं, आजका प्रमको नबुझेर हाँस्छौं ।रङ्गमञ्च फेरियो । पात्रहरू बदलिए । कथाले नयाँ मोड लियो तर हामी दर्शक हिजोकै छौं । हामी हेर्न, सुन्न र आदेश मान्न अभिशप्त छौं । यो अभिशप्तता हाम्रो टिम्मुर पिसेको पुर्पुरोबाट कहिल्यै नहट्ने भो । हामीले स्वतन्त्र, विकसित र सिस्टम भाको देशको नागरिक भएर कहिल्यै बाँच्न नपाउने भयौं । यहाँ मेनेजरियल टाइपका नेताहरू नआउने भए ।

हामीकहाँ विकासका मुद्दाहरूमा प्रतिस्पर्धा गर्दै पार्टीहरू चुनावमा नजाने भए । विपक्षीलाई गाली गरेर वा हावादारी सपना देखाएर हामीलाई वर्षौंवर्ष हाम्रा नेता भनाउँदाले लुटिरहने भए– कसैका इशारामा, कसैको निर्देशनमा । नाटक यहाँ देखाइने, पात्र यहाँ हुने । कथा यहाँको बुनोट गरिने तर निर्देशक बाहिरको हुने– कहिले भारतको, कहिले चीनको, कहिले अमेरिकाको, कहिले युरोपियन युनियनको । सबै–सबै विदेशी ।
हिजो अल्पमतको शासन आज अल्पमतकै शासन (कुल १२३ जना सांसद), फरक यति छ हिजो ‘करप्टहरू’को अल्पमत देखिन्थ्यो भने आज ‘कम्फर्टेबलहरू’को करप्ट अल्पमत छ । यो भूमिका पुनः उल्टिन पनि सक्छ ! देउवालाई ओलीले विस्थापन गरे, दुर्भाग्य ओली देउवाबाटै ! दुनियाँमा यस्ता घटना कमै हुन्छन् । दुःखको कुरो, जुन कुरो संसारमा हुँदैन त्यो हाम्रामा हुन्छ । कसैको इशारामा र बहकाउमा हुन्छ । अहिले भएको त्यही हो ।अमेरिकी, युरोपियन युनियन र भारतीयहरूले कार्यान्वयन गरेका कार्यहरू हुन् सत्ता परिवर्तनका नाटकहरू । प्रचण्डले भनेकै थिए– हामी विदेशी मित्रका लागि ‘कम्फर्टेबल सरकार’ बनाउन चाहन्छौं ।

कोरोनाले उपचार नपाएर मरेकाहरूका नातेदारहरूले यो सरकारलाई हदैसम्म घच्घच्याउनुपर्छ । ओम्नीले गरेको ४ अर्ब भ्रष्टाचारदेखि लिएर अक्सिजनको बेथितिले मरेका सम्पूर्ण मान्छेहरूको जिम्मेवारी नेतृत्वका हिसाबले ओलीले लिनुपर्छ । मृतकका आफन्तले ज्यान मुद्दा हालेर हदैसम्मको कानुनी सजाय दिलाउनुपर्छ । यसो भएमा मात्र देउवाको आगमन सार्थक हुन जाला नत्र ४४ औं प्रधानमन्त्री भएर एक थान फोटो सिँहदरबारमा झुन्ड्याउनुसिवाय माखो पनि मार्दैनन् । यो कुरा विगतका इतिहासलाई स्वस्थ, निष्पक्ष र भयरहित ढङ्गले विश्लेषण गर्दा हुन्छ ।
हिजो ओलीले विश्वासको मत लिँदा ९५ मतमा खुम्चिनुपरेको थियो तर राष्ट्रपतिलाई हात लिएर अल्पमतकै भए पनि प्रधानमन्त्रीको कुर्सीमा टाँसिइरहेका थिए । आज शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् । व्यक्तिगतरूपमा देउवाले जिते तर समग्ररूपमा कांग्रेस हा¥यो । ओलीबारे जीत–हार यसै भन्न सकिन्न । उनले भविष्यमा अँगाल्ने नीतिले स्पष्ट देखाउँछ ।

ओलीका गल्ती देउवाले सच्याऊलान् ?

‘समयले कांग्रेस सभापति शेरबहादुरलाई मागेको छ’ भनेर फेसबुकमा स्टाटस हाल्न जति सजिलो हुन्छ त्योभन्दा दुई हज्जार गुणा कोभिडको अवस्थामा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, नागरिक उड्डयन र प्रशासनका क्षेत्रमा काम गर्दा थाहा हुन्छ । महामारीबाट बँच्नका लागि निकै ठूलो निर्णय र त्याग चाहिन्छ । त्यो ओली सरकारका मोनिटर ओली र तिनका सदस्यहरूबाट बर्तिएन । नेपालमा यदि अहिले सुनिने सरकार छ भने जतिसक्दो चाँडो सबै वर्ग, तह, पेसा र उमेरका नागरिकहरूलाई खोप दिलाउनुपर्छ । खोपमा पक्षपात, भनसुन, रडाको र बेथिति भयो भने जनता सरकारका बर्खिलापमा सडकमा आउनेछन् ।

ओलीले बालुवाटार छोड्नुअघि सिंहदरबारबाट जनताका नाममा सन्देश प्रवाह गर्दै भने, ‘मेरा पक्षमा जनादेश थियो, देउवाका पक्षमा परमादेश भयो । पूरा अवधि संसद् चलोस्, समयमै चुनाव होस् तर मलाई शंका छ ।’ यसबाट के अर्थ निकाल्न सकिन्छ भने, देउवाले विश्वासको मत पाए पनि नपाए पनि यही सरकारले तीन तहकै चुनाव गराउने हो । चुनावी सरकार भएकाले देउवा सरकारलाई दीर्घकालीन प्रभाव हुने खालका निर्णय गर्ने अधिकार हुने छैनन् तर ओलीले गरेका कानुन विपरीतका कार्यलाई सच्याउने अधिकार कसैले छेक्न सक्दैनन् ।
नेपालको राजनीति कच्चा छ । यत्रो परमादेशबाट प्रधानमन्त्री नियुक्ति हुँदा राष्ट्रपतिको कार्यालयले धारा तोकेन । जनताले अदालतले संविधान ‘ह्याक’ गरेको भने । कुरोको चुरो के हो ? त्यो जानकार व्यक्तिहरूले बेलैमा स्पष्ट पार्नु उचित हुन्छ । रानजीतिक तहका नेताले आफ्ना तर्फबाट मात्र बोल्ने हुन् । निरपेक्ष भएर अर्थ लगाउने मानिसको अति खाँचो छ ।

‘ओलीले राजनीतिक जीवनमा विरलै प्राप्त हुने अवसर पूर्णतः खेर फाले । उनले संविधान र लोकतन्त्रमाथि थोपरेको स्वेच्छातारिता झन्डै–झन्डै घातक विन्दुमा पुग्यो । देउवाको इतिहास पनि काण्डैकाण्ड, भ्रष्टाचार, संसद् विघटन, न्यायमूर्ति सुशीला कार्कीमाथिको महाभियोग आदिले भरिएको छ । यो दुश्चक्र नटुटेसम्म हाम्रा खुशी केवल तदर्थ हुनेछन् ।’ नयाँ पात्रहरूको आगमन र पुराना पात्रहरूको बहिर्गमनलाई यसरी चित्रण गरियो ।खरो शैलीमा लेख्नेले लेख्न भ्याइसकेछन्, ‘अब प्रस्ट भइसक्यो, शीतल निवासमा विद्या भण्डारी रहेसम्म नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन सक्दैन । प्रश्न, स्वेच्छाले मार्गप्रशस्त गर्ने वातावरण बनाउने या संवैधानिक प्रावधानमार्फत बिदाइ गर्ने भन्ने मात्र हो ।’‘नेपालमा प्रधानमन्त्री संविधानबमोजिम नियुक्त हुने हो । फैसलाले त्यो प्रक्रिया जुन विन्दुमा थियो त्यही विन्दुबाट शुरू गर्नु भनेकाले संविधानको धारा ७६(५) बमोजिम नै भन्नुपर्छ’, संविधानविद् भीमार्जुन आचार्य भन्छन् । यतिसम्म नभनेर शीतल निवास नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाप्रति कृतघ्न बनेकै हो भने अब राष्ट्रपतिको समेत बहिर्गमनका निम्ति कानुनी उपचार खोजिनुपर्छ ।

जाँदाजाँदै प्रधानमन्त्री केपीले देशवासीका नाममा एघारौंपटकको सम्बोधन गर्न भ्याइहाले । उनको दाबी छ, ‘जनादेश मसँग थियो तर परमादेशले शेरबहादुरजीलाई प्रधानमन्त्री बनायो ।’ उनले फैसलाले राजनीतिमा दूरगामी असर पर्ने कुरा पनि राखे । त्यसको एक घन्टा नबित्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयबाट विज्ञप्ति आयो । विज्ञप्तिको भाषा ओलीको भावभन्दा पृथक् थिएन । संसद् विघटन र नेपालको संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा गरिएको दाबी अयोग्य भन्ने राष्ट्रपतिको निर्णय र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबारे सोमबार आएको फैसलामा धारा ७६ (५) अनुसारको प्रक्रिया अगाडि बढाएर प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश दिइयो ।ओलीले आफ्नो पक्षमा फैसला नदिएकाले आफ्ना कार्यकर्ताहरूलाई प्रधानन्यायाधीशको पुत्ला जलाउनसमेत लगाए । हाम्रा नेताहरूले नबुझेको कुरो के भने, कर्मचारीलाई आफूले नियुक्त गर्दैमा सधैँ त्यो कर्मचारी आफ्नो गुलाम रहँदैन । ऊ त ‘तासको त्यो एक्का हो जो दाउ बदल्न मिसी र बासा आए मिसिएर क्वापी बन्छ अनि दुक्की र तिर्की आए ल्याङ्डी बन्छ ।’

संविधानको धारा उल्लेख नगरी राष्ट्रपतिले देउवालाई शपथ गराइन् । त्यसैले देउवा नियुक्तिबारे जारी विज्ञप्तिमा नियोजितरूपमा संविधानको धारा नभई सर्वोच्च अदालतको फैसला उल्लेख गरियो । यो आशयले भण्डारी देउवालाई संवैधानिक प्रधानमन्त्री स्वीकार्न तयार छैनन् भन्ने बुझिन्छ । उनको बुझाइ आफूले गरेका सबै निर्णय संवैधानिक नै हुन् भन्ने मूढे बल हो र अदालतले जे–जति उल्लेख गरे पनि उनका नजरमा ती बकवास हुन् ।यो भोलिका दिनमा राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीलाई संविधानअनुसार व्यवहार गर्दैन भन्ने पूर्व र प्रस्ट सङ्केत हो । आफ्नो पदीय जिम्मेवारी संविधानको संरक्षकको रूपमा मात्रै हो भन्नेमा भण्डारी एकरत्ती सहमत छैनन् । यही बोलिरहेका छन् उनका भाव र भाषाले । फैसलामा अदालतले राष्ट्रपतिको मर्यादा र संवैधानिक अधिकार सम्झाउँदै ‘संविधानभन्दा माथि कोही र केही हुँदैन’ भने पनि उनलाई यो स्वीकार्य छैन ।राष्ट्रपतिका कामकारबाही संविधान र कानुनसम्मत नै हुन अनिवार्य छ, संविधानले स्वेच्छाचारिता र निरंकुशतालाई कुनै ठाउँ दिँदैन, ग्रहण गर्नुपर्ने नगर्ने, नगर्नुपर्ने गर्ने स्वविवेकीय अधिकार होइन । अनि अधिकार आत्मनिष्ठ र सन्तुष्टिका लागि प्रयोग गर्न सकिन्न भनेर सर्वोच्चले भन्नुको अर्थ छैन उनका लागि ।

यी उनको हिजो र आजको व्यवहारले देखाएका तथ्य हुन् । राष्ट्रपतिका हरेक कार्य व्यक्तिलक्षित स्वार्थको संरक्षक बनेर कानुनी शासनको प्रवद्र्धन र सार्वभौम जनताबाट प्राप्त विश्वासको पालना र संरक्षणमा केन्द्रित हुन सकेनन् । उनका हरेक गतिविधि नैतिकताको जगमा उभिन सक्नुपर्दथ्यो तर दुःखसाथ भन्नुपर्छ उभिएनन् । सोही कुराको प्रतिफल उनी संघीय गणतान्त्रिक नेपालको पहिलो महिला राष्ट्रपतिको गौरवमय इतिहास कायम गर्न सफल हुँदाहुँदै पनि राष्ट्रहितभन्दा गुटहित र व्यक्तिहितमा केन्द्रित बन्दा उनी बिर्सनलायक राष्ट्रपति भइसकिन् । संविधानको संरक्षक रहेको राष्ट्रपति पदलाई संविधानको खलपात्र बनाइन् । यसरी उनका हरेक कदम सम्मानित संस्थाको गरिमालायक पक्कै होइनन् । उनको हिजो र आजको व्यवहारले भोलिका दिनमा समेत उनमा राष्ट्र र संविधानको हितभन्दा व्यक्तिगत स्वार्थकेन्द्रित हित हाबी हुन्छ र बारम्बार राष्ट्रपति पदको गरिमा दुरुपयोग हुन्छ भन्ने प्रस्ट हुन्छ ।

ढुङ्गेधारा, सुनधारा, सुकेधारा, कालधारा, धोबीधारा, नारायणधारा, कपुरधारा, बाइस धारा, चौबीस धारा लौन कुन धाराअन्तर्गत अहिलेका प्रधानमन्त्री नियुक्त भएका हुन् ? त्यही धाराको पानी खान सल्लाह दिनुपर्ला नेपाली जनतालाई । बधाई हो बधाई शेरबहादुर दाइ ! ज्योतिषीले भनेको आखिर पुगिछाड्यो ।

प्रतिक्रिया दिनुहोस्